घर छाउन नसक्दा दलित परिवारको विजोग

दलित अनलाईन १३ कार्तिक २०७५, मंगलवार १३:०९

केशर रोका

प्यूठान- जंगलको बीचमा खरले छाएको झुपडी। ठाउँठाउँमा बोरा र त्रिपालले टालेको छ। दुर्इवटा बर्खा जसोतसो कटे। बर्खाभरी आकाशको पानी चुहिएर भित्र हिलाम्मे बन्यो। दैनिक ‘गर्जो’ टार्न मुश्किल हुने झिमरुक गाउँपालिका–३ ओखरकोट रोटेपानी प्यूठानका दलित परिवारलाई नयाँ घर बनाउने र खरको घर छाउने कुरा ‘एकादेशको कथा’ जस्तै भएको छ।

२१ वर्षीया शर्मिला विक, उनकी ४५ वर्षीया सासू गंगा र अढाइ वर्षकी छोरीले यही झुपडीमा दैनिकी बिताइरहेका छन्। शर्मिला गत माघमा घाँस काट्दा रुखबाट लडेर घाइते भर्इ राम्रोसँग हिडडुल गर्न नसक्ने गरी ओछ्यानमै थलिएपछि यो परिवारमा थप समस्या परेको छ। उनको हड्डी भाँचिएको छ। डाक्टरले नियमित औषधी खान सुझाव दिएपनि औषधी किन्ने पैसा नहुँदा स्थानीय जडीबुटी शरीरमा लगाएर उनले पीडा भुलाएकी छिन्।

झुपडीमा बसेका उनीहरुको नाममा कुनै जग्गा छैन्।स्थानीय सामुदायिक वनमा दुइवर्षअघि गाउँलेले बनाइदिएको घरमा उनीहरु बस्दै आएका छन्। घरखर्च धान्नै मुश्किल पर्ने विक परिवारले छानो लथालिंग हुँदा पनि छाउन सकिरहेका छैनन्। उनीहरूले गएको बर्खा निकै कष्टकासाथ दिन गुजारे। ‘ श्रीमान् र दाइ भारतमा हुनुहुन्छ’,शर्मिलाले भनिन्,–‘उहाँहरु पनि उतै बिरामी हुनुहुन्छ।

जेठो दाइलाई चट्याङ लागेर समस्या छ। गरिबलाई जताततै समस्या हुँदोरहेछ।’ ससुराको मृत्यु भएको १८ वर्ष भइसकेको उनले सुनाइन। सासूले जसोतसो आफ्नो स्यहार गरिरहेको विकले बताइन।

धन कमाउन मुग्लान पसेका छोराहरु आफैँ विरामी परेपछि घरव्यवहार धान्न धौधौ परिरहेको गंगाले गुनासो गरिन्। ‘रुखबाट लडेर घाइते भएकी बुहारीलाई हेरचाह गर्नुपर्छ’,उनले दुःख सुनाउदै भनिन्,‘बस्ने बाँसपनि गतिलो भएन्। गरिबलाई त बाँच्न पनि गाह्रो हुँनेरहेछ।’ सामुदायिक वनको सुनसान ठाउँमा गाउँलेले बनाइदिएको घरमा दिन विताउन निकै समस्या भइरहेको उनीहरुले दुःखेसो पोखे। आफन्तको घरमा तराइमा बस्दै आएकी गंगा श्रीमान्को मृत्युपछि गाउँमा आएकी थिइन्।

गरिबलाई सरकारले घर छाउनका लागि जस्तापाता दिने खबर सुनेकी गंगाले भनिन् ‘त्रिपालले जसोतसो टालेर बसेका छौँ, टिन दिए घर छाउन हुन्थ्यो।’ सल्लाघारी वनको बीचमा रहेको घर बर्खामा जोगाउनै परिरहेको पीडा उनले सुनाइन्।

प्रदेश पाँच सरकारले तीनवर्षभित्र प्रदेशलाई खरको छानामुक्त बनाउने नीति ल्याएको छ। सोही अनुसार जिल्लाका कतिपय स्थानीय तहले बजेट विनियोजन गरेर ‘खरको छाना हटाउने’ अभियान थालिसकेका छन्। झिमरुक गाउँपालिकाले पनि चालु आर्थिक वर्षमा केही वडाका गरिब घरपरिवारलाई सहयोग गर्नेगरी ३० लाख रुपैयाँ बजेट छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुषालले जानकारी गराए।

कार्यविधि बनाएर योजना कार्यन्वयन गर्ने तयारी भइरहेको उनले बताए। चुहिने घरसमेत छाउन नसक्ने आर्थिक अवस्था कमजोर भएकाहरुलाई खरको छाना हटाउने कार्यक्रमबाट लाभांवित हुने देखिएको छ।

अन्नपुर्ण पोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank