अामा भन्छिन् : हेडसरले डोम भएकै कारण मेरो छोरालाई निष्कासित गरे (भिडियो सहित)

दलित अनलाईन २० आश्विन २०७५, शनिबार १४:४३

सिरहा- शिक्षक राकेश यादवको हजुरआमाको मृत्युभोजको फोहोर सफा नगरेको भन्दै कक्षा ७ का बिद्यार्थी मुकेश कुमार मल्लिक डोम (१३ बर्ष) लाई बिद्यालयबाट निष्कासित गरिएको छ । प्रधानाध्यापक मनोहर यादवले भोज सकिएपछि फोहोर सफा गर्न निर्देशन दिएका थिए । तर मुकेशले फोहोर सफा गर्न नमानेपछि उनलाई गालीगलौज गर्दै अब उप्रान्त बिद्यालय नआईज भन्दै निस्कासन गरिदिएको उनले बताए ।
१६ असोजका दिन महोत्तरी जिल्ला भंगहा नगरपालिका वडा नं ९ हरिहरपुर स्थित किशोरी जनता माध्यमिक बिद्यालय परिसरमा भोजको आयोजना गरिएको थियो । शिक्षक राकेश यादव नाताले प्रअ यादवका भान्जा हुन् । ‘हेडसरले डोम भएकै कारण मेरो छोरालाई फोहोर सोहोर्न लगाए ।’ मुकेशकी आमा ललितादेवि डोम भन्छिन्, ‘उहाँले हामीलाई झैं सम्झेर भन्नु भयो होला । आजकलका बच्चाले कहाँ मान्छन् ?‘
त्यसरी धम्क्याएर नआईज भनेपनि भोलिपल्ट बिद्यालय पुगेका मुकेसलाई प्रधानाध्यापक यादवले कोदालो दिंदै फोहोर पुरे मात्र पढ्न दिने नत्र घर पठाईदिने भन्दै अड्डी कसे । साथसाथै त्यहिं पढ्ने मुकेशको १२ वर्षिय बहिनी मनिषा कुमारी र ८ वर्षिय भाइ दिपेश मल्लिक लाई पनि फोहोर फाल्न कोदालो थमाई दिए । फोहोर सफा गरेमात्र पढ्न पाउने भनेपछि तीनवटै भाइ बहिनीहरु रुदैं विद्यालयबाट घर फर्किए ।
आफ्ना तीनवटै बच्चा रुदैं आएको देखेपछि आमा ललिताले बिद्यालयमा गई ‘बच्चाहरु माथि अन्याय नगर्न र पढ्न दिन ‘ भन्दै अनुनय गरिन । तर जवाफमा प्रअ यादवले ‘भोजको फोहोर ललिताले सफा गरिदिए बच्चाहरुलाई पढ्न दिईने नत्र बिद्यालय प्रवेश गर्न नदिईने’ भनेपछि उनी न्याय दिलाई माग्न स्थानीय दलित अधिकारकर्मी चन्द्रेश्वर दास र चन्द्रेश्वर सदाकहाँ पुगिन ।
अधिकारकर्मीद्धयले प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई घटनाबारे सुनाउँदा त्यसलाई सामान्य रुपमा लिएका प्रजिअले गाउँमै मिलाउन सुझाव दिए । डोमको काम नै फोहोर सफा गर्ने पुरानो मानसिकताका कारण प्रअ यादव र बिद्यालयका शिक्षकहरुले यस्तो दुब्र्यवहार गरेको हुनसक्ने अधिकारकर्मी सदा बताउँछन् । ‘देशमा गणतन्त्र आयो छुवाछुत गयो भनिन्छ । गाउँमा हालत यस्तो छ ।’ उनी भन्छन्, ‘पढेलेखेकाकै हालत यस्तोछ, अशिक्षितहरुका के कुरा गर्ने ?‘ प्रअ यादव भने मुकेशलाई डोम भएकै कारण फोहोर सफा गर्न नलगाईएको बताउँछन् । उनी भन्छन्, ‘हामी सबै मिलेर सफा गरेका हौं । उसलाई गर भन्दा मानेन ।’
१३ जनाको परिवार सहित ऐलानी जग्गामा विगत ७ पुस्तादेखि बस्दै आएको डोम परिवार यो घटनाबाट आतंकित छ । डोम समुदायले आफ्नो आदेशको अवज्ञा गरेको र बिद्यालयको बेईज्जत हुनेगरि घटनालाई बाहिर लगेको भन्दै भन्दै प्रअ यादव रिसाएपछि आफुहरुको उठिबास हुने डरले ति आतँकित भएका हुन् ।


गएको साता सिरहा नंरहा गाउँपालिका वडा नं ३ चोहर्वाका दुई घर डोम परिवारको घरमा बुल्डोजर चलाएर तिनको जग्गा कब्जा गरिएको थियो । स्थानीय भरतराज शर्माले प्रहरी प्रशासनको सहयोगमा स्थानीय लठैतहरु लगाई १८ जना परिवार बस्दै आएका दुईटा घर भत्काईदिएपछि ति बिचल्लीमा छन् । ति रुख मुनी बसेर न्यायिक लडाई लडिरहेका छन् । सडक छेऊको महँगो जग्गा आफ्नो दावी गर्दै शर्माले जिल्ला अदालतमा मुद्दा दर्ता गरेकाथिए । तर उनले मुद्दाको छिनोफानो नहुदैं डोम परिवारको घर भत्काएर जग्गा कब्जा गरेकाथिए ।
मुकेशका अभिभावक पनि प्रअ. यादव र उनका सहयोगीले बारम्बार धम्क्याईरहेको हुनाले आफुहरुलाई पनि यसैगरि मुद्दामामिलामा फँसाईदेलान र उठिबास लाग्ला भनि चिन्तित छन् । जनता माविमा भएका १८ जना शिक्षक मध्ये प्र.अ. मनोहर यादवको पत्नी संगीता यादव , भतिजी रंजना यादव, भान्जा शुसिल यादव र राकेश यादव सहित राकेश यादवको पत्नी अनिता यादवले त्यसै बिद्यालयमा पढाईरहेकोले पनि पीडित परिवार झन बढी भयभित छ ।
मानव विकास सूचकाँकमा नेपालमा भएका जाति मध्ये सबैभन्दा पिँढमा दलित समुदाय छन् । दलितमा पनि मधेसी दलितको अवस्था सबैभन्दा दुराअवस्था छ । मधेसी दलित भित्र पनि महिलाको अवस्था झनै बढी नाजुक छ । पछिल्लो समय दलित समुदायमाथि झन बढी उत्पीडनका घटना सार्वजनिक भैरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank