चीनका राष्ट्रपतिको नेपाल भ्रमण उपयुक्त समयमा : प्रधानमन्त्री ओली

दलित अनलाईन १० असार २०७५, आईतवार १५:४७

काठमाडौं, १० असार– प्रधानमन्न्त्री केपी शर्मा ओलीले चीन राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण उपयुक्त समयमा हुने बताउनुभएको छ ।

चीनको छदिने औपचारिक भ्रमण सकेर फर्कनुभएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्र्मीसँग राष्ट्रपति सीको भ्रमण हुनेमा आफु विश्वस्त रहेको बताउनुभएको हो ।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण उपयुक्त समयमा हुन्छ । उहाँले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुन्छ भन्ने विश्वास मैले लिएको छु’ उहाँले भन्नुभयो । राष्ट्रपति सीसँगको वार्तामा नेपाल भ्रमणका लागि आफूले आग्रह गरेको र त्यसलाई उहाँले स्वीकार गरेको प्रधानमन्त्री बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चिनियाँ रेललाई नेपाल जोड्ने दृष्टिकोण राष्ट्रपति सीको रहेको बताउनुभयो । ‘उहाँले भेटवार्ताका क्रममा चिनियाँ रेल नेपाल पुर्याउने आफ्नो भिजन रहेको बताउनुभयो । चेयरमेन माओले समेत यो भन्नुभएको थियो भन्ने उल्लेख गर्नुभयो’ प्रधानमन्त्रीले भन्नुभयो ।

नेपालले कुनै छिमेकीबिरुद्ध कार्ड नखेल्ने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । ‘नेपालले कुनै कार्ड खेल्दैन । एउटा छिमेकी बिरुद्ध अर्को छिमेकीको कार्ड खेल्दैन । नेपाल एकछिनका लागि होइन, संधैका लागि सन्तुलित सम्वन्ध राखेर अघि बढ्छ’ प्रधानमन्त्रीले भन्नुभयो,‘हाम्रा छिमेकीहरुका बीचमा सहकार्य र सुसम्वन्ध बिकास होस् भन्ने हामी चाहान्छौं । हामी इमान्दारीकासाथ अन्तराष्ट्रिय सम्बन्ध संचालन गर्छौं । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank