अन्तरजातीय विवाह गरेको जोडी विस्थापित

दलित अनलाईन ७ मंसिर २०७५, शुक्रबार १०:४९

जनकराज सापकोटा

काठमाडौँ — ‘हामीलाई कसैले जोर जबर्जस्ती गरेको छैन । हामी आफ्नै मनले यहाँ छु । मलाई कसैले अपहरण गरेको पनि छैन । म बहुतै खुसी छु ।’ सिरहाको नराह २ की आशा मण्डलले गत मंगलबार टवीटरमा दुइटा भिडियो पोस्ट गरिन् ।
एउटामा सिउँदोभरि सिन्दुर भरेकी उनी एक वयस्क पुरुषसँग देखिन्छिन्, अर्कोमा एक्लै । सात वर्षको प्रेमसम्बन्धपछि सञ्जित मण्डलसँग भागी बिहे गरेकी उनले यही कारण आफूहरूमाथि असुरक्षा बढेको बताएकी छन् । आशाका अनुसार उनको परिवारले यो सम्बन्धलाई स्विकारेको छैन ।

उक्त भिडियोले सामाजिक सञ्जाल त तरंगित भएकै छ, प्रेमविवाहलाई मान्यता नदिने परिपाटीविरुद्ध आवाज एकजुट गराएको छ ।

आशा र सञ्जितले एक महिनायता गाउँ छाडेका छन् । जतिबेला जे पनि हुन सक्ने भन्दै त्रस्त छन् ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले आशाको टवीटलाई नेपाल प्रहरीको टवीटर हयान्डलमा मेन्सन गर्दै लेखेकी छन्, ‘तपाईं दुवै जना डराउनु पर्दैन ।’ सामाजिक सञ्जालमा आएलगत्तै राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरस्थित क्षेत्रीय कार्यालयलाई घटनाबारे बुझ्न र जीवनरक्षाको पहल गर्न पत्राचार गरेको थियो । क्षेत्रीय कार्यालयले सिरहा प्रहरीलाई पत्राचार गरेको छ ।

आशाले आफूहरू नेपालमा बस्न नसकेर भागेको बताइन् । बिहेलगत्तै आफ्नो परिवारले सञ्जितको परिवारलाई धम्क्याएको उनको भनाइ छ । ‘हामी खुसी छौं भने अरूले किन दबाब दिनु ? यही थाहा दिन मैले भिडियो हालेको हो,’ उनले भनिन्, ‘हाम्रो राजी मन्जुरी छ भने हामीलाई किन छुटाउनुपर्‍यो । हाम्रो जीवन कसरी चलाउने, हामीले सोचेका छौं नि ।’ आफूहरू वयस्क रहेको र जिन्दगीको निर्णय आफैं लिन सक्ने उनले बताइन् ।

सञ्जितका बाबु लक्ष्मण छोराले आशालाई भगाएकै कारण आफूहरूमाथि कुटपिट भएको बताउँछन् । चार दिन अस्पताल बस्नुपरेको जनाउँदै उनले भने, ‘दुवै जना भागे तर हामीलाई खोजेर ल्याउनु भनेर दबाब आएछ । अब हामी गरिब, नपढेको मान्छेले कहाँबाट ल्याउनु ?’ चार पटक जिल्ला प्रहरी कार्यालयसमेत धाइसकेको उनले बताए । ‘फर्केर आयो भने केटाकेटी दुवैलाई मार्ने धम्की दिएको छ,’ लक्ष्मण्णले भने । धम्की कहाँबाट आयो भन्ने खुलाउन नचाहेका उनले आफूहरू गरिब भएकाले केटीप क्षले विवाह नस्विकारेको दाबी गरे ।

आशाका दाजु शम्भु मण्डलले आफ्नी बहिनी हराएकाले खोजेर ल्याउनुपर्ने बताए । दुवै जना राजीखुसीले भागेका भए आफूहरू बिहे गराइदिन तयार रहेको उनले बताए । ‘धम्की दिएको भन्ने कुरा पनि झूटो हो,’ उनले भने । केटाकेटी दुवै भागेपछि आफूहरूको बदनाम गर्न गाउँका केही दुस्मन लागिपरेको शम्भुले आरोप लगाए । ‘तराईको फोहोरी राजनीति छिर्‍यो । नत्र केटाकेटी भागेको कुरामा किन लफडा ?,’ उनले भने ।

घटनालाई लिएर गाउँ विभाजित छ । एकथरी मण्डलहरू केटीका पक्षमा उभिएका छन् भने थोरै केटाका पक्षमा । एक स्थानीयका अनुसार आर्थिक हैसियत बराबर नभएको भन्दै यो सम्बन्धलाई मान्यता नदिने प्रयास भइरहेको छ । यसमा भित्रभित्रै केही नेता पनि लागिपरेका छन् ।

आयोग प्रवक्ता अन्सारीले बयस्क नागरिकबीच बिहेकै आधारमा असुरक्षाको भाव उत्पन्न हुनु मानव अधिकारविरोधी काम भएको बताइन् । ‘इज्जत जोगाउने नाममा छोरा वा छोरीको बिहेको निर्णय नमान्ने वा त्यसलाई अस्वीकार गर्ने प्रवृत्ति नेपाली समाजमा व्याप्त छ । यो त्यसैको प्रतिनिधि उदाहरण हो,’ उनले भनिन् । यस्ता घटना अरू पनि रहेको जनाउँदै उनले आशाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर हिम्मत देखाएको बताइन् ।

मधेसको जातीय परम्परामाथि अध्ययन गरिरहेका सप्तरीका भोला पासवान भागी विवाहको सामाजिक अस्वीकार्य र त्यसले निम्त्याउने द्वन्द्वका घटना व्याप्त रहेको बताउँछन् । ‘सकेसम्म प्रेमबिहे नपचाउने र त्यस्तो बिहे दलित र गैरदलितबीच भयो भने सम्बन्ध टुटाउन ज्यानै लिनेसम्मका घटना भएका छन्,’ उनले भने, ‘तीमध्ये थोरै मात्र बाहिर आउँछन्, भागीबिहे गरेर सामाजिक सञ्जालमार्फत सुरक्षा खोजेको यो घटना अलिक दुर्लभ नै हो ।’

मंसिर १ मा सर्लाहीको कविलासी ६ मदनपुरमा गैरदलितकी छोरी दलितले भगाएको भन्दै गाउँ पञ्चायती नै बसेको थियो । रामप्रसाद रायकी कक्षा ११ मा पढने छोरी पुनितकुमारी कात्तिक २८ देखि हराएको र स्थानीय बेचन रामका छोरा सन्तोषले भगाएको आरोप थियो ।

पञ्चायतीले दुई दिनभित्र पुनितलाई उपस्थित नगराए सन्तोषकी अविवाहित बहिनीलाई सार्वजनिक रूपमा बलत्कार गर्नुपर्ने निर्णय गरेको थियो । यस्तो निर्णयको प्रतिवाद गरेका राष्ट्रिय सभा सदस्य रामप्रित पासवानमाथि आक्रमणसमेत भयो । सप्तरीको दलित सरोकार मञ्चले घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग राखेको थियो ।

आशाको टवीटपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले टवीटरमा लेखेका छन्, ‘प्रदेश नम्बर दुई सरकार यस्ता घटनाप्रति गम्भीर छ र यसका लागि आवश्यक कदम अघि बढाउनेछ ।’ प्रधानमन्त्री कार्यलयअन्तर्गतको हेलो सरकारले युवतीसँग सामाजिक सञ्जालमार्फत नै कुरा गरी उनीहरूको सुरक्षा ग्यारेन्टी गर्न गृह मन्त्रालयलाई पत्राचार गरिसकेको जनाएको छ ।

लेखिका मञ्चला झाले आशाको टवीटमा रिप्लाई गरेकी छन्, ‘जात, उमेर र मन मिलेको प्रेमविवाहलाई परिवार र समाजले किन स्विकारिरहेको छैन । सुनेरै अचम्म लाग्यो । मधेसका मण्डल समुदायका मान्छे यति संकीर्ण सोचका त नहुनुपर्ने हो । तपाईं प्रेमिल जोडीको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ ।’
विवाहमा परिवारलाई किन समस्या ?

२३ वर्षीया आशाले कात्तिक ५ गते गाउँकै २५ वर्षीय सञ्जितसँग बिहे गरेकी हुन् । स्थानीयका अनुसार केटा पक्षको भन्दा बलियो सामाजिक र आर्थिक हैसियत भएकाले आशाको परिवारले स्विकारेन ।
त्यसपछि उनीहरू गाउँ छाडेर भागे । लगत्तै आशाको परिवारले खोजी तीव्र पार्‍यो । छोरीलाई उपस्थित गराउन केटा पक्षमाथि दबाब बढायो ।

जिल्ला प्रहरीका अनुसार आशाको परिवारले छोरी हराएको भन्दै इलाका प्रहरी कार्यालय नराहमा निवेदन दिएको थियो । इलाकाले जिल्ला प्रहरीमार्फत उनीहरूको हुलिया परिपत्र गरेको छ । जिल्ला प्रहरी प्रमुख एसएसपी जीवन श्रेष्ठले निवेदनलगत्तै आफूहरूले दुवै परिवारसँग छलफल गरेको बताए ।

(निम्न लिखित सामाग्री कान्तिपुर दैनिकमा जनकराज सापकोटाद्धारा लेखिएको समाचार जस्ताको तस्तै हालिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank