काठमाडौँ – नेपाली काङ्ग्रेस सांसद प्रदीप गिरीले संविधानलाई सर्वस्वीकार्य बनाउने मुख्य जिम्मेवारी सरकारको भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “काङ्ग्रेस सरकारमा नरहँदा पनि प्रतिक्रियावादी र षड्यन्त्रकारीलाई सहयोग गर्दैन, आवश्यक परेको बेलामा सरकारलाई सहयोग गर्छ ।” उहाँले काङ्ग्रेस सधैँ सत्यको पक्षमा अडिग रहेको बताउनुभयो ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको वास्तविकता शीघ्र पत्ता लगाई दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै उहाँले समाजमा हिंसा तथा बलात्कारका घटना किन बढिरहेको छन् भन्ने सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद गिरीले सत्ताको हस्तान्तरण भए पनि रुपान्तरण हुन नसकेको उल्लेख गर्दै अहिलेको संयन्त्रलाई परिर्वतन गरेर भए पनि निर्मलाका बाबुआमालाई न्याय दिलाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले समाजलाई चुनौती दिने घटनाका दोषी उम्कन नसक्ने बताउँदै वर्तमान सरकारले लोकतन्त्र र देशलाई बलियो बनाई मित्रराष्ट्रबीच अभूतपूर्व सम्बन्ध बनाउन सफल भएको उल्लेख गर्नुभयो ।
सरकारले मुुलुक सञ्चालनका लागि राम्रोसँग राजश्व सङ्कलन गरेर अघि बढेको उल्लेख गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र देशको चौतर्फी विकासमा प्रतिबद्ध रहेको बताउनुभयो । संविधानले परिकल्पना गरेअनुसार सरकारले तीन वर्षभित्र बनाउनुपर्ने मौलिक हकका कानून निर्माण गरिसकेको बताउँदै सांसद अधिकारीले मुलुकमा स्थायित्व कायम गर्न सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।
सांसद राजेन्द्र लिङ्देनले सरकारले नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी अध्यक्ष नियुक्त गरेको विषयमा सरकारसँग स्पष्ट जानकारीको माग गर्दै निगमको विमान खरीद प्रकरणमा अर्बाैं रुपैयाँ अनियमितता भएको हुनसक्ने बताउनुभयो । उहाँले उक्त अनियमितताको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्नुभयो ।
Leave a Reply