छठ : दलितले बनाएकाे पुजा सामाग्री बिक्छ तर नदी किनारमा विभेद खोप्नुपर्छ !

दलित अनलाईन १३ कार्तिक २०७६, बुधबार २१:३८

 

काठमाडौं– तराई मधेशमा आजदेखि छठपर्व विधिवत रुपमा सुरु भएको छ । पाँच दिनसम्म अत्यन्तै निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज ब्रतालुले माछा र कोदो बार्ने (नखाने) दिन हो । यो दिनलाई माछमरुवा बार्ने दिन पनि भनिन्छ । परिवार एवम् सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको दोश्रो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने पाँचौ दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । तर छठ पर्वको सुरु भएसँगै छठ पर्वका लागि चाहिने पुजाको सामाग्री बनाउने मरिक समुदायहरु भने विभेदको शिकार हुने गरेका छन् । उनीहरुले बनाएका बाँसका सम्पूर्ण सामाग्रीहरु पुजाका लागि प्रयोग भए पनि उनीहरु भने नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशय र घाटमा समेत विभेद झेल्नुपर्छ ।
छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । उनीहरुले बनाएका बाँसका सामाग्रीहरु किनेर लागे पनि आफुहरुमाथि विभेद हुने गरेको सुनसरीका मरिक समुदायहरुले बताएका छन् ।


सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाएर बेच्ने गरेका छन् । छठमा बासका सामग्रीको माग अत्याधिक हुने भएकाले आफूहरु बाँसका सामग्री बनाउनका लागि व्यस्त बनेको मारिक समुदायका वीरेन्द्र मरिकको भनाइ छ । गाउँगाउँबाट आफूहरुले रु १५० देखि २५० सम्ममा बाँस किनेर ल्याएको र छठमा प्रयोग हुने सामग्री बनाउन व्यस्त बनेकोे मरिक समुदायका व्यक्तिहरू बताउँछन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक यस बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको उनीहरूको भनाइ छ । छठ पूजा गर्ने प्रत्येक वर्ष बढेकाले बाँसको सामग्रीको माग पनि बढ्दै गएको छ ।
छठमा बाँसको सामग्री पु¥याउनलाई आफूहरुले महिना दिन अगाडिबाट काम शुरु गरेको भए पनि अहिले छठ पर्व आएका बेला आफूहरू सोही सामग्री बनाउने काममा व्यस्त बनेको गीता मरिकको भनाइ छ ।

आफूहरुको रोजगार र पेशा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भएर लागेको र त्यसबाट आएको आम्दनीबाट छोराछोरीलाई शिक्षादिक्षा दिने गरेको हरिनगर गाउँपालिकी अविकुमारी मरिकले बताइन् ।
सुनसरी इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाई स्थानीयको छठलाई सहज पार्ने प्रयासमा गरेपनि आफुहरुलाई छठ पर्वमा विभेद गर्न गरेको भटाइ मरिकले बताइन् । ‘छठ पुजाका लागि बाँसका सामग्रीहरु बनाउँछौं, तर हामीलाई दलित भनेर विभेद गर्छनन् । ’


भटाइ मरिकजस्तै गुनासो छ अनिता मरिकको पनि । कोनिया, ढाकी, नाङ्लो बनाएर पुजाका लागि बेचिन्छ तर हामी पुजा भएको ठाउँमा जान पाउँदैनौं , अनिताले भनिन् ,‘ पुजाको सामाग्री हामीले बनाउँछौं , तर विभेद हामीले भोग्नुपर्ने ?। ’
लौकही, श्रीपुर, मध्यहर्षाही, भोक्राहा, इनरुवा, डुम्राहा र झुम्कालगायतका क्षेत्रका मरिकसमेत छठ लक्षित बाँसको सामग्री बनाउन व्यस्त रहेका छन् ।
यसरी आधुनिकतासँगै बाँसको सामग्रीको माग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य भएका छन् मरिक समुदायहरू । त्यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसको सामग्री बनाउने व्यावसायीकरणमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank