काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गविक्रम विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतको रिहाइको आदेश विपरित प्रहरीले तेस्रो पटक पक्राउ गरेपछि महासचिव विप्लवले सरकारी रवैयाको विरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।
नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिनुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं ।’
गएको साउन २२ गते पक्राउ परेका प्रवक्ता प्रकाण्डलालई सर्वोच्चले दुई बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई रिहाईको आदेश दिए पनि प्रहरीले अदालत परिसरबाट दुई पटक पक्राउ गरी हिरासतमा राखेको छ । बिहीबार मात्रै सर्वोच्चले रजिष्टारको रोबरमा छाड्न आदेश दिएको थियो । तर प्रहरीले सर्वोच्च परिसरबाट फेरि तेस्रो पटक पक्राउ गरेपछि विप्लव अक्रोशित हुनुभएको हो ।
विप्लवले प्रहरीले पार्टीका नेता तथा कार्यकर्तालाई दिनदिनै अपहरणको शैलीमा पक्राउ गरी वेपत्ता बनाउने काम गरिहरेको समेत आरोप लगाउनुभएको छ । भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई पक्राउ गरी वेपत्ता बनाएको नेकपाको दाबी छ ।
यस्तै पोलिटब्यूरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ ।
Leave a Reply