कालो पेटिकोट

दलित अनलाईन ४ भाद्र २०७५, सोमबार २२:२९

छविलाल कोपिला

 

हिजो एउटा ठेकेदारको
भुस्याहा कुकुरहरुले
आमाहरुको कालो पेटिकोटलाई
अर्धनग्न देखे
र, झम्टे निर्ममतापूर्वक ।

दुनियाँलाई थाहा छ
उनै नजरहरु हुन्
कैयौ डान्स बारहरुमा
ब्रा र पेन्टीको सुगन्ध र सुन्दरतामा लठ्ठिएर
चपक्क टाँसिएर सेल्फी हान्छन्
र, फेसबुकका वालहरुमा सगर्व पोष्ट गर्छन् ।

त्यही नजरहरु हुन्
लाखौं खर्चेर
भाडामा केही थान स्तन र
केही थान साप्राहरु ल्याउँछन्
अनि खुल्ला मञ्चमा नचाउँदै
बेसुर सिटी फुक्छन्
र, ताली पड्काउँछन् ।

अनि तिनै नजरहरु हुन्
जहाँ सर्वाङ्गै नाङ्गा बाबाहरुको लिंग ढोग्छन्
त्यही देउता देख्छन्
साक्षत्कार महादेव देख्छन्
र, घोप्टिन्छन् जमीन भास्सिने गरी ।

तर, अस्मिता रक्षार्थ
सडकमा निस्किएका
कालो पेटिकोटहरुलाई
अर्धनग्न देख्छन्
विद्रोही देख्छन्
आतंकारी देख्छन्
अनि,
निर्मम तरिकाले आक्रमण गर्छन्
लाठी बर्साउँछन्
आश्रुग्याँस हान्छन्
र, बन्दी बनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank