महोत्तरी : भकभक उम्लिरहेको दूधले नुहाएर मुसहर समुदायले भुइयाँ महराजको पूजा गरेका छन्। एकीकृत नमुना मुसहर बस्ती बर्दिबास महोत्तरीका स्थानीय घरघरबाट चन्दा संकलन गरेर उनीहरुले आफ्नो कूलदेवता भुइयाँ महराजको पूजा गरेका हुन्। कुल देवता दिना–भद्रीलाई स्मरण गर्दै उमलिरहेको तातो दूधले स्नान गरेर भुइयाँ महराजको पूजा गरिन्छ।
तातो दूधले नुहाउनुलाई जनबोलीमा भुइयाँ महराजलाई अपटनी दिएको भनिन्छ। भुइयाँ महराजको दैवी शक्तिले गर्दा तातो दूधले नहाएर पुजा गर्न सकिएको महोत्तरीको बसविट्टीका ५८ वर्षीय बुधन सादाले बताए।
‘तीस वर्षदेखि म तातो दूधले नुहाएर भुइयाँ महराजको पूजा गराउँदै गाउँ-गाउँ घुम्दै आएको छु,’उनले भने,‘माटोको भाँडामा भकभक तातो दूध उम्लिरहेको हुन्छ। हामी भक्त(पूजा गराउने व्यक्ति) हातको आञ्जुलीले नुहाउँछौं। बाबाको शक्तिले गर्दा तातो दूधले पोल्दैन। यदि शक्ति नहुँदो हो भने तातो दूधले छाला खुइलिहाल्छ नि। ’
मुसहरले माघ भरिमा आफ्नो कूल देवता भुइयाँ महराजको पूजा गर्ने गर्दछन्। सबैले मिलेर पूजको तयारी गर्छन्। महिना दिन लगाएर मुसहरहरु भव्य रुपमा कूलदेवताको पूजा गर्छन्। बर्दिबासस्थित एकीकृत नमूना मुसहर बस्तीबाट भुइयाँ महराजको पूजा गर्न प्रत्येक घरबाट पाँच सय नगद, चामल, दाउरा संकलन गरिएको थियो। पूजाको तयारी गर्न मुसहर समुदाय महिना दिन अघि देखि तयारीमा जुटेका थिए।
‘आइतबार साँझदेखि झाँकी प्रदर्शन गर्दै भजनकृतनसहित रातभर जाग्राम बसिएको थियो। सोमबार गाउँ नजिकैको अखारा(खाली खेत)मा तिर(चुलो) खनेर दूध तताएर स्नान गरेर भुइयाँ पुजा गरियो,’ एककिकृत नमुना मुहसर बस्तीका अध्यक्ष विल्टु सादाले भने।
पूजा समाग्री चामलको खिर, खिचडी, दूध, मिठाई, मिठ्ठा.(सखर)अगरबती, पान, सुपाडी, ल्वाङ्गलगायत अन्य सामग्रीको प्रयोग गरिन्छ। तातो दूधबाट भक्ता(पूजा बसेका)ले नुहाएपछि साँझ गाउँलेहरु सँगै बसेर भोज खाने चलन रहेको बस्तीका अगुवा मञ्जय सादाले बताए।‘वर्षमा आउने एक दिनको भुइयाँ पूजाले हामी सबैमा खुशीको संचार गराउँछ। सबै मिलेर पूजामा सहभागी हुन्छौं। यसले समाजमा भाइचारा, समाजिक सद्भाव बढाउँछ,’उनले भने।
भुइँयाले मैथिलीमा तललाई जनाउँछ। तलको अर्थ धर्ती हो। जमिन, माटो वा पृथ्वीलाई भुइँया भन्ने गरिन्छ। भुइँया पूजा प्रकृतिको पूजाको रुपमा पनि लिन सकिन्छ।
जनबोली अनुसार, शक्तिको अवतार लिएर भुइँया महाराज जन्मेका थिए। शक्तिशाली महाराजले मारिदिन्छ भन्ने डरले उनलाई जन्मेको ६ दिनमा नै दैत्य दानवले चोरी नवनिभ भन्ने ठाउँमा बाँसको नजिक अस्सी फुटको खाल्डोमा खनेर गाडिदिएको जनविश्वास छ।
१२ वर्षसम्म उक्त खाल्डोमा उनी जीवितै हुन्छन्। एक दिन अचानक नवनिभ नजिक रहेको बाँसको छेउमा दूध चढाउनु भन्ने आकासवाणी सुनिन्छ। त्यो कुरा सुन्नेबित्तिकै सबैजनाले आआफ्नो घरबाट दूध ल्याएर त्यहाँ चढाउँछन्। त्यो लगत्तै भुइँया महराजले सपना देख्छ कि आफ्नो जाँघमा ताल ठोक्नु (हातले ठोक्नु) आफैँ जमिन खुल्छ। त्यसैअनुरूप गरी भुइँया महाराज अस्सी फुट गहिरो खाल्डोबाट निस्किएको स्थानीय सुनाउँछन्।
उनी बाहिर आउनेबित्तिकै आमासित भेट्छन् तर आमाले चिन्दिनन्। त्यसपछि उनी आमालाई सबै घटना सुनाउँछन्। छोरा चोरिएको शोकबाट व्याकुल भएकी आमाको मनमा खुसी पलाउँछ। उनले छोरालाई आफूसित भएको खाना पकाएर खुवाउँछिन्। छोरा फर्किएको खुसीमा पूजा गर्नका लागि कमलको फूल ल्याउन भन्छिन्। भुइँया महराजले एउटा पोखरीमा धेरै कमलको फूल भेट्छन्। उक्त पोखरीको चारैतिर चौकीदारको बास हुन्छ। जुन कुरा मगही भाषामा लोकगाथामा उल्लेख छ।
‘कैइसे लैइबहु हो भुइँया बाबा,
कैइसे लैइबहु हो कमलके फुल
उतरे द्वारे हो बैठल दैत दानव हो,
दक्षिणे द्वारे हो बैठल बाघबघिनिया हो,
पुर्वे द्वारे हो बैठल नागनागिन हो,
पश्चिमे द्वारे हो बैठल काल भैरव हो।”
अर्थात् उत्तर दिशाको द्वारमा दैत्य दानव। दक्षिणमा बाघबघिनी। पूर्व दिशामा नागनागिन। पश्चिममा कालभैरव। कसरी ल्याउने कमलको फूल ? तर भुइँया महराज नडराइकन यी सबैबाट यस पोखरीलाई मुक्त गर्ने र सबैका लागि खुला गर्ने मनशायले दैत दानवसित लडाइँ गर्छन् र मारिदिन्छन्। त्यसपछि बाघबघिनीसित लडाइँ गरी त्यसलाई आफ्नो वाहन बनाउँछ। बाघबघिनमा सवार भइ नागनागिनसित लडाइँ गरी नागनागिनलाई नाथ दिन्छ र अन्त्यमा कालभैरवसित लडाइँ गरी हराइदिन्छ र त्यहाँबाट कमलको फूल लिएर जान्छ।
भाकल गरेको कुरा पूरा हुनेबित्तिकै भुइँया महराजलाई अपटौनी (तातो दूधले नुहाउने) पूजा गर्ने परम्पर मुसहरहरुको छ। यो पर्व प्रत्येक वर्षको माघ महिनाभरि मनाइन्छ।