चितवन – भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ ।
आज भरतपुर महानगरपालिका शैक्षिक महाशाखाले आयोजना गरेको सामुदायिक माध्यामिक विद्यालयका प्रधानाध्यापकहरूको बैठक तथा आर्थिक वर्ष २०७५-०७६ को वार्षिक बजेट तथा कार्यक्रम प्रबोधीकरणमा महानगर प्रमुख दाहालले प्रधानाध्यापकहरुलाई पठनपाठनलाई व्यवस्थित बनाई उत्कृष्ट नतिजा निकालेर देखाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नतिजाको आधारमा शिक्षक र विद्यालयलाई पुरस्कृत गरिने छ ।’
कार्यक्रममा उहाँले विद्यालयमा दरबन्दी मिलान गरी आवश्यक विद्यालयमा दरबन्दी पठाइने विश्वास समेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘भौतिक निर्माणको लागि विशेष पहल गरिने छ, विद्यालय समायोजनलाई प्राथमिकता दिएर थोरै विद्यार्थी भएको विद्यालयलाई ठूला विद्यालयसँग समायोजन गरिने छ ।’ कार्यक्रममा उहाँले पाठ योजना, विद्यार्थीहरुको गृहकार्य प्रशिक्षण, शैक्षिक सामग्रीको प्रयोग गरी गणस्तरीय शिक्षा प्रदान गर्न जोड दिनुभयो ।
उहाँले सबैको सामूहिक प्रयासबाट सामुदायिक विद्यालयको उत्कृष्ट नतिजा हासिल गर्न सकिनेमा महानगरपालिका विश्वस्त रहेको बताउनुभयो । उहाँले भरतपुर महानगरपालिका शिक्षाको अलवा पूर्वाधार विकास, स्वास्थ्य, सामाजिक विकास, कृषि पर्यटनको क्षेत्रमा तीव्र विकासको बाटोमा अगाडि बढिरहेको जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाले मेघा प्रोजेक्टको रूपमा सिटीहल निर्माण गर्न प्रक्रियामा लागिरहेको र सबैभन्दा उचित ठाउँ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल हाताभित्र रहेको बताए । उहाँले भन्नुभयो, ‘यसको लागि महानगरवासीको सहयोग र समर्थनको अपेक्षा पनि गर्दछु ।’
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले विद्यालयका प्रअहरूलाई शैक्षिक गुणस्तर वृद्धिमा दृढ भएर अगागि बढ्न आग्रह गर्नुभयो । उनले भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले शैक्षिक गुणस्तर वृद्धिमा शिक्षक, शिक्षिकाहरूको महत्वपूर्ण भूमिका हुने भएकाले इमानदार भएर कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।
उहाँले भरतपुरमहानगरपालिका शिक्षा क्षेत्रको गुणस्तरीय विकासको लागि सधैं क्रियाशील रहेको बताउनुभयो । नारायणी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि र पर्वाधार विकासका लागि महत्वपूर्ण नीति र योजनाहरू प्रस्तुत गरेकोमा महानगरलाई धन्यवाद दिनुभयो।
उहाँले यसलाई व्यवहारमा कडाइका साथ उतार्न आग्रहगर्नुभयो । नारायणी नमुना मावि त्यसै नमुना नभएको भन्दै महानगरपालिकाका सबै विद्यालयहरू नमुना बन्नुपर्ने बताए । उनले सरकारका कतिपय ऐन नियमहरू विद्यालयमैत्री नभएको हुँदा परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख दीपेन्द्र सुवेदीले भरतपुर महानगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गतिविधि सञ्चालनमा सहजीकरण गर्न महत्वपूर्ण छलफल गरेकोमा धन्यवाद दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्न सबै इमानदार भएर अगाडि बढ्नुको विकल्प नभएका बताउनुभयो।
भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख भूमिलाल सूवेदीले भरतपुर महानगरपालिकाले शिक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको बताएकी छन्। उनले छात्रवृत्ति कार्यविधि निर्माण तथा शिक्षक कर्मचारी दरबन्दी मिलान प्रक्रिया सुरू गरिएको बताउनुभयो ।
महानगरले गुणस्तरीय र व्यावहारिक शिक्षा नीति लिएको बताउँदै उहाँले विद्यालयको क्षैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार विकासमा जोड दिएको जानकारी गराएकी छन् । उनले नगर शिक्षा समिति गठन गरी प्रक्रिया अगाडि बढाइरहेको बताउनुभयो।
कार्यक्रममा उपस्थित प्रधानाध्यापकहरूले आ–आफ्नो विद्यालयको शैक्षिक र भौतिक अवस्थाको बारेमा जानकारी गराउँदै शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक सहयोग चाहिएको बताउनुभयो ।
कार्यक्रममा महानगरका विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति थियो । भरतपुर महानगरपालिकाभित्र १२३ वटा सामुदायिक विद्यालय, ९६ वटा निजी विद्यालयहरु छन् । महानगरमा ९७४ जना तालिम प्राप्त शिक्षक छन् । शिक्षक विद्यार्थीको अनुपात २१.६ प्रतिशत छ ।
Leave a Reply