सामाजिक न्याय सहितको समृद्धि

दलित अनलाईन १३ श्रावण २०७५, आईतवार १८:३९

प्राप्त उपलब्धीको कार्यान्वयन गरौं:  मन्त्री बराल

रुपन्देही-समाजमा पछाडि पारिएका दलित समुदायले सामाजिक न्याय नपाएसम्म समृद्धिको अभियान पूर्ण हुन नसक्ने टिप्पणी गरिएको छ । सरकारले समृद्धिको आधार आर्थिक उत्पादन र भौतिक पूर्वाधारलाई मात्रै मान्दै आएकाले अब सामाजिक न्याय सहितको समृद्धि आवश्यक रहेको बताइएको हो ।
डिग्निटि इनिसियटिभ र रेडियो जागरण बुटवलको आयोजनामा शनिबार प्रदेशस्तरीय छलफल कार्यक्रममा सहभागी मन्त्री सांसद तथा अधिकारकर्मीहरुले अब समृद्धिको अभियानमा सामाजिक न्यायलाई जोड्नुपर्ने बताएका छन । कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले दलित समुदायमाथि आर्थिक उत्पादनमा पहुँच नहुँदा अन्याय भएको बताउनुभयो ।
उहाँले समृद्धिको पहिलो शर्त आर्थिक समृद्धि नै हुने तर सामाजिक न्यायलाई पनि सँगसँगै लैजानुपर्ने बताउनुभयो । उहाँले संविधानमा भएका अधिकारको कार्यान्वयन नगरी थप मागको पछि नलाग्न समेत आग्रह गर्नुभयो । संविधानमा दलितहरुलाई एक पटकलाई जमिन उपलब्ध गराउने नीति राखिएकाले त्यसको कार्यान्वयन हुँदा धेरै समस्या हल हुने उहाँले तर्क गर्नुभयो । मन्त्री बरालले दलित भनेर विभेद गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले अब बाहुनलाई मात्रै गाली गरेर नहुने भन्दै उत्पीडित वर्गले राज्य र आन्तरिक रुपमा गर्ने संघर्षको रुपरेखा छुटाछुटै बनाउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले दलित, महिला, जनजातीलाई दिएको अधिकार कार्यान्वयन गर्न अधिकारकर्मीले जोड दिनुपर्ने बताउनुभयो । पूर्व सांसद विनोद पहाडीले दलितमाथि भएको थिचोमिचोलाई अब दलित जनप्रतिनिधिहरुले संसदमा आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले समृद्धिको नारा लगाउँदै गर्दा थिचोमिचोमा परेका समुदायलाई न्याय नदिइकन समृद्ध मूलूक बन्न नसक्ने बताउनुभयो ।


कार्यक्रममा अनुसन्धानकर्ता जेवी विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विभेद र विविधताका बिषयमा बहस हुन नसकेको बताउनुभयो । उहाँले समृद्धिलाई अर्थशास्त्रीय रुपमा मात्रै बुझने गरिएकाले अवसर र अधिकारबाट पछाडि परेको वर्गलाई सामाजिक न्याय नदिइकन समृद्धि हासिल हुन नसक्ने धारणा राख्नुभयो । उहाँले सामाजिक न्याय सहितको समृद्धि हुन नसके त्यसले कुनै अर्थ नराख्ने बताउनुभयो । प्रदेश नम्बर ५ का सांसद आशा स्वर्णकारले आफ्नो हक र अधिकार सुनिश्चित गर्ने ठाउँमा पुगेकाले यसको कार्यान्वयन गर्ने बतायनुभयो । उहाँले आफूहरु पनि विभेदमा परेर प्रदेश सांसद भएको भन्दै अब विभेद गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद कमलादेवी विश्वकर्माले सामाजिक न्याय सहितको समृद्धिको बहस सबैको बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले दलित समुदाय अवसर र अधिकारबाट पछाडि पारिएकाले समृद्धिका लागि दलितको जीवनमा परिवर्तन आउनुपर्ने बताउनुभयो । अर्की सांसद दीपा विश्वकर्माले सामाजिक रुपमा विभेदमा परेका दलितहरुलाई समृद्धिको यात्रामा लैजान जरुरी रहेको बताउनुभयो । उहाँले दलित समुदायको अधिकार स्थापित गर्नका लागि आफू तयार रहेको बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सुरेन्द्र श्री विश्वकर्मा, डिग्निटी इनिसियटिभका अध्यक्ष ख्याम विश्वकर्मा,दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष पदम विश्वकर्मा, दलित मुक्ति मोर्चाका ओम बहादुर विश्वकर्मा, सिताराम रसाईली , रीमा विसि, रिता सेन, पत्रकार विनोद परियार लगायतले बोल्नुभएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank