सहिदको बलिदानीबाट नै कम्युनिष्ट बहुमतको सरकारः अध्यक्ष प्रचण्ड

दलित अनलाईन १ भाद्र २०७५, शुक्रबार १४:४२

रामेछाप – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सहिदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको बहुमतको सरकार बनाउन सफल भएको बताउनुभएको छ।  बिहिवार १५ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा सहिद परिवार सम्मान कार्यक्रमलाई रामेछापको दोरम्बामा संबोधान गर्दै उहाँले यस्तो बताउनुभएको  हो ।

अध्यक्ष प्रचण्डले दोरम्बा हत्याकाण्डपछि राजतन्त्र फालिएको र देशमा गणतन्त्र ल्याउन सफल भएको बताउनुभयो। उहाँले सहिदहरुको रगतले नै अहिले देशमा संघीय गणतन्त्र र हुँदै पार्टी एकीकरणमा रुपान्तरण भएको भन्दै सहिद परिवारका सदस्यलाई मन दरो पार्न समेत अनुरोध गर्नुभयो ।

विश्व चर्चित रामेछापको दोरम्वा हत्याकाण्ड तत्कालीन शाही सेना र सरकारको निर्णयमा नभई दरबारको ठाडो निर्देशनमा भएको प्रचण्डको भनाई थियो । १५ वर्षअघि (२०६० साल साउन ३२ गते) आफ्नो पार्टीका २१ नेता कार्यकर्ताको हत्या भएको दोरम्बा हत्याकाण्डलाई आफ्नो पार्टीले विशेष रुपमा हेरेको अध्यक्ष प्रचण्डले बताउनुभयो।

तत्कालील सरकार र नेकपा माओवादीबीच दाङको हापुरेमा दोश्रो शान्ति वार्ता चलिरहेका बेला राजनीतिक वार्तालाई बिथोली मान्छे मारेर परिवर्तनलाई रोक्ने सुनियोजित योजनामा दरबारले दोरम्बा हत्याकाण्डको मञ्चन गरेको अध्यक्ष प्रचण्डको आरोप छ ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो ।

दोरम्बामा आफ्ना कार्यकर्ताहरुको निर्ममतापूर्वक हत्या भएको सम्झँदै पार्टी अध्यक्ष प्रचण्डले दोरम्बालाई युद्ध पर्यटकीय स्थल बनाउने घोषणा पनि गर्नुभयो । काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्वा र दोलखाको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्नको लागि तत्कालै आवश्यक वजेटको व्यवस्थापन गर्ने पनि अध्यक्ष प्रचण्डले आश्वासन दिनुभयो।

साथै, उहाँले सहिद परिवारका बालबच्चा र युद्धमा मारिएका दुवै पक्षको शिक्षा, दिक्षा र ब्यवस्थापनको जिम्मा पनि कम्युनिष्ट सरकारले नै लिने प्रतिवद्धता गर्नुभयो । निर्वाचन क्रममा जनताको घरदैलोमा मत माग्न जाँदा पार्टीले भने अनुसारको विकास निमार्णमा ढिलाई भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । जनताले केही राहत पाउने गरि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने समेत उहाँले बताउनुभयो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank