असइ विक हत्या मुद्दाको पेसी पटक–पटक सारिँदै

दलित अनलाईन २० पुष २०७५, शुक्रबार ११:५०

 

 

जनकपुर उच्च अदालतले १०औँ पटक सार्‍यो पेसी

जनकपुरधाम- सशस्त्र प्रहरीका असइ थमन विकको हत्यासम्बन्धी मुद्दाको पेसी उच्च अदालत जनकपुरमा लगातार सर्दै आएको छ । बिहीबार जनकपुर उच्च अदालतको बेन्च नम्बर २ मा परेको पेसी १०औँपटक सारिएको छ । यसअघि १२ पुसमा तोकिएको पेसी पनि सारिएको थियो । सो मुद्दाको पेसी अगामी बिहीबार पुनः तोकिएको उच्च अदालत जनकपुरका प्रवक्ता रामाकान्त यादवले जानकारी दिए ।  २५ भदौ ०७२ सालमा मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असइ थमन विकको हत्या भएको थियो । आन्दोलनमा घाइते भएका विकलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लानेक्रममा साबिकको महोत्तरी गाउँपालिकास्थित सोनुसडा भन्ने स्थानमा एम्बुलेन्सबाट निकाली हत्या गरिएको थियो ।

 

सो मुद्दामा २८ साउन ०७५ सालमा जिल्ला अदालत महोत्तरीले अभिराम शर्मा, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डेय, धमेन्द्र रायलगायत  २८ जनामाथि मुद्दा दर्ता गरेको थियो । तीमध्ये शर्मा प्रदेश सरकारका सामाजिक विकासराज्यमन्त्री छन् भने मिश्र जलेश्वर नगरपालिकाका मेयर छन् । मिश्र, पाण्डेय, राय साधारण तारेकमा रिहा भइसकेका छन् । महोत्तरी जलेश्वर नगरपालिका–३ का सञ्जयकुमार साह र जलेश्वर–२ का प्रदीप साह माझी पुर्पक्षका लागि जेलजीवन बिताइरहेका छन् ।

२८ साउनमा जिल्ला अदालत महोत्तरीले गरेको आदेशमा त्रुटि भएको भन्दै सरकारी वकिल कार्यालय महोत्तरीले ११ असोज ०७५ मा उच्च अदालत जनकपुरमा रिट दायर गरेको छ । साधारण तारेखमा छुटेका अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित सरकारी वकिलले उच्च अदालतमा रिट दायर गरेको हो । तर, सो मुद्दामा उच्च अदालत जनकपुरले पटक–पटक पेसी तोके पनि अहिलेसम्म सुनवाइ हुन सकेको छैन । उच्च अदालत जनकपुरका प्रवक्ता रामाकान्त यादवका अनुसार अहिलेसम्म सो मुद्दाको १० वटा पेसी तोकिएको छ । तर, अभियुक्तहरूका कानुन व्यवसायीहरूले पटक–पटक मुद्दाको पेसी सार्दै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank