बुबाको हत्या : बालबालिकाको विचल्ली

ध्रुवसागर शर्मा ६ आश्विन २०७६, सोमबार ०९:३६

म्याग्दी- मालिका गाउँपालिका–२ रुम खवाङकी सन्तकुमारी दर्जीको आँखा अझै ओभाएका छैनन्। घरको पिँडीमा छोराछोरीसँगै बसेकी दर्जीको आँखामा टिलपिल आँसु भरिन्छ। गत भदौ १९ गते राती मदिरा सेवन गरेका तीनजना यूवाले सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा श्रीमान मोतिप्रसादको मृत्यु भएपछि कलिला छोराछोरीसँगै भक्कानिन्छन्।

दर्जीलाई भेट्न तथा समावेदना प्रकट गर्न आउनेहरूलाई देखेर उनका आँखा झनै रसाउँछन्। दुई छोरा र तीन छोरीको बीचमा बसेकी सन्तकुमारीलाई श्रीमानको मृत्युको पीडासँगै छोराछोरीको शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलीरहेको छ। भत्किन लागेको घर, बिहान–बेलुकी दुई छाक हातमुख जोड्न धौ–धौ पर्ने परिवारलाई गाउँमा आरा मेसिन चलाएर गुजारा चलाइरहेका मोतिप्रसादको हत्याले परिवारको बिचल्ली भएको छ। ज्यालामजदुरी गरी ठूलो परिवार धान्दै आएका श्रीमानको हत्यासँगै पाँच छोराछोरीको लालनपालनको एक्लो अभिभाराले पिरोलेको छ।

आर्थिक अभावकै कारण छोराछोरीले गाउँकै सामुदायिक विद्यालयमा समेत नियमित पढ्न नपाइरहेको अवस्थामा शैक्षिक साम्रागी, पोशाक लगाएत आवश्यक खर्च जुटाउन नसक्नेमा अब शिक्षादिक्षाको कुराभन्दा पनि हातमुख जोड्न समेत नसक्ने अवस्थामा पुगेको सन्तकुमारीको भनाई छ। ‘कमाउने मान्छे गएपछि छोराछोरीको चिन्ताले सताइरहेको छ’ उनले भनिन्।

ओड्ने–ओच्छाउने लुगा, अगेनामा पाक्ने खाद्यान्न समेत नभएको अवस्थामा किरिया खर्च समेत जुटाउन समेत आफन्तको सहयोग माग्नुपर्ने अवस्थामा भविस्यलाई सम्झिएर सन्तकुमारी किरियामै रुँदै सहयोगको याचना गर्छिन्। दाउरा काट्ने आरा लिएर दैनिक ज्यालामा काम गर्ने गरेका मोतिप्रसादका ५ छोरी र २ छोरा मध्ये ३ छोरीको विवाह भइसकेको छ।

‘परिवारको अवस्था नाजुक छ,‘छोराछोरीको पढाईले निरन्तता पाउने अवस्था छैन्’ आफन्त याम दर्जीले भने। उनले घर खर्चको अभावमा आफन्तले जुटाएर केही सहयोग गरेपनि निरन्तर सहयोगको आवश्यकता रहेको बताए। उनले घरखर्च नै चलाउन समस्या भइरहेको अवस्थामा सहयोग नभए भोकभोकै बस्नुपर्ने बाध्यता रहेकाले शिक्षादिक्षा तथा लत्ताकपडा सहयोगको अपिल समेत गरेका छन्।

कसरी भयो मोतिप्रसादको हत्या ?

मादक पदार्थ सेवन गरी लठ्ठ परेका रुमका नेत्र बुढा, ओमकार बुढा र नविन पुनले भदौ १९ गते मध्यरातमा घरमै पुगेर घरेलु हतियार, हात र लात्तिले कुटपिट गरेका थिए। मृतकका आफन्तले दिएको जानकारी अनुसार दुईवटा बोत्तलमा रक्सी लिएर गएका अभियुक्तले सुतिरहेको अवस्थामा कुटपिट गर्दा मृतकको मुखबाट रगत बगेको थियो भने दाहिने कोखा र टाउकोको देव्रे भागमा रगत जमेको र आन्द्रा कालो र टाउको र मुटुमा गम्भीर असर देखिएको थियो।

लगातार कुटेपछि अचेत भएका मोतिप्रसादलाई थप उपचारका लागि प्राथमिक उपचार केन्द्र दरबाङ ल्याउने तयारी गरिएको अवस्थामा घटना सार्वजनिक हुने जोखिमले गाउँकै स्वास्थ्य चौकीमा उपचारको प्रयास गरिएको थियो। ‘उहाँले पनि रक्सी खानुहुन्थ्यो,‘घटनाको निस्पक्ष छानविन हुनुपर्छ’ पीडितका आफन्त याम दर्जीले भने। अचेत अवस्थामा रातभरी गाउँमै राखेर भदौ २० गते दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि बेनी अस्पताल हुदै पोखरा लगिएको थियो। घटनालाई दवाउने प्रयास गरिएकाले समयमै दर्जीको उपचार हुन नसकेको देखिन्छ।

घटना भएकै राती उपचारका लागि ल्याउन नसक्नु, समयमै पोखरासम्म लैजान नसक्दा टाउकोमा रगत जमेर मृत्यु भएको हुनसक्ने प्रारम्भीक अनुन्धानले देखाएको छ। कुटपिट लगत्तै अस्पतालको पहुँचमा पुर्‍याउन नसक्दा मृत्यु भएको चिकित्सकको भनाई छ। आर्थिक तथा पहुँचका आधारमा दलितमाथी भएको कुटपिटको घटना लुकाउने प्रयास गरेको देखिएको छ। लेनदेन तथा आथिैक प्रलोभन देखाएपछि सामाजिक सञ्जालमार्फत आक्रोश पोख्न थालिएपछि घटना सार्वजनिक भएको थियो। यता प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले हत्यामा संलग्नको साविती बयानमा कुटपिट स्वीकार गरेको बताए।

‘१० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,‘थप अनुसन्धान भइरहेको छ’ मरासिनीले भने। उनले कुटपिटमा संलग्नलाई इलाका प्रहरी कार्यालय दरबाङको टोलीले घटना सार्वजनिक भएलगत्तै गाउँबाटै पक्राउ गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank