दलित आन्दोलनकाे कछुवा गति

विद्या मण्डल २३ असार २०७७, मंगलवार १०:४३

भारतीय उपमहाद्धिप आजको भारतमा ऋग्वेदकालतिर वर्ण व्यवस्थाको आधारमा समाजमा बसोबास गर्ने व्यक्तिहरुलाई छुत र अछुत जातिमा विभाजन गरि सामाजिक विभेद र छुवाछुतको शुरुवात भएको पाईन्छ । भारतभरि यो घृणित प्रथा व्यापक रुपमा फैलिदै गयो, यसै क्रममा विशेषगरि भारतबाट आर्य मुलका लिच्छवि र वर्ण व्यवस्थाको सर्वोच्च शिखरमा राखिएका जाति भित्रको केहि मान्छेहरु नेपाल भित्रिएपछि उनीहरुले आफुसँगै जातीय विभेद र छुवाछुत प्रथा नेपालमा भित्रयाएका थिए । तत्पश्चात नेपालका मध्यकालिन शासकहरु मध्ये जयस्थिति मल्लले केहि भारतिय ब्राह्मण र केहि मैथली ब्राह्मणहरुलाई काठमाडौंमा झिकाएर कठौर मनुस्मृति ग्रन्थको आधारमा नेपाली समाजलाई पुनः वर्गिकरण गर्ने क्रममा जातपात, छुवाछुत प्रथा र सामाजिक असमानतालाई झन शसक्त बनाउँने कार्य गरि दण्ड र जरिवानाको समेत प्रावधान राखी सामाजिक, आर्थिक लगायत जीवनको सम्रग क्षेत्रमा दलित समुदायमाथि चरम विभेदको शुरुवात भई हालसम्म पनि जातीय विभेदको मारमा दलित समुदाय जीवन यापन गरिरहेको छ ।
नेपालमा जातीय विभेद र छुवाछुत विरुद्ध दलित समुदायबाट बेला बखत विरोधका आवाज नउठेका भने होइनन तर त्यो आवाजहरुलाई शासकहरुले यो वा त्यो पद्धतिबाट दबाउँदै लगेको लामो इतिहास छ । वर्ण व्यवस्थामा आधारित जातीय विभेद र छुवाछुत प्रथा सहित सामाजिक असमानताको विरुद्ध नेपालमा गरिएका आन्दोलनको इतिहासलाई खोतल्दै जाँदा सबै भन्दा जेठो आन्दोलनको रुपमा दलित आन्दोलन नै रहेको पाईन्छ ।
जहाँनिया राणा शासनकालमै वि.स. १९९७ देखि बाग्लुङ्गका भगत सर्वजितद्धारा शुरु गरेको छुवाछुत विरोधी जनै अभियान लाई वि.स. २००३ सालमा उनकै नेतृत्वमा संगठित रुपले विश्व सर्वजन संघ स्थापना गरि उहाँद्धारा दलित आन्दोलनको लागि सांगठनिक जगको विर्जारोपण गर्ने कार्य भएको थियो । काठमाडौंका सहर्षनाथ कपालीको अध्यक्षतामा वि.स. २००४ सालमा टेलर युनियनको स्थापना भयो, त्यस पछि धरानमा सोहि साल जदुवीर रसाइलीको नेतृत्वमा निम्न समाज सुधार संघ नामक संगठन खोलियो । सप्तरीका पुहुपलाल खंगको सभापतित्वमा खत्वे जातिले डोलि बोक्ने प्रथाको अन्त्य र कथित उच्च जातिद्धारा गर्दै आएको विभेद विरुद्ध खत्वे कुल महासभाको गठन भएको थियो । सप्तरीकै ललापट्टि निवासी सोमनदास हरिजन लगायत केहि क्रान्तिकारी युवाले अछुत भनिएका चमार समुदायमाथि गरिरहेको विभेदका विरुद्ध संघर्ष र सिनो खाने प्रथाको अन्त्य गर्न वि.स.२००९ सालमा सोमनदास हरिजनको अध्यक्षतामा नेपाल हरिजन सुधार संघको स्थापना भएको थियो । वि.स.२०११ सालमा समाज सुधार संघको अगुवाईमा पशुपतिनाथ मन्दिर प्रवेशको लागि पशुपति संघर्ष समीतिको गठन गरि सहर्षनाथ कपालीको नेतृत्वमा हजारौं दलितहरुको सहभागितामा पशुपतिनाथ मन्दिर प्रवेशको आन्दोलन भयो र सो आन्दोलनले तात्कालिन सरकारलाई घुडा टेकाई पशुपतिनाथ मन्दिरको ढोकामा अछुत लाई प्रवेश निषेध लेखिएको बोर्ड हटाउँन बाध्य बनाएको थियो । वि.स. २०१२ सालमा मिठाईदेवी विश्वकर्माको नेतृत्वमा दलित महिलाको हकहितमा काम गर्ने उद्देश्यले परिगणित नारी संघको स्थापना भयो भने वि.स.२०१४ साल तिर नेपाल राष्ट्रिय परिगणित परिषद्को गठन भएको थियो ।
वि.स.१९९७ देखि २०२३ सम्म दलित आन्दोलनको मुख्य नारा र उद्देश्य छुवाछुतको विरोध गर्नु नै रहेको थियो । वि.स.२०२४ सालमा विभिन्न नामले दलित अगुवाहरुद्धारा खोलएका केहि संघ, संगठन बीच एकता भई राष्ट्रिय दलित जनविकास परिषद्को स्थापना भयो भने वि.स. २०२९ सालमा सो परिषद्को राष्ट्रिय दलित सम्मेलनपमार्फत नेपालमा पहिलोपटक आधिकारिक रुपमा दलित समुदायको लागि आरक्षणको माग अघि बढाएको तथ्य पाईन्छ । आरक्षण मागको आधारभुमि भारतीय दलित आन्दोलनका मसिहा बाबा साहब डा. भिमराब अम्बेडकरको नेपाल भ्रमण बन्न पुगेको थियो । यसैविच नेपालको अन्य जिल्लाहरुमा पनि दलित समुदायको हकहितमा काम गर्ने उद्देश्यले तात्कालिन दलित अगुवाहरु संघ, संगठन खोल्ने, फुटाउँने र एकता गरी पुनः संगठन स्थापना गर्ने प्रयासहरु गरिने रहेका थिए । वि.स.२०३७ सालपछि पछौट जाति सुधार संघ, पिछडिएको संघ, निराधार सेवा समिति, नेपाल अति पिछडिएको जन विकास परिषद र नेपाल राष्ट्रिय समाज कल्याण संघ साथै तराई मधेशमा मधेशी दलित अगुवाहरुद्धारा स्वजातिय खत्वे समाज, चमार समाज, पासवान समाज, तत्मा समाज लगायत स्वजातिय समुहहरु गठन गरेको पाईन्छ तर दलित मुक्तिका लागि पञ्चायत कालमा स्थापना भएका अधिकांश दतिल संघ, संगटनहरु बिच आन्तरिक द्धन्द र पदलोलुप्ताका कारण दलित आन्दोलन शसक्त रुपमा अगाडि बढेको पाईदैन । तर केहि सचेत मधेशी र पहाडी दलितका अगुवाहरु नेपालमा बहुदलीय व्यवस्था जबसम्म आउँदैन तबसम्म दलित माथिको विभेद हट्दैन भन्दै दलित आन्दोलनलाई पञ्चायत विरोधी आन्दोलनमा केन्द्रित गदै २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागि भएको थियो । २०४६ सालको प्रथम जनआन्दोलन सफल भएपछि दलित अगुवाहरु बिच संघ, संगठन खोल्ने हौंडबाजी नै चलेको थियो । वामपन्थी विचार धारका दलित अगुवाहरु एउटा कित्तामा उभिए भने प्रजातान्त्रि विचारमा आस्था राख्ने दलित अगुवाहरु अर्को कित्तामा उभिएर तात्कालिन राजनैतिक दलहरुको दलित भातृ संस्थामा रहँदै दलितको नाममा अवसरहरुको उपयोग गर्दै दलित आन्दोलन र मुक्ति भन्दा धेरै राजनैतिक पार्टी र तिनका नेताहरुको सेवामा दिनचर्या बिताउँन जोड दिन थाले, भने गैरसरकारी संस्थाको रुपमा दर्ता भएको दलित संघ, संगठनहरु त्यतिबेला देखि नै अधिकारमुखि आन्दोलन भन्दा परियोजनामुखि हुन गएको देखिन्छ ।

दलित मुक्तिका मसिहा भारतका बाबा साहब डा. भिमराव अम्बेडकर, मान्यवर कांशीराम एंव मायावतीको छाप नेपालको मधेशी दलितहरुको ठुलो जमातमा पर्दै गएको देखिन्छ , भने अर्को तिर पहाडी दलितहरुमा यस्तो मानसिकताको विकास भएको देखिदैन, उनीहरुको ठुलो जमात गैरदलित नेतृत्वकै पार्टीमै बसेर दलित आन्दोलनमा रहेकोे पाइन्छ ।

वि.स. २०५२ सालदेखि माओवादीद्धारा थालनी गरिएको दशवर्षे सशस्त्र जनयुद्धमा पनि दलित समुदायको उल्लेखनिय सहभागिता रहेको थियो । वि.स. २०५३ सालमा गोल्छे सार्कीले “नेपाल श्रमिक मोर्चा” नामक राजनीतिक दलको दर्ता गराएर संसदीय चुनाब समेत लडाएका थिए । वि.स. २०५३ सालमै सिरहामा नागेन्द्र पासवानको अध्यक्षतामा मधेशी दलित उत्थान समाजको स्थापना गरियो, सोहि साल सप्तरीमा महन्थी रामको संयोजकत्वमा राम समाज कल्याण संघ स्थापना, वि.स.२०५६ सालमा रामेश्वर अध्यक्षतामा खत्वे कुल महासभा समीति लगायत देशैभरि सयौंको सख्यामा दलित हकहितका लागि संस्थाहरु स्थापना भएको थियो । वि.स. २०५६ सालको चैत्र मसान्ततिर सप्तरीका बलदेब राम र सिरहाका विश्वेन्द्र पासवान लगायतका दलित अगुवाहरुको भेलाबाट अब उप्रान्त चमारले सिनो नउठाउँने, डोमले भोज भतेरको जुठो नखाने, मृत्तकको शरीरको लुगा नलागउँने र दलितहरुभित्र रहेको आन्तरिक कुरीतिलाई त्याग्ने निर्णय गरेर केहि दिनभित्रै लहानमा सिनो बहिष्कार संघर्ष समिति गठन गरेको थियो । सो संघर्ष समितिद्धारा दलितहरुलाई सामाजिक परम्पराका नाममा चलिआएको कुसंस्कार विरुद्ध एकजुट गराई जस्तोसुकै सफलता पनि पाउँन सकिन्छ भनेर सिरहा र सप्तरीमा व्यापक सामाजिक आन्दोलनको थालनी गरियो । लहान बाट शुरु भएको सिनो बहिष्कार आन्दोलन केहि वर्ष भित्रै सफल भएपछि दलित आन्दोलनले थप एक किसिमको अन्तराष्ट्रियस्तरको हाईट प्राप्त गर्न सफल भएको थियो । सिनो बहिष्कार आन्दोलनबाट प्राप्त शक्तिलाई राजनीतिक रुपमा अगाडि बढाउँन सो आन्दोलनका आन्दोलनकर्मी विश्वेन्द्र पासवानको अध्यक्षतामा वि.स. २०५९ सालमा दलित जनजाति पार्टीको स्थापना भयो, जसको नाम अहिले परिर्माजन गरि बहुजन शक्ति पार्टी राखिएको छ । दलित आन्दोलनका अगुवा र आम दलित समुदायहरुद्धारा दलितको पनि प्रमुख सत्रुको रुपमा रहेको निंरकुश राजतन्त्रको अन्त्य र लौकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाका लागि ऐतिहासिक दोस्रो जनआन्दोलन २०६२/६३ मा बढचढका साथ भाग लिएको थियो । ०६२/६३ को जनआन्दोलनको सफलता पछि बनाएको अन्तरिम संविधान–२०६३ मार्फत दलित आन्दोलनको अधिकांस माग सम्बोधन भएको तापनि दलित अगुवाहरु राजनीतिक रुपमा एकै ठाँउमा उभिन सकैन । दलित आन्दोलनका अगुवा र आम दलित समुदायहरु प्रथम संविधान सभा २०६४ र दोस्रो संविधान सभा २०७० मार्फत नेपालको नयाँ संविधान बन्ने प्रक्रियमा जोरबलका साथ एक्ला एक्लै र संयmुत रुपमा नेपालको संविधान २०७२ मा दलित आन्दोलनका अधिकांस मागलाई संवैधानिक रुपमै लिपिबद्ध गराएको छ । उल्लेखित बाहेकका पनि दलित संघ, संगठनहरुको दलित मुक्ति आन्दोलनलाई अगाडि बढाँउनमा योग्दान रहेको छ । यसरी २००७ सालको जहाँनिया शासन विरुद्धको परिवर्तन, २०४६ को प्रथम जनआन्दोलन, दशवर्षे जनयुद्ध, २०६२/६३ को दोस्रो जनआन्दोलन, मधेश आन्दोलन लगायत ठुलठुल्ला राजनीतिक विद्रोह तथा आन्दोलनहरुमा दलितहरुको निर्णायक भुमिका रहेको थियो । यस अवधीमा दलित समुदायको लागि धेरै ऐन, कानुन र संविधानमा समेत हक, अधिकार प्राप्त भएता पनि कार्यान्वयन गराउँनका निम्ति दलित आन्दोलन कछुवाको गतिमा हिडिरहेको छ ।
नेपालको दलित आन्दोलनबाट प्राप्त ऐतिहासिक उपलब्धिहरु हुँदाहुँदै पनि दलित समुदायमाथिको अन्याय, अत्याचार, शोषण, दमन हत्याहिंसा, जातीय विभेद र छुवाछुतप्रथा कायमै छ । जातीय भेदभाव तथा छुवाछुतकै कारण दलितहरुको हत्या अहिले पनि रोकिएको छैन झन बढ्दै गएको छ । गत जेठमैे जातीय विभेदको कारण रुकुममा नवराज बि.क लगायत छ जना साथीहरुको हत्या, रुपन्देहिमा १३ वर्षिय बालिका अंगिरा पासी, धनुषामा शम्भु सदा र राजु सदा, सप्तरीमा मलरा सदलाई मारिएको छ । मधेशी दलित र पहाडी दलित बीच असमानताको प्रत्यक्ष प्रभाव दलित आन्दोलनमा पनि देखिने गरेको छ । राजनीति र गैरसरकारी क्षेत्रमा पहाडी दलितहरुको बर्चश्व रहेकोले मधेशी दलितमाथि विभेद हुँदा पनि नसुने झै गर्ने प्रवृति यथावत नै रहेको बुटवल बाहेक काठमाडौ लगायत पहाडी दलित बाहुल्य क्षेत्रमा चलिरहेको दलित न्याय आन्दोलनको शुरुवाती दिनहरुमा देखिएका थिए । मधेशी दलितका केहि युवायुवतीको समेत सहभागितामा संयुक्त दलिय युवा संघर्ष समितिले गत असार ३ गते काठमाडौमा समग्र दलितको न्यायको लागि प्रर्दशन गरेका थिए भने संयुक्त राजनीतिक दलित संघर्ष समीति, काठमाडौंद्धारा गरिएको पहिलो चरणको आन्दोलनमा मधेशी दलितहरु अंगिरा पासी र शम्भु सदाको न्याय मुद्दा प्राथमिकताका साथ उठाएको देखिएन । सो समीतिद्धारा बल्ल गत असार ५ गते बाट दोस्रो चरणको आन्दोलनमा जातीय विभेदका कारण ज्याँन गुमाएका मधेशी दलितहरुको तस्विर र मुद्दा समावेस गरि शसक्त रुपमा सम्रग दलितको लागि संघर्ष गरिरहेको देखिन्छ । तर वर्तमान समयमा तराई मधेशतिर राजनीतिक रुपले मधेशी दलितहरु अहिलै धेरै नै जागरुक भएको असार १८ गते जनकपुरमा जनआन्दोलनको झझल्को दिने गरि गरिएको विशाल जनदबाब र्यालीबाट पुष्ठि भएको छ । दलित मुक्तिका मसिहा भारतका बाबा साहब डा. भिमराव अम्बेडकर, मान्यवर कांशीराम एंव मायावतीको छाप नेपालको मधेशी दलितहरुको ठुलो जमातमा पर्दै गएको देखिन्छ , भने अर्को तिर पहाडी दलितहरुमा यस्तो मानसिकताको विकास भएको देखिदैन, उनीहरुको ठुलो जमात गैरदलित नेतृत्वकै पार्टीमै बसेर दलित आन्दोलनमा रहेकोे पाइन्छ ।
अहिलेको अधिकांस नयाँ दलित युवा पुस्ता दलित समुदायका सवालहरुलाई बुझने, आम रुपमा समुदायको हितमा लाग्ने भन्दा पनि सस्तो लोकप्रियताको लागि सामाजिक सञ्जालहरुमा मात्रै रमाउने र संघर्षको मैदानमा नआउने गरेको देखिन्छ भने सरकार सर्मथित दलित अगुवाहरु दलित आन्दोलनलाई एकिकृत गर्ने भन्दा पनि विस्थापित गरेर आन्दोलनलाई नै विभाजित गर्न तल्लीन रहेको छ । दलित मुक्ति आन्दोलन इतिहास देखिनै विभाजित रुपमा अघि बढदै गएको पाइन्छ । यसर्थ अब सिंगो दलित समुदायहरु एक ढिक्का बन्दै अहिले सम्म दलित आन्दोलनद्धारा प्राप्त हक, अधिकारको प्रभावकारी कार्यान्वन र थप उपलब्धीहरु हासिल गर्न साथै दलित समुदायमाथि पछिल्ला दिनहरुमा जातीय विभेदकै कारण बढदै गईरहेको अन्याय, अत्याचार र हत्याहिंसा विरुद्ध कुनै प्रकारको आग्रह र पूर्वाग्रह नराखि पार्टी र संघसंस्थाको परियोजनामुखि व्यवहार भन्दा माथि उठेर एउटै झण्डा मुनि आबद्ध भई दबाबमूलक खबरदारी शसक्त रुपमा अगाडि बढाउँनु आजको आवश्यकता छ ।

(लेखक मधेशी दलित महिला अभियन्ता हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank