१ वर्षमा ७ सय ७७ जनाको मृत्यु, हालसम्म ६ हजार बढीले गुमाए ज्यान

दलित अनलाईन १३ असार २०७५, बुधबार १२:३४

काठमाडौं – चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका ७ सय ७७ जना कामदारको मृत्यु भएको छ । हालसम्म ६ हजार ६ सय ५९ जना नेपाली कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले चालू आर्थिक वर्षमा ७ सय ७७ जनाको मृत्यु भएको जानकारी गराएका हुन् । ‘६ हजार ६ सय ५९ जना श्रमिकले विदेशी भूमिमा सुन्दर जीवन गुमाएका छन्,’ उनले संसदमा भने ।

मन्त्री विष्टले स्वदेशमा रोजगारीका अवसर नहुँदा ४३ लाख श्रमशक्ति विदेश जान बाध्य भइरहेको बताए । ‘७ वर्षदेखि गन्तव्य मुलुकका अस्पतालमा २३ जना श्रमिक कोमामा रहेका छन्, ३ सय ३५ जना विभिन्न मुद्दामा जेल र हिरासतमा जीवन बिताइरहेका छन्,’ मन्त्री विष्टले भने ।

विदेशी जेलमा रहेका नेपाली कामदारको प्रतिरक्षाका लागि १० दिनभित्र प्रक्रिया अगाडि बढाइने उनले प्रतिवद्धता जनाए । ‘प्रत्येक दिन कम्तिमा १ हजार युवा विदेशिन विवश छन्, हरेक वर्ष वैदेशिक रोजगारीका नाममा आफूलाई अपाङ्ग बनाएर फर्किन विवश छन् । दर्दनाक अवस्था देखापरिरहेको छ,’ मन्त्री विष्टले भने, ‘वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न जस्तोसुकै कदम चाल्न बाध्य छु ।’

वैदेशिक रोजगारीमा हुने गरेको ठगी अन्त्यका लागि सरकारले काम गरिरहेको बताए । ‘चालू आर्थिक वर्षमा ११ हजार ९३ जनाले ठगिएको उजुरी दिएका थिए । ७ हजार ७ सय ४८ फस्यौट भइसकेको छ र ३ हजार ३ सय ४५ बाँकी छ,’ उनले भने ।

वैदेशिक रोजगारीमा गएका युवा नठगिउन् भनेर कुटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, मेनपावर कम्पनी र इन्स्योरेन्स कम्पनी तथा पासपोर्ट र अध्यागमनलाई एउटै अनलाइनमार्फत् काम गर्ने गरी गृहकार्य भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank