दलित अनलाईन

बुद्धमायाको मुटुको उपचार शुरु, आवासको निम्ति समिति गठन

दलित अनलाइन साउन १७, २०७५

काठमाडौं–अदालतबाट न्याय पाए पनि समाजको थप अत्याचार सहन नसकी विष सेवन गर्नुभएकी महोत्तरी बर्दिवासकी बुद्धमाया विश्वकर्मालाई पुर्नस्थापना गराउन र आवास निर्माणको लागि ‘बुद्धमाया विश्वकर्मा राहत अभियान’ समिति गठन भएको छ ।

विहिबारदेखि बुद्धमाया विश्वकर्माको मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले उपचार सुरु गरेसँगै दलित अधिकारकर्मी र पत्रकार सम्मिलित पुर्नस्थापना गराउन र आवास निर्माणको लागि बुद्धमाया विश्वकर्मा राहत अभियान समिति गठन भएको हो ।

बुद्धमायाले विष खाएर बेहोस भएपछि उपचारका लागि बर्दिबास चोकस्थित शुभस्वस्तिक अस्पतालमा राखिएको थियो । तर उहाँको उपचारमा सुधार नभए पछि काठमाडौ बसुन्धारा स्थित ग्रिन सिटी अस्पतालले निशुल्क उपचार गरेको थियो । बुद्धमाया विश्वकर्माको मुटुमा समस्या देखिएपछि गंगालाल हृदयरोग केन्द्रका मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले निशुल्क उपचार गर्ने घोषणा गर्नुभएको थियो ।

अदालतबाट न्याय पाए पनि सामाजिक डर, त्रास र धम्कीपछि विष सेवन गरी आत्महत्याको प्रयास गर्नुभएकी बुद्धमायाको सामाजिक अन्तरघुलन अन्तर्गत समाजमा पुन पुर्नस्थापना गराउने गरी जीर्ण रहेको आवास निर्माण गर्ने गरी राहत अभियान गठन गरिएको छ । समितिले बुद्धमायाको आवास निर्माणमा देश विदेशमा बस्नुहुने सबैले सहयोग गर्ने समेत अपिल गरेको छ ।

मीन रहपालको संयोजकत्वमा गठन भएको समितिमा गणेश विके, दलमर्दन कामी, टेकबहादुर विक, राजु विक, रामलाल विश्वकर्मा राजवंशी, पत्रकार अशोक दर्नाल, विश्वास खड्काथोकी, र रुपबहादुर विश्वकर्मा रहनुभएको छ । यो समितिले राहत संकलन गर्ने र बुद्धमायाको आवास निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै, आवास निर्माणका लागि टेकबहादुर विश्वकर्माले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बुद्धमाया विश्वकर्मा बाँसले बारेको घरमा बस्दै आउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank