राज्यका निर्देशक समितिको सभापतिमा निरादेवी जैरु निर्विरोध

दलित अनलाईन ७ आश्विन २०७५, आईतवार १८:३३

काठमाडौँ-सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित हुनुभएको छ ।

समितिको आजको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई सांसद प्रभु साहले समर्थन गर्नुभएको थियो । बैठकको अध्यक्षता गर्नुभएका सांसद राधेश्याम अधिकारीले समितिको सभापतिमा जैरु निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । नवनिर्वाचित सभापति जैरुले निर्विरोध निर्वाचित गर्न सहयोग गर्नुहुने सांसदलाई धन्यवाद दिनुहुँदै समितिको जिम्मेवारी निर्वाह गर्न पनि सबैको साथ पाउने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय संसद् संयुक्त बैठक र संयुक्तसमिति (कार्य सञ्चालन) नियमावली २०७५ अनुसार समितिमा १५ सदस्य रहने व्यवस्था छ ।

प्रतिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन सदस्यले समितिमा प्रतिनिधित्व गर्ने प्रावधान रहेको संसद् सचिवालय कानून महाशाखा प्रमुख सहसचिव अर्जुनकुमार खड्काले बताउनुभयो । हाल समितिमा प्रतिनिधिसभाबाट ११ र राष्ट्रियसभाबाट तीन गरी १४ सांसद रहनुभएको छ ।

सुनुवाइ समितिमा कर्ण निर्विरोध

संसदीय सुनुवाइ समितिमा भने ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्ण निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको आजको बैठकमा सांसद अमृता थापाले उहाँको नाम प्रस्ताव गर्नुभएको थियो । सांसद योगश भट्टराई, शिवकुमार मण्डल र निरुदेवी पालले सो प्रस्तावको समर्थन गर्नुभएको थियो । नवनिर्वाचित सभापति कर्णले समितिलाई साझा बनाउने प्रतिबद्धता जनाउनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank