छुवाछूत मुक्त गर्न अघि बढ्दै मर्स्याङ्दी गाउँपालिका

दलित अनलाईन १३ आश्विन २०७५, शनिबार १०:४८

शान्ता कमली

लमजुङ-लमजुङको मर्स्याङ्दी गाउँपालिकाले जातीय भेदभाव तथा छुवाछूत मुक्त गाउँपालिका बनाउन सार्वजनिक प्रतिवद्धता जनाएको छ । गाउँपालिकाले बिहीबार एक कार्यक्रम गरी छुवाछूत मुक्त पालिका कार्यन्वयनका लागि जनप्रतिनिधि र सरोकारवालाबीच पाँच बुदे प्रतिबद्धता सार्बजनिक गरेको हो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले छिट्टै छुवाछुत मुक्त गाउँपालिका घोषणा गर्ने बताए । ’पहिले गाउँबस्तीबाट जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने र त्यसपछि गाउँपालिबाटै निर्मूल गर्ने योजना छ,’ उनले भने, ’प्रतिवद्धतामा हामी सबै मानिस समान र बराबर अधिकारका भागेदारी हौं, जातीय भेदभाव तथा छुवाछूत सामाजिक कूरीति र अपराध हो, हामी हाम्रो घर परिवार र समाजमा हुने छुवाछूत तथा भेदभावलाई पूर्णरुपले अन्त्य गर्न प्रतिवद्ध छौँ भनिएको छ ।’

यस्तै ‘संविधान, ऐन कानुन नियममा उल्लेख भएका छुवाछुतविरुद्ध बनेका कानुनको पूर्ण रुपमा कार्यान्वयन गर्न प्रतिवद्ध छौं र गाउँपालिकालाई जातीय विभेद र छुवाछूत मुक्त गाउँपालिका बनाउन आवश्यक सहयोग र खबरदारीका लागि पूर्ण प्रतिवद्ध रहनेछौ’ प्रतिवद्धतामा भनिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाका संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले जातीय छुवाछुत अन्त्यका लागि अशिक्षा र गरीबीलाई पनि सँगसँगै अन्त्य गर्नुपर्ने बताए । उनले जातीय भेदभाव र छुवाछुत अन्त्य घोषणा गरी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन सुझाव दिए । उनले समाज परिवर्तनका लागि चेतना र शिक्षा आवश्यकता रहेको बताए ।

संविधान सभा सदस्य जमीन्द्रमान घलेले जातीय भेदभाव न्यूनीकरणका लागि गाउँपालिकाले वडा तहमा जातीय विभेद न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको कानुनले नै जातीय विभेद गरेको पाइएमा दण्डनीय हुने भएपनि व्यवहारमा अझैँ कार्यान्वयन हुन नसकेको बताए ।

जिल्ला समन्वय समिति सदस्य नन्दराम विक, नेकपाका प्रतिनिधि अजय तामाङ, कांग्रेसका प्रतिनिधि नरबहादुर गुरुङ, मस्र्याङ्दी गाउँपालिकाका सामाजिक विकास समितीका संयोजक प्रेमबहादुर बस्नेत, सम्पूर्ण वडा र महिलाको तर्फबाट वडा नम्बर ८ की वडाध्यक्ष हिरादेवी घले र लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइका अध्यक्ष विरेन्द्र भण्डारीले प्रतिवद्धता जनाउँदै गाउँपालिकाभित्र जातीय विभेद हुन नहुने बताए । उनीहरुले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि सबैले आ–आफ्नो ठाउँबाट एकजुट भई लाग्नुपर्ने बताए ।
मस्र्याङ्दी गाउँपालिका र समग्र विकास सेवा केन्द्रले सयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank