सुत्केरी व्यथाले छट्पटाइरहेकी रामकला नेपालीकाे हेलिकप्टरबाट उद्धार

दलित अनलाईन १ पुष २०७५, आईतवार २०:०४

धनगढी — बाजुराको काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया रामकला नेपालीलाई उद्धार गरी उपचारको लागि नेपालगञ्ज ल्याएको छ ।
सदरमुकाम मार्तडीदेखि दुई दिनको दूरीमा पर्ने साविकको खप्तड छेडेदह गाउँपालिका १ जारिमतोला काँडा घर भएकी रामकला नेपालीलाई उद्धार गरी आइतबार उपचारका लागि नेपालगञ्ज ल्याएको हो ।
रामकलाका श्रीमान् कामको सिलसिलामा भारतमा छन् । सुत्केरी व्यथा लागेपछि चार दिनअघि नै स्वास्थ्य चौकीमा भर्ना भएकी नेपालीलाई प्रसूतिमा कठिनाई भएको भन्दै स्वास्थ्यकर्मीहरुले रिफर गरेका थिए । ‘हामीबाट सम्भव नहुने भएपछि रिफर गरिसकेका थियौ’ स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले परिवारले बाहिर लैजान सकेका थिएनन् ।’
सुत्केरी हुन नसकेर रामकलाको ज्यान जोखिममा पर्दै गएपछि स्थानीय रेडक्रसका प्रतिनिधिको सक्रियतामा प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहलाई गुहारेका थिए । मन्त्री शाहले सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी सिम्रिक एयरको हेलिकोप्टरबाट सुत्केरीको उद्धार गराएका हुन् । ‘आन्तरिक मामिला मन्त्री रहेका शाह बाजुराबाटै प्रतिनिधित्व गर्ने भएकाले हारगुहार गर्न सजिलो भयो’ रेडक्रसको काँडा उपशाखाका सभापति स्थानीय जनकबहादुर सिंहले भने ‘चार दिनदेखि छट्पटाइरहेकी गर्भवतीलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।’
रामकलाको २० वर्ष नपुग्दै विवाह भएको थियो । उमेर नपुगी बच्चा जन्माउँदा जोखिम हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । सुदूरपश्चिम प्रदेश सरकारले दुर्गम पहाडी जिल्लामा अप्ठेरोमा परेका गर्भवतीहरुलाई हवाई माध्यमद्वारा उद्धार गर्न वार्षिक बजेटमै एक करोड विनियोजन गरेको छ । यसअघि बाजुरा र बझाङका २ गर्भवतीलाई हवाई माध्यमद्वारा उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।
सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङका धेरैजसो गाउँबस्ती सडक यातायातको पहुँचबाट टाढा छन् । विकट गाउँबाट साविकका गाविसमा रहेका स्वास्थ्य चौकीसम्म र्पुयाउन पनि घण्टौंसम्म डोकोमा बोकेर हिँड्नुपर्ने बाध्यता छ । बाजुरा जिल्ला अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले प्रसूतिसम्बन्धी अप्ठेरो परे उपकरण र दक्ष चिकित्सक अभावमा उपचार कठिन हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank