तपाईको थर पनि भन्नुस न !

संजिव कार्की ३० कार्तिक २०७६, शनिबार १२:३६

जातीय विभेद दलितको या कुनै विशेष जात जातिको मात्रै समस्या होइन यो देशको समस्या हो l जातीय विभेदलाई सामान्य सामाजिक कुरीतिमै सिमित राखिएर बुझियो भने यो गलत बुझाइ हुनजान्छ l मूर्खतापूर्ण सोचाई हुनेछ l हप्तै पिछे छुवाछुतका घटना पत्रपत्रिका र बिभिन्न संचार माध्यमबाट बाहिरिएको हुन्छ तर यो देसको सरकार , राजनीतिक पार्टीहरु किन आँखा चिम्म गरिरहन्छन ? सुनेर पनि नसुने झैँ देखेर पनि नदेखे झैँ किन गर्छ राज्य ? हरेक दिन र हप्तामा कहालीलाग्दो ज्याददतिका घटना सुनिन्छ , देखिन्छ तर राज्यको ध्यान , देसमा बिध्यमान पार्टीहरुको ध्यान त्यसले खिच्न सक्दैन l मान्छे माथि मान्छेले जात विशेसको कुरा लिएर गर्ने जघन्य अपराधको साक्षी लाचार भएर राज्य प्रणाली बसेको छ l उचित सामधान र निस्कर्ष निस्कदैन l यदि दलित कुलमा जन्मनु अपराध नै हो भने देशको संबिधान , नियम र कानुनबाट समानताको हक निलम्बन गरेर राज्यले दोहोरो मापदण्ड खडा गरोस र विभेदलाई कानुनीरुपमा नै अंगिकार गरोस , स्वीकार गरोस l यदि हैन भने कानुन कागजको खोस्टो मात्रै हैन त्यसको ब्यबहारिक कार्यन्वयनको लागि निरन्तर पहल र लगानी गरोस ताकि देसका कुनैपनि नागरिक असमान छैनन् र देशमा जातिय छुवाछुत हुदैन गरिन्न l

देशमा विद्यामान असमान जातीय अवस्था र मान्छेहरुका मनमा गहिरोसँग जरा गाडेर बसेको अन्ध विश्वास र गलत धारणा बदल्न कानुनको डण्डा मात्रै कामयावी छैन र नहुन सक्छ । यसका  लागि सामाजिक परामर्श पनि उपयोगी साधन हो ,जसको प्रयोग कानुन सँगसँगै गर्नु श्रेयस्कर हुनसक्छ । बलजफ्ती नै सबैकुरा र साध्य होइन कन्भिन्स गरेर सामाजिक जीवनलाई मानवीय लयमा लैजानुमा दीगोपन र सच्चाई छ l कानुनी जोर जबर्जस्तीले मात्रै सबै कुरा हुन सक्तैन ।  कानुन मान्न अभिप्रेरित गराउनु र कानुनको पालना अनुष्ठान गरे सरह धर्म हो भनेर सत्धर्मको मनोविज्ञान पनि भरिदिनु बेस हुन्छ l  जघन्य अपराध र दोहोरिरहने हर्कतलाई ठिक लगाउने चै फेरी पनि कानुन नै भएको कुरा बिर्सनु हुन्न l आज पनि इनारको पानी छोएको निहुँमा मान्छे मारिन्छन, धारामा पानी थाप्दा मान्छे कुटिन पुग्छन l प्रेम गरेको र बिहे गरेको कारण मान्छे मारिनु परेको दुखद कहानीहरु छन l समाजमा छुवाछुतको नाममा थुप्रै थुप्रै सामाजिक अपराध र अन्याय तथाकथित उच्च जात भनिनेहरूबाट तथाकथित दलित र दलितको पनि दलित बनेर मान्छेहरु ,गाउँ घर समाजमा पिडित छन l अस्ति मात्रै सिराहामा भोजमा बोलाएर पनि साँझ नै नपरी आँगनमा बसेर खाएको भनेर अपमानित गर्दै कुटपिट गरिएको घटना भएको छ l जातीय छुवाछुतको नाममा होस् या , बोक्सीको नाममा मान्छे मारिनुको अर्थ सरकारको कमजोरी हो l सरकार जातीय विभेद उन्मुलन गर्न उदासिन र कठोर नबन्नुको परिणति हो l स्वतन्त्रताको नाममा जो जता पनि गए हुन्छ , जसलाई जसरी जबर्जस्ती गरे हुन्छ जसको घरमा पनि अनाधिकृत रुपमा छिरे हुन्छ भन्ने जुन अराजक स्वतन्त्रताको अभ्यास भएको छ यसले अनावश्यक उत्तेजना र प्रतिशोधको खेती गरेको तर्फ पनि अधिकारवादीहरु सचेत हुनुपर्छ l जातीय विभेदलाई  संगीन अपराध र फौजदारी कानुनको घेराबन्दीमा कस्नु आजको आवश्यकता हो l एक अर्कालाई जातको विशेष बनिबनाउ लेन्सबाट हेर्न र ब्यबहार गर्न बन्देज गर्नुपर्छ l

सामाजिक र मनोवैज्ञानिक रुपमा एक हुन नदिन नेपाललाई जात जातिको मुद्दा उठाएर पनि भाँड भैलो मच्याउन केहि अधिकारकर्मी र जातीय संगठनहरु उद्धत छन् l भावनात्मक र मनोवैज्ञानिक रुपमा अलग र विभाजन गर्न जात जातिलाई उक्साउने र जातीय संघ-संगठन खोल्न प्रेरित गर्ने क्रम पनि प्रत्यक्ष अप्रत्यक्ष तवरले भएको देखिन्छ l पुराना , परम्परा र मान्यता भन्दै पुरानै संस्कार र विचारलाई आज पनि समाजका प्रगतिशील चिन्तन , उदार प्रजातान्त्रिक लगाव र झुकाव भएका मान्छे समेतले बोकेर हिडेको अनि जिम्बेवारीबाट भागेको उदाहरण यत्र तत्र सर्वत्र देखिनु बिडम्बना नै हो l विभेद रहित नेपाल केवल नारा र आदर्शमा होइन ब्यबहार र जीवन शैलीमा देखिनु पर्छ l सामाजिक अभ्यासमा प्रकट हुनुपर्छ l प्राय सार्वजनिक सभा समारोह तालिम गोष्ठीहरुमा सुन्न पाइन्छ l

जातीयता स्वीकार गरिएको अभ्यास हो निश्चित जाति विशेष लागि मात्र छुटै तालिम , छुट्टै होस्टेल र छुट्टै गोष्ठी इत्यादि l सामाजिक अन्तरघुलन मार्फत सहभागिता जनक अभ्यास गराइनुपर्छ l

 

तपाई के थरि ? नाम भन्नु भयो तर जात त भन्नु भएन तपाईको थर पनि भन्नुस न भनेर समाजमा जुन प्रश्न गरिन्छ जिज्ञासा राखिन्छ देख्दा सुन्दा सामान्य लागे पनि त्यो भित्र अन्तर्निहित अर्थले हाम्रो सामाजिक चेतनाको स्तर झल्काउछ l प्रश्न सोध्नेको दिमागमा त्यहि चिज रहेको हुन्छ यो कुन जातको मान्छे हो कथित अछुत या छूत ? समाजमा ब्याप्त जातीयभाव र छुवाछूतको कारण मान्छे मान्छेको गुणको आधारमा मान्छेको श्रेणी विभाजन गर्दैन ,जातको आधारमा गर्न पुग्छ l मान्छे मानवीय धर्म र स्वभावको कारण असल हुन्छ जातले असल र खराबको कोटी निर्धारण गर्दैन l अछुत मान्छेको मानसिकता हो जात धर्म , समुदाय र सम्प्रदाय होइन l  प्राय कथित अछुत र दलित भनिनेहरूबाट नै थर नलेखेको पाइन्छ  तसर्थ सोध्नेलाई सामान्य लाग्छ तर सोधिनेलाई नमिठोसंग दुखाउछ l हिनताबोध गराउछ l किन सोधिन्छन चित्त दुख्ने प्रश्नहरु जान्ने, बुझ्ने भनिनेहरूबाटै ? कारण प्रस्ट छ दिमागमा गहिरो जरा गाडेर बसेको सामाजिक छूत अछूतको भावना l राजा महेन्द्रले २०२० सालमा मुलुकी एनमा नै छुवाछुत निषेध गरेको भए पनि मुलुकी ऐनमा जातीय छुवाछूत निर्मुलको घोषणा कागजातमा गरियो तर ब्यबहारिक प्रयोगमा त्यो बेला देखि यो बेला सम्म काविल बन्न सकेन  झन् जातीय नारा जातीय राज्यको अबधारणा र जातीय संघ , संगठन चलाउने होडबाजीले छुवाछूत अरु ब्युतिने खतरा देखिन्छ l कानुनको डण्डा भन्दा मान्छेको भित्री मनको तहमा बसेको त्यो भाव परिवर्तन गर्न व्यापक र बृहत सामाजिक जागरण र रुपान्तरण जरुरि छ l सामाजिक र मनोवैज्ञानिक परामर्श र उपचार पनि संगै लैजानुपर्छ l समाजको मनोविज्ञानमा आधारित भएर छुवाछुत अन्त्यको अभियान शसक्त रुपमा चलाउनु पर्छ l ८० वर्षका वृद्द वृद्दाको मानसिकता र नव पुस्ताको मानसिकता चेतना अनि नविन कुरालाई स्वीकार्ने क्षमता र विकास एकै प्रकारको एकै स्वभावको हुन्न तसर्थ व्यापक मनोसामाजिक परामर्श सहितको उन्नत जागृत चेतना –को प्रसारमा ध्यान दिनु प्रायोगिक र उपलब्धिमुलक हुन्छ l दलित भनिएकाहरुको क्षमता बिकासमा जोड दिनुपर्छ, बिभिन्न अवसर र सम्भावनामा दलितलाई सामूहिक समुदाय बिच तालिम गोष्ठी र कार्यशालामा सहभागी गराइनु पर्छ l बिडम्बना जातीय विभेद मुक्ति भनेर जातीय संगठन खोल्न र जातीय गतिबिधि गर्न प्रोत्साहित गरिन्छ, छुट्टै जात विशेषको लागि मात्र कार्यक्रम आयोजना गरिन्छ  जसले गर्दा जातीय भावना र छुवाछुत जस्तो कुप्रथाले प्रकारान्तरले स्थान पाएको समाजशास्त्री र मानवशास्त्रीहरुको बुझाई छ l धर्मसत्ताले निर्देशित संस्कार अब आधुनिक , बैज्ञानिक र सामयिक हुनु जरुरि छ , अत्यावश्यक छ अन्यथा जातीय कलंकको टिका हर मान्छेको निधारमा पोतिने छ l प्रकृति पुजक संस्कार र संस्कृति भएका हामी मान्छे प्रकृतिका सबै सन्तति प्रति समान ब्यबहार किन गर्दैनौ ? सिप , साधना , कला श्रमका धनी केही मान्छेहरुलाई जातको कारण देखाएर घर भित्र पस्न किन दिदैनौ ? छोएको पानी किन चलाउदैनौ ? पशु , पन्छी , पृथ्वी, चन्द्र सुर्य , जल थल सबै प्रति कृतज्ञता गर्ने संस्कार एकातिर छ भने अर्को तिर आफू जस्तै मानवलाई घर भित्र पस्न नदिने कुप्रथा र घीन लाग्दो प्रचलन छ अबको पुस्ताले यो अमानवीय लज्जालाई सधै सधैका लागि मेटन आफ्नो ठाउँबाट भगिरथ प्रयत्न गर्न ढिला गर्नु हुन्न l मन्दिरको घण्टा बनाउने , त्रिशुल बाउने मुर्ति बनाउनेको सिप र त्यसका सर्जकको सम्मानगर्ने वातावरण बनाउनु पर्छ l क्षेत्री ब्राम्हण समाजका पठित व्यक्ति त्यस्तै अरु जाति र जनजातिका पठित र बुझेका व्यक्ति स्वयं दलित जाति भित्रका पनि एक अर्काको पानी नचलाउने समुदायका बुझेका बर्गले आ-आफ्नो समुदायमा भएको छुवाछुतको नैतिक र ब्यबहारिक जिम्वेवारी लिनुपर्छ l आफ्नो घर परिवारका सदस्यले कतै गरेको विभेदको अपजस लिने र कानुनको दायरामा जाने हिम्मत जरुरि छ l आफ्ना बा आमालाई सम्झाउन नसकेको दोषको भारी बोक्ने तत्परता आधुनिक पढेलेखेका छोराछोरीले लिनुपर्छ l यसो भयो भने विभेद कम हुन् बेर लाग्दैन l आफ्नो समाजमा भएको जातीय विभेदको घटनाको दोष त्यो समाजबाट देसको उच्च शासन प्रशासनमा पुग्नेले लिने सामाजिक उत्तर दायित्वको भावना भयो भने जातीय विभेद अन्त्य हुन सहज हुन्छ l गाउमा हुने शिक्षक राज्यको जनस्तरमा छिटो पुग्ने प्रतिनिधि पात्र हो , सामाजिक विभेद , जातीय छुवाछुतको घटना समाजमा घट्न निदिने विशेष दुत शिक्षकलाई बनाउनु पर्छ र नैतिक , सामाजिक जिम्वेवारी उसलाई दिएर दण्ड र पुरस्कारको भागीदार बनाउनुपर्छ l सचेतता र जागरण अनि बिभेद्मुक्त समाजको लागि शिक्षकले जति जागरण अरुले ल्याउन सक्तैन l घर घरमा कै चोटी र धेरै भन्दा धेरै संदेश दिन सक्ने प्रभावकारी माध्यम र बाटो हो शिक्षक l समस्या दलितको मात्रै होइन सबैको हो देशको हो आम मान्छेको हो l सरकारको हो l देशको कार्यकारी अधिकार लिएर बस्ने र उच्च ओहोदामा बस्नेको हो l

जसरी एउटा ब्राम्हणको छोरोले आफुलाई चिनाउदा म बाहुन हुँ भनेर गर्वका साथ भन्न सक्छ त्यस्तै गरि एक दमाईको छोरीले म दमाई हुँ भन्ने गर्विलो बातावरण बन्नु पर्छ जसको लागि राज्य धर्म सत्ताबाट निर्देशित बन्न छोडेर देशको कानुन,एन ,नियम र  संबिधानबाट निर्देशित हुनु अपरिहार्य हुन्छ l

जातीय संघ संगठन , जातीय मंच , फोरम किन बनाइन्छ्न ? हालसालै दलित होस्टेल खोलेको सुन्नमा आएको छ के यस्ता जातीय संघ संगठन र होस्टेलले जातीय विभेद घटाउन मद्दत गर्छ कि अरु फराकिलो बनाउछ जातीय प्रथा ?  छुत अछुतको भावना ? कसको बुद्दिले दलित होस्टेल खोल्ने प्रेरणा जाग्यो ? जातीय संघ संगठन खोल्नु अझ जातीय होस्टेल नै खोल्नु जातीय भेद कम गर्न हैन कायमै राख्न प्रभावी हुन्छन , यसले त खासै जातीय विभेद नजान्ने सहरी इलाकाका कतिपय नानी बाबुहरूमा अज्ञात रहेको कुरा बताएर जात प्रति अनावश्यक चासो र चिन्ता बढाउन पुग्छ l फलानो साथी त यस्तो जातको छुन नहुने जातको पानी नै नचल्ने पो रहेछ हगी ? भन्ने मृत भावना पुनरावृति गराउछ l तसर्थ अधिकार प्राप्तिको नाममा खोलिने जातीय संघ संगठनप्रति बन्देज लगाइनुपर्छ भन्ने मेरो बुझाई र मान्यता छ l जातीयता बिखन्डन , बिभाजन र वैमनस्यताको आधार भएको छ l बनाइएको छ जुन नितान्त गलत र भ्रम पूर्ण छ l समस्या जातमा छ बर्गमा छ तर जातीयता नै सबभन्दा ठुलो समस्या भनेर बुझियो भने सामाजिक अर्थ शास्त्रको पाटो छुट्न पुग्छ l सामजशास्त्रीय आँखामा सामाजिक अर्थशास्त्रको रुप र चिन्तन पनि घोलेर हेर्न जरुरि छ l बर्गीय विभेद कम हुदै गयो भने जातीय भेद निश्चयनै कम हुन्छ l जातीय भेदको बिरुद्द भनेर जातीय संघ , संगठन र मोर्चा बनाइयो भने त्यो भेद कम गर्न नभई अरु गहिरो खाडल निर्माण गर्न र अरु कयौ बर्ष जातीय भावना कायम राख्न सहायक सिद्द हुन्छ l सबै जात जाती बीच सहयात्रा , सहभोज , सहमिलन र सहकार्य गर्ने वातावरण बनाउनु पर्छ l अन्तरजातीय विबहालाई पुरस्कृत गर्नुपर्छ तर जबर्जस्ती अन्तरजातीय विबहामा बन्देज लगाइनुपर्छ जबर्जस्ती सर्वत्र बर्जित र निषेधित विषय हो जबर्जस्तीले प्रतिसोध र मनमा तुष बसाउछ l जसरी संस्कृत पढाउन जातीय वर्चस्व कायम गरी राष्ट्रले ठुलो लगानी गरेर संस्कृत बिधयापिठ संचालन गरेर जातीय असमानताको सामराज्य खडा गर्यो त्यसैगरी जातीय होस्टेल खोलेर दलितको लागि मात्र ब्यबस्था घोर आपत्तिजनक र जातीय भेदभाव कायम राख्ने प्रपन्च हो l जातीय नाम भएका संघ संगठन खोल्नु र अभ्यास गरिनु स्वतन्त्राको हक प्रयोग गरेर जातीय द्वन्द्वको तयारी गर्नु हो जुन हाम्रो देस जस्तो जातीय बिबिधता भएको देशको लागि अत्यन्तै खतरनाक र घातक अभ्यास हो l जातीय दुर्भावना कायम राख्ने तुष र अहमको आवरण हो l जसरी एउटा ब्राम्हणको छोरोले आफुलाई चिनाउदा म बाहुन हुँ भनेर गर्वका साथ भन्न सक्छ त्यस्तै गरि एक दमाईको छोरीले म दमाई हुँ भन्ने गर्विलो बातावरण बन्नु पर्छ जसको लागि राज्य धर्म सत्ताबाट निर्देशित बन्न छोडेर देशको कानुन,एन ,नियम र  संबिधानबाट निर्देशित हुनु अपरिहार्य हुन्छ l थर जे सुकै होस् गर्व गर्न सकियोस l कुनै थर जात धर्म सँग हिनताबोध होइन गर्वबोध रहोस l समस्या थरमा छैन समस्या हाम्रो मानसिकतामा छ तसर्थ यो जसरी पनि फेर्नु जरुरि छ , नफेरी धरै छैन l

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank