जातीयकै आधारमा दलितहरु कहिलेसम्म मारिने ?

विद्या मण्डल ७ असार २०७७, आईतवार १५:१६

दक्षिण एसियाको भारतिय–उप महाद्धीपमा आजभन्दा करिब ३५ सय वर्ष अघिदेखि वर्णव्यवस्थाको शुरुवात भएको इतिहास पाइन्छ । हिन्दुहरुको मुल ग्रन्थ क्रृग्वेदको दशौं मण्डलमा ब्राहमण, क्षेत्री, वैश्य र शुद्रको वर्णन गरिएको छ, जसमा विराट पुरुष व्रह्माको मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्री, तिघ्राबाट वैश्य र पैतलाबाट शुद्रको जन्म भएको भनेका छन, त्यहिबाट सामाजिक विभेदको शुरुवात भएको पाइन्छ । एक मनु नामका व्यक्तिले मनुस्मृति नामक कठौर ग्रन्थ लेखेर यो चार वर्णलाई स्पष्टताका साथ जन्मका आधारमा व्यक्तिलाई विभाजन गरेको छ । मनुस्मृति ग्रन्थ बमोजिम ब्राह्मणलाई पढने र पढाउने, क्षेत्रीलाई रक्षा गर्ने, वैश्यलाई व्यापार र शुद्रलाई सेवा गर्ने कार्यको निश्चित गरि शैक्षिक, आर्थिक र सामाजिक लगायत सम्पुर्ण क्षेत्रमा कडा दण्ड र जरिवनाको सजाय तोकि शुद्रमाथि सामाजिक विभेदको लिपिबद्ध तरिकाबाट शोषणको शुरुवात भयो । शुद्रमा पनि पानी चल्ने र पानी नचल्ने जातिको वर्गिकरण गरेर हालको दलित समुदायलाई हाम्रो देश नेपालमा मुलुकी ऐनमै छोइछिटोको प्रावधान राखि संवैधानिक तरिकाबाट छुवाछुत र जातिय विभेदको घृणित क्रियाकलाप कानुनत नै लादियो ।
नेपालमा सामाजिक, आर्थिक, राजनैतिक लगायत परिर्वतनका नाममा विभिन्न आन्दोलनहरुबाट अनैको सत्ताहरुको परिर्वतन भएता पनि व्यवस्था परिर्वतन अहिलै सम्म पनि दलितको हकमा भएको छैन भन्ने कुराको प्रमाण वर्तमान कोरोना कहर लकडाउनको अवधिमा समेत दलित समुदाय माथि अनैकौ प्रकारको अन्याय, अत्याचार, हिंसा, हत्या र बलात्कार जस्ता अमानवीय घटनाहरुबाट प्रमाणित भएको छ ।

घटना नं.१
जाजरकोट भेरी नगरपालिका वडा नं.४ का नवराज विक र पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नं.८ सोती गाउँकी सुष्मा मल्लबीच विगत तीन वर्षदेखि अन्तरजातिय प्रेम सम्बन्ध कायम रहेको विवरण आएको छ । नवराज विकको घरमा बेला बखत सुष्मा मल्ल आएर बस्ने र जाने गरेकी थिइन र नवराज पनि युवतीको घरमा जानेआउने गरेका थिए, जब युवतीको आमाले नवराज विकको जात थाहा पाइन त्यसपछि मेरो घरमा किन आएको र मेरो छोरीलाई मन पराउँने त डुम भनि मिति २०७७ साल बैशाख १७ गते वडा अध्यक्ष डम्बरबहादुर मल्ल लगायतका स्थानिय र परिवारका सदस्यहरु मिलेर कुटपिट गरि ईलाका प्रहरी कार्यालय चौरजहारीको थुनुवामा राख्न लगाई त्यसको भोलिपल्ट अब आइन्दा तिमीहरु भेट्न र प्रेम सम्बन्ध कायम गर्न पाउँदैनौ भनेर मिलापत्र गराएको थियो । तत्तपश्चात पनि नवराज र सुष्माबीच मोबाइल फोनमार्फत कुराकानी र प्रेम सम्बन्धलाई निरन्तरता दिदै नै आईरहेको थियो । गत जेठ ९ गते सुष्माले आफनो विवाह अरुसँग परिवारले गरिदिन लागेकोले १०–१२ जना साथीहरुलाई लिएर मलाई लिन आउँ भनेर नवराजलाई फोन गरेपछि नवराजले आफना मिल्ने १८ जना साथीहरुलाई लिएर दुलही लिन सुष्माकै घरमा पुग्दा नवराजले सुष्मासँग भेट्न नपाउँदै सुष्माकी आमाले देखेपछि तँ डुम फेरी आईस आज तलाई नमारी नहुने भो भनि गाँउलेहरुलाई बोलाईन् । वडा अध्यक्ष सहित गाँउलेहरु नवराज र निजका साथीहरुलाई घेराहाली कुटपिट गर्दागदै नवराज विक, गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको मृत्यु भएपछि निज मृतकहरुलाई भेरी नदीमा फालिएको, घटना सामाजिक सञ्जाल र संचारमाध्यममा सार्वजनिक भएपछि आम दलितहरुले दोषीहरुलाई हदैसम्मको कारवाही र पीडित परिवारलाई न्याय सहितको क्षर्तिपुर्तिको लागि जाजरकोट, काठमाडौं र तराई मधेश लगायत देशैभरिबाट शसक्त आन्दोलन र दबाब सिर्जना गरेपछि प्रहरीद्धारा बल्ल किटानी जाहेरी लियो र अभियुक्तहरुलाई थुनुवामा लिई कानुनि कारवार्हीको लागि अहिले सम्मानित जिल्ला अदालत रुकुममा जातिय विभेदकै कारण ज्यान लिएको सहित कर्तव्य ज्यान मुद्दा दर्ता गरि आजीवन कारावासको दाबी गरिएको छ भने अर्को तिर पोस्टमार्टममा नवराज लगायतका मृतकहरुको पेटमा पानी रहेको देखाएर मुद्दालाई कमजोर बनाएउने षड्यन्त्र भएको देखिन्छ ।

दलितका लागि लडिदिने अरु कोही छैन, यसर्थ तराई मधेश, पहाड र हिमालको सम्पुर्ण दलित समुदायहरु एक ढिक्का भएर दलितमाथि भईरहेको अन्याय, अत्याचार, शोषण, दमन र हत्याहिंसा विरुद्ध सशक्त रुपमा लड्नु आजको आवश्यकता हो।

 

घटना नं. २ 
जिल्ला रुपन्देही देबदह नगरपालिका वडा नं. ११ बस्ने वर्ष १३ की अंगिरा पासीलाई छिमेकी गाँउका वर्ष २६ का कथित माथिल्लो जातका केटा विरेन्द्र भरले मिति २०७७ साल जेठ ९ गते राति ललाई फकाई जबरजस्ती करणी गरिरहेकै अवस्थामा गाँउलेले भेटाएपछि त्यसको भोलिपल्ट अर्थात गत जेठ १० गते स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष अमरबहादुर चौधरी सहित गाँउसमाज बसेर बलात्कृत बालिकालाई विरेन्द्र भरको श्रीमतिको रुपमा जिम्मा लगाएपछि विरेन्द्र भरले अंगिरालाई लिएर आफनो घर पुगे तर विरेन्द्रकी आमा अकाली देवी सहित परिवारका सदस्यहरुले तल्लो जातकी केटी भन्दै गालीगलौज, कुटपिट र विरेन्द्रद्धारा यौन शोषण गरि हत्या गरेर शंकास्पद रुपमा झुण्डयाएको अवस्थामा भेटिएको घटना संचारमाध्यममा सार्वजनिक भएपछि रुपन्देही लगायत तराई मधेशका जिल्लाहरुमा अंगिरा पासीको न्यायको लागि तराई मधेशमा मधेशी दलितहरुद्धारा गरिरहेको रुकुम जातिय नरसंघार न्याय आन्दोलनमै अंगिरा पासीको मुद्दा शसक्त रुपले उठाएपछि बल्ल अंगिराकी आमा शान्ति देवी पासीको किटानी जाहेरी प्रहरीले लियो र प्रहरीले अभियुक्तहरुलाई हिरासतमा लिई मुद्दालाई अगाडी बढाएको छ ।
घटना नं.३
धनुषा जिल्ला सबैला नगरपालिका वडा नंं. १२ बस्ने वर्ष २४ का शम्भु सदा मुसहर टयाक्टर चालक थिए । शम्भुले चलाउने टयाक्टरको दुर्घटनाबाट एकजना महिलाको मृत्यु भयो । दुर्घटना पछि शम्भु सदालाई धनुषाधामको प्रहरी चौकीको हिरासतमा गत जेठ १२ गते राखियो । सदालाई एक रात धनुषाधामकै चौकीमा राखि भोलिपल्ट स्थानिय प्रहरी कार्यालयमै मिलापत्र हुन्छ भनेर सबैला ईलाका प्रहरी कार्यालयमा ल्याइयो । शम्भुको आमा छोरालाई भेट्न जाँदा आफुलाई छिटो थुनुवाबाट छोडाई हाल्नु भन्दै आएको र गत जेठ २७ गते छोराले फोन गरि मलाई छोडाई लग्नु आमा प्रहरीले चरम जातिय विभेद गरि यातना दिईरहेको साथै पैसा मागिरहेका छन् पैसा नदिए संजय साहको समेत योजनामा मलाई मारिदिन्छ भनेको र फोनमा छोराको यो कुरा सुनेपछि आमा प्रहरी चौकि सबैला जान निस्केको बेला टयाक्टर धनी संजय साह आएर भने मैले पैसा बुझाई दिएको छु भोलि शम्भुलाई छोडिदिन्छन् तिमी हल्ला नगर र प्रहरी चौकि जानबाट रोकियो, तर त्यहि राति १२ बजे सवारीधनी साह र प्रहरी आएर तिम्रो छोरालाई जनकपुर लग्नु छ तिमीसँग भेट्न चाहन्छन् भनेर निज र निजकी बुहारीलाई मात्रै मोटरसाइकलमा बसाएर सबैलाको प्रहरी चौकि गेटनिर पुगेपछि तिम्रो छोरा झुण्डिएर आत्महत्या गरिसकेको छ भनेर प्रहरीद्धारा भनियो । यसरी प्रहरी हिरासतमा समेत जातिय विभेद गरि गैर कानुनी हत्या गरेर शंकास्पद झुण्डाइएको अवस्थामा फेला परेको भनि स्थानिय संचारमाध्यममा सार्वजनिक भए पछि धनुषा सहित तराई मधेशको सम्पुर्ण जिल्लामा मधेसी दलितहरुको व्यापक जनसहभागितामा शम्भु सदाको न्यायको लागि आन्दोलन र केहि सिमित गैर दलित मधेसी सामाजिक अभियन्ताहरुको समेत खबरदारी भए पछि घटना भएको ६ दिन पछि मात्रै सरकारी वकिल कार्यालय, धनुषा मार्फत किटानी जाहेरी मुद्दा दर्ता भएको छ तर आजको मिति सम्म पनि अभियुक्तहरुलाई हिरासतमा लिएको छैन ।
यसरी हाम्रो देश नेपालमा जातिय भेदभाव तथा छुवाछुतकै कारण २०४८ सालदेखि यताको मात्रै विवरण हेर्ने हो भने पनि ३९ जना दलितको हत्या भइसकेको छ, जसमा जातीय विभेद कसुर र सजाय ऐन २०६८ आएपछि मात्र पनि १९ जना दलितले जातीय विभेदकै कारण ज्यान गुमाउनु परेको अवस्था छ । आखिर जातीय विभेदकै कारण दलितहरुको हत्या कहिलै सम्म हुने हो ? यस्ता जघन्य घटनाहरु समाजमा घट्न नदिन कानुनको कार्यान्यवनमा कडाई र दलितमाथि भईरहेका हत्याको हत्याराहरुलाई हदैसम्मको कारवार्ही गर्ने प्रमुख जिम्मेवारी सरकारको हो नि तर यहाँ दलित माथि चरम रुपमा भईरहेको शोषण, दमन, हत्या, हिंसा र बलात्कारको घटना सार्वजनिक भए पछि पनि सहज रुपमा सम्बन्धित निकायहरुले जाहेरी दर्ता पनि गर्न मान्दैनन् । जाहेरी दर्ता गराउनका लागि पनि दलित समुदायहरुले ठुलो आन्दोलन नै गर्नु परिरहेको छ । नेपालमा कानुन नै बनाएर जातीय विभेद र छुवाछुत दण्डनीय बनाइएको तथा देशलाई छुवाछुतमुक्त घोषणा गरिएको भएता पनि व्यवहारमा भने जातीय विभेद चरम रुपमा कायमै रहेको यो घटनाहरुले देखाएको छ ।
हाम्रो देशका सभ्य समाजका नागरिक भनाउँदाहरुले नेपालमा हवाई भाडा बढाउँदा, पेट्रोलियम पदार्थको मुल्य बढाउँदा, बजेट आउँदा, कर तिर भन्दा, यहाँ सम्म कि रवि र ज्ञानेन्द्र समाउँदा ठुलठुला आन्दोलन गर्छ तर रुकुम लगायत देशभरि दलितहरुको जातिय विभेदकै कारण बर्बर हत्या हुँदा समेत मौन बस्छन् । दलितका लागि लडिदिने अरु कोहि छैन, यसर्थ तराई मधेश, पहाड र हिमालको सम्पुर्ण दलित समुदायहरु एक ढिक्का भएर दलितमाथि भईरहेको अन्याय, अत्याचार, शोषण, दमन र हत्याहिंसा विरुद्ध सशक्त रुपमा लड्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank