योङ ग्लोबल लिडर प्रदीप

राज सरगम १ चैत्र २०७६, शनिबार १०:५७

प्रदीप परियार (३९)लाई  स्विट्जरल्यान्डको डाभोसस्थित ‘वर्ल्ड इकोनोमिक फोरम’ले पाँच–पाँच वर्षमा दिँदै आएको ‘योङ ग्लोबल लिडर्स (वाइजिएल)–२०२०’ अवार्डबाट सम्मानित गरेको छ । युवा शसक्तिकरण, दलित र सीमान्तकृत समुदायमा उनले पुर्‍याएको योगदानको कदर गर्दै सो अवार्ड दिइएको हो । सामाजिक काममा क्रियाशील दलित युवा सम्मानित हुनु नेपालकै लागि गौरवको विषय हो भने दलित समुदायका लागि प्रेरणा । यही प्रेरणाका स्रोत बन्न सफल परियारले जीवनमा निकै दुःख गरे ।

दुःखका दिन
प्रदीप सिन्धुलीमा नौ कक्षा पढ्दै थिए । चुनावको सिलसिलामा काठमाडौंबाट नेताहरू पुगे । त्यही समय दलित नेता गोल्छे सार्की पनि सिन्धुली पुगेका थिए । त्यो समय मदन भण्डारीको भाषण र गोल्छे सार्कीका भाषण सबैभन्दा बढी क्यासेटमा बिक्री हुन्थे । गोल्छे सार्की दलित बस्तीमा आफ्ना कुरा राख्न पुगेका थिए । दिनभरि कार्यक्रममा बोले । तर, गोल्छेले वास भने कुनै होटल तथा गैरदलितको घरमा पाएनन् । अन्ततः उनी दलितबस्तीभित्रकै परियार थरको घरमा बस्न पुगे । त्यो घर प्रदीपकै थियो । ‘गोल्छे सार्कीजस्तो नेताले गैरदलितको घरमा वास नपाउँदा मेरो मनमस्तिष्क नै हल्लिएको थियो,’ उनी किशोर अवस्थाका दिनहरू सम्झिन्छन् ।

पढ्न समस्या थिएन उनलाई । उनका बुबा हुलाकका कर्मचारी थिए । त्यसैले पनि उनी पत्रपत्रिका हेर्ने अवसर पाउँथे । नौ कक्षा पढ्दाताका उनी ट्युसन पढ्न जान्थे । तर, गैरदलित साथी भित्र र उनी बाहिर बसेर पढेका थिए । उनी भन्छन्, ‘झमझम पानी पर्दा पनि सरले भित्र आऊ भन्न सकेनन् । त्यसपछि कहिल्यै ट्युसन पढ्न गइनँ ।’

एलएलसी दिएसँगै उनी काठमाडौंमा संघर्ष गर्न थाले । प्लस टु पढ्दै गर्दा ०५७/५८ सालतिर दलित सेवा संघमा जागिरे भए । संस्थामा लागेर केही बोल्न र परिवर्तनमा लाग्न सकिन्छ कि भन्ने ह्याउ उनमा आएको थियो । उनी भन्छन्, ‘एक्लै बोल्न नसक्दा यस्ता संस्थाले बोल्ने अवसर दिने थाहा पाएँ ।’उनले रेडियो नेपालबाट प्रसारण हुने दलित जागरणमा काम गरे । यही कार्यक्रमले उनलाई विभिन्न जिल्ला घुम्ने अवसर दिलायो । र, विभिन्न सहभोजमा आफ्नो उपस्थिति देखाउँदै छुवाछुतविरुद्ध पैरवी गर्न थाले ।

‘डुमको रेडियो आयो भन्थे,’ अछाम बझाङको यात्राको क्रममा भोगेको छुवाछुत सुनाउँछन् उनी । सन् २००४ मा उनी अछाम बयलपाटा पुगे । त्यहाँ सहज वातावरण पाएनन् । एक खालको परिवर्तन तत्कालीन माओवादीको डरले भएको बताउँछन् परियार । केही समय अछाम–बझाङका गाउँको घुमाइ र काम गराइका अनभुवले उनमा फराकिलो सोचको विकास भयो । भन्छन्, ‘साँघुरोभन्दा फराकिलो सोचले काम गरौँ भन्ने लागेपछि म काठमाडौं फर्किएको थिएँ ।’ युवा जोसका साथ काम गरिरहेका प्रदीपले युवाकै लागि नयाँ काम गर्ने सोच आफ्नै मित्रमण्डलमा सुनाए । मित्रहरू सचिन अमात्य, अनुप विश्वकर्मा, जयराम कालिदास, दिनेश परियारले उनलाई सहयोग गर्ने वचन दिए । स्वंमको नेतृत्वमा ‘नेपाल युथ फोरम’ संस्था जन्माए ।

‘विभेद हुन्जेल शान्ति हुँदैन भन्ने सोचेर हिम्मत हारिनँ,’ आफ्ना सुरुवाती दिन सम्झिँदै भन्छन् उनी । सन् २००८ मा देशभरिको ‘नेपाल युवा संस्था सञ्जाल’मा बोर्ड सदस्य भएर काम गर्न थाले । युवामैत्री राजनीति र पार्टीका भ्रातृसंगठनमा होमिएका युवालाई राज्य र पार्टीले प्रयोग गरिरहेको थियो । त्यस्ता युवालाई कसरी जोगाउन सकिन्छ भन्ने योजना बनाए । २०१० मा ‘नेपाल युवा संस्था सञ्जाल’को अध्यक्ष भएर काम गर्न थाले । कसरी युवामैत्री बजेट ल्याउन सकिन्छ ? दुई वर्षको अवधिमा उनले सरकारसँग समन्वय गरे । युवा नीति बनाउने काममा पनि सरकारलाई सहयोग गरे । देशभरिका युवा संस्थालाई शान्ति निर्माणको तालिम दिन ५५ जिल्ला पुगे । र, हजारभन्दा बढी युवालाई तालिम दिए ।

युवाका लागि मात्रै काम गरेनन् उनले । देश भर्खर शान्तितिर फर्किँदै थियो । तर, विभिन्न माग राखेर बन्द, हडताल, जुलुसजस्ता क्रियाकलाप पनि भइरहन्थे । ‘पिस विल्डिङ’को कोर्स गर्न उनी अमेरिका पुगे । युवा, शान्ति निर्माण र समावेशिताका लागि काम गर्न पाए । 

२०११ मा ‘वल्र्ड बैंक’ र ‘आइएमएफ’ कन्जरभेटिभ संस्था थिए । यी संस्थामार्फत युवाको प्रतिनिधित्व गर्न सिभिल सोसाइटीको प्रतिनिधित्वस्वरूप १२ युवामध्ये एकजना उनी परे । यो अवसरमा कोरिया, जापान, थाइल्यान्ड, चाइना, बेल्जियमलगायत १८ देशमा पुगे । विश्वमा युवानीति कसरी बनिरहेको छ भन्नेबारे थाहा पाए । २०१३/०१४ मा मधेस आन्दोलन चलिरहेको थियो । मधेसी समुदायलाई कसरी मूलधारमा ल्याउने भन्ने विषय उठाए । यसैलाई केन्द्रमा राखेर ‘नेपाल नीति केन्द्र’ स्थापना गरे । र, यसको नेतृत्व उनैले गरे । यस संस्थामार्फत उनले संविधानमा समावेशिताको मुद्दालाई कसरी समेट्ने र मधेसको दृष्टिकोण कसरी राख्ने ? यस विषयमा खोज, अनुसन्धान र कार्यान्वयन गरे । भन्छन्, ‘यो काम चुनौतीपूर्ण थियो । तर, कोसिस गर्न छोडिएन ।’

यही कामको मूल्यांकन गरेर सन् २०१५ मा नेपाल सरकारअन्तर्गत युवा मन्त्रालयले एक लाखसहित ‘युथ लिडरसिप अवार्ड’ले सम्मानित गर्‍यो, प्रदीपलाई । ‘यो हौसला र विश्वासले पाँचजनाको टाक्स फोर्स बनाएँ र २०१५—२०२५ सम्मको युथ भिजन २०–२५ नौ महिना लगाएर राष्ट्रिय युवा नीति बनाएँ,’ उनले भने । उनले एसिया दलित फोरम राइट खोलेका छन् । एसियन पार्लियामेन्ट फोरम दलित कन्सर्नमा समेत काम गरिरहेका छन् । अहिले सातै प्रदेशमा दलित सशक्तीकरणजस्तो विधेयक ल्याउनुपर्छ भनेर वकालत गरिरहेका छन् ।

युवाका लागि मात्रै काम गरेनन् उनले । देश भर्खर शान्तितिर फर्किँदै थियो । तर, विभिन्न माग राखेर बन्द, हडताल, जुलुसजस्ता क्रियाकलाप पनि भइरहन्थे । ‘पिस विल्डिङ’को कोर्स गर्न उनी अमेरिका पुगे । युवा, शान्ति निर्माण र समावेशिताका लागि काम गर्न पाए । लामो समयदेखि युवा र शान्तिका लागि काम गर्दै आइरहेका प्रदीप अहिले सीमान्तकृत र दलित युवाका लागि पनि काम गर्दै आएका छन् ।

उनले पचासाैँ देश घुमिसके । विश्वमा कहीँ न कहीँ छुवाछुत देख्छन् । तर, दक्षिण एसियामा अन्य देशको तुलनामा बढी छुवाछुत भेटे, उनले । भन्छन्, ‘जातको आधारमा हुने विभेद दक्षिण एसियामा बढी छ । मानिस आफू  मात्रै पुग्दैनन्, पुरातन सोच र संस्कृति सँगै लिएर जान्छन् ।’ उनले थाहा पाए, वेस्ट इन्डिया, जापानको बुराकी समुदाय, सुविडेनको रोमा समुदाय, आइरल्यान्डमा जिप्सिजम समुदायलाई विभेद गरिँदो रहेछ । विभेद संसारभरि छ, तर दक्षिण एसियामा भने निकृष्ट विभेद छ । मान्छेले मान्छेलाई छुन नहुने विभेद दक्षिण एसियाको केही देशमा बढी देख्छन् प्रदीप ।

मानसिक रूपमा दलित युवा अहिले पनि पीडित छन् । स्वयं दलित समुदायका युवा भएर दलित सीमान्तकृत युवाका लागि किन पहल नगर्नु भएको भन्ने प्रश्नमा उनी मौन हुन्छन् । ‘कानुन कार्यान्वयन गर्ने कमर्चारीमै पुरातन सोच छ । यसो हुनुमा राज्यकै कमजोरी छ,’ उनी भन्छन् ।  सिंहदरबारको नेमप्लेट हेर्‍यो भने पनि थाहा हुन्छ । समान अवसर दिनुपर्छ भन्ने हो । अवसर बराबर छैन । थर लुकाएर हिँड्न पर्ने अवस्था अहिले पनि छ । प्रदीप स्वयंले काठमाडौं घट्टेकुलोमा १२ वर्ष मुस्लिमको घरमा डेरा गरेर बसे ।  ‘अहिले युवाहरू पलायन हुनुको कारण नेपालभित्र कामको सम्मान नहुनु पनि हो । खाडीमा उँट चराउन सक्नेले नेपालमा बुंगुर पाल्न सक्थे, तर आत्मसम्मान छैन,’ उनी भन्छन्, ‘दलितको मनोविज्ञान मात्रै नभएर गैरदलितको मनोविज्ञानमा पनि परिवर्तन आउन जरुरी छ ।’

(यो सामाग्री नयाँ पत्रिकाको झन नयाँ साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank