फलोअप : ७८ वर्षीया सनमाया दर्जीले सहयोग पाइन्

दलित अनलाईन २३ मंसिर २०७५, आईतवार २१:१२

गणेश लम्साल

मोरङको मिक्लाजुङ–६ कालिझोडामा दर्दनाक जीवन बाँचिरहेकी ७८ वर्षीया सनमाया महरा (दर्जी)लाई पत्रकार श्रीमन्त भट्टराईले सहयोग गरेका छन् । श्रीखबर डटकमका सञ्चालक भट्टराईले सनमायाका दुई नातिको अभिभाकत्व ग्रहण गरेका हुन् ।

वृद्धा सनमायाकी ३८ वर्षीया छोरी मनोरोगी छिन् । छोराको आत्महत्या र बुहारीको दोस्रो विवाहपछि दुई नातिलाई पाल्न सनमायाले धेरै संघर्ष गर्नुपरेको छ । गरिबीले गर्दा कक्षा ८ मा पढ्दै गरेका ठूला नाति आइस दर्जी स्कुल जान छाडेर मुढा (काठ) पल्टाउने काम गर्न थालेका छन् । कक्षा ६ मा पढ्दै गरेका कान्छा नाति आइन दर्जी पनि नियमित स्कुल जान सकिरहेका छैनन् ।

पत्रकार श्रीमन्तले शुक्रबार सनमायाको घरमै गएर उनका दुई नातिहरूलाई माध्यमिक शिक्षासम्म पढाउन वार्षिक जनही १० दश हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनले तत्कालका लागि परिवारलाई नगद पाँच हजारसहित खाद्यान्न, लत्ताकपडा र स्टेसनरी सामान प्रदान गरे । उनीसँगै रिपोर्टिङमा गएका पत्रकार सुदीप अधिकारीकी पत्नी पवित्रा अधिकारीले पनि सनमायाको दुःख देखेपछि एक हजार सहयोग गरिन् ।

‘दुःखी र दीनहीनलाई सकेको सहयोग गर्नु सबै नागरिकको कर्तव्य हो, अरू पनि मनकारी हातहरू बढून्,’ सनमायालाई राहत हस्तान्तरण गर्दै पत्रकार भट्टराईले भने । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्यले पत्रकार भट्टराईको व्यक्तिगत सहयोगले अरूलाई पनि सहयोग गर्न प्रेरणा दिएको बताए । ‘सनमायालाई सहयोग गर्न सबै दयालु मन अघि सरून्, सच्चा धर्म प्राप्त हुन्छ,’ उनले भने । मिक्लाजुङ युवामञ्चका संयोजक गोपाल नेपालीले सनमाया दर्जी गरिबीको एउटा उदाहरण मात्र भएकाले समाजवादी राज्य व्यवस्थामा दीनहीन नागरिकलाई राज्य सरकारबाटै दिगो रूपले संरक्षण गर्नुपर्ने बताए ।

स्थानीय सरकारले चासो नदिएपछि युवाहरू नै अघि सरेर सनमायाको भत्केको घर निर्माण गरिदिने अभियानमा जुटिरहेको उनले बताए । सनमायाका तीन पतिको वर्षौंअघि निधन भएको थियो भने तीन छोराको मृत्यु भइसकेको छ । जीवित रहेकामध्ये एक छोरा बेपत्ता छन् भने अर्का अशक्त छन् ।  सानो छाप्रोमा कष्टकर जीवन बिताइरहेकी भूमिहीन सनमायाकाे  दलित अनलाईन डटकमले दर्दनाक पीडाकाे समाचार प्रकासीत गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank