प्रहरीको जागिर छाडेर सगरमाथाको शिखरमा पुगेकी कुमारी ज्ञानमाला रणपालकाे संघर्ष

प्रकाश आचार्य १६ कार्तिक २०७६, शनिबार १८:४६

बुटवल – हिमाल आरोहण गर्न आँट, साहस र हिम्मत  चाहिन्छ । नेपालको पहिलो सगरमाथा आरोही पासाङ ल्यामु शेर्पा विश्वको सर्वोच्च शिखर चढ्दा कपिलवस्तुकी कुमारी ज्ञानमाला रणपाललाई पनि हिमाल चढने मोह थियो ।

साहसी र हक्की स्वभावकी उनलाई घरको पारिवारिक अवस्थाका कारण युवा अवस्थामा त्यो सोच पूरा गर्न सकिनन् । आर्थिक अवस्था घरको कमजोर नैं थियो । २०५६ सालमा एसएलसी उत्तीर्ण गरेकी थिइन् ।

बुटवलमा प्रहरीमा जागिर खुलेको कसैले उनलाई सुनाए । उनी बुटवल आइन् । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भर्तीको लागि प्रतिष्पर्धा गरिन् । उत्तीर्ण पनि भइन् । मुलुक द्वन्द्वमा थियो । चार वर्ष प्रहरीमा जागिर पनि गरिन् । त्यसपछि २०६० सालमा उनी प्रहरीको जागिर छाडेर बसिन् । सरकारी जागिर छाडेर सगरमाथा चढछु भन्दा उनलाई सबैले गाली गरे । त्यसलाई उनले नजरअन्दाज गरिन् ।

घरको आर्थिक अवस्थाले गर्दा पैसा पनि थिएन । त्यसपछि उनी इजरायल गइन् । त्यहाँ ९ वर्ष बिताइन् । उनले विदेश बस्दा कमाएको केही रकमले बुटवल र नवलपरासीको सुनवलमा केही धुर जग्गा पनि किनिन् । त्यसपछि उनी घर आइन् । बाबासँग सल्लाह गरिन् । म सगरमाथा चढेरै छाड्छु भनिन् । त्यो बाटो मृत्युको हो नजाउ भनेर धेरैले भने, उनले आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने हिम्मत गरिन् ।

उनलाई बाबाले भने हौसला दिए । तिमी सगरमाथा चढ भने ।

बाबाको साथ र हौसला पनि उनले बुटवल र सुनवलमा जुगाड गरेको जग्गा ४५ लाख रुपैयाँमा विक्री गरिन् । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ गोरूसिंगेकी ज्ञानमालाले २०७६ जेठ ९ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् । त्यो पनि पहिलो प्रयासमै । जेठ ९ गते बिहान १० बजेर १० मिनेट जाँदा उनको पाइला सगरमाथाको टुप्पोमा अडियो ।

उनले भनिन, ‘मैले सानैमा लिएको लक्ष्य पूरा गर्दा संसार जितेजस्तो लाग्यो । मैले सगरमाथा चढनको लागि झण्डै ४५ लाख रुपैयाँ खर्च गरे । म सँग पैसा भएर होइन । कमाएको सबै पैसा सके । आत्मसन्तुष्टिको लागि मैले हिमाल चढेको हुँ । त्यो पूरा गरे यसैमा म पूर्ण रुपमा सन्तुष्ट छु ।’

४५ वर्षिया ज्ञानमालाले भनिन्, ‘मैले कमाएको सबै पैसा सके ।  तर, मेलै जुन लक्ष्य सानैमा लिए । त्यो पूरा गरेरै छाडे । लक्ष्य लिएपछि मानिस त्यसमा निरन्तर लागेमा पूरा गर्न सकिन्छ भन्ने मैले पाठ पनि सिके ।’ ‘कोही १० वर्ष प्रयास गर्दा पनि सगरमाथाको शिखरमा पुग्न सकेका छैनन । तर म पहिलो प्रयासमै पुगे’ रन्पालले भनिन् ।

उनले हिमाल चढनको लागि १० लाख रुपैयाँको त कपडा मात्र किन्नुपरेको सुनाइन । त्यस्तै गाइडलाई सात लाख रुपैयाँ बुझाउनुपर्ने रहेछ । राज्यलाई ७५ हजार रुपैयाँ । उनले थपिन, ‘म प्रदेश नम्बर पाँचको पहिलो सगरमाथा आरोही हुँ भन्ने मेरो दावी छ । यस प्रदेशबाट अन्य कोही महिलाहरु सगमाथा चढेका छैनन् ।’

अहिलेसम्म सगरमाथा चढने महिलाहरु ४ सय भन्दा बढी पुगेका छन । २ वटा हिमालको सफल आरोहणपछि उनलाई लाग्यो साहसले काम गरेपछि सफलता अवश्य मिल्छ ।

उनले सगरमाथाको चुचुरोमा एक घण्टा बिताइन् । अनि त्यहाँ बाबाको फोटो फरफराइन् । बाबाको हौसला र साथले उनी सर्वोच्च शिखर पुगेकी थिइन् । ज्ञानमाला सगरमाथा चढनु अगाडि अन्य छ हजार मिटरका दुई वटा हिमाल आरोहण गरेकी थिइन् ।

उनीसँगै अन्य तीन जना चिनियाँहरु पनि सकुसल सगरमाथा चढे । सगरमाथा त चढिन ज्ञानमाला झर्ने कसरी भन्ने उनलाई सताउन थाल्यो । माइनस ४५ डिग्री तापक्रम । जाँदा राम्रो रहेको मौसम थोरै परिवर्तन भयो । बरफ झर्न थाल्यो । हावाको बेगले हिंड्न गाह्रो भइरहेको थियो । हिँउ र बरफ खसेपछि बाटो ढाकिँदै गयो । अन्दाजमा हिड्नुपर्ने बाध्यता भयो । गाइड विजयको सहयोगमा उनीहरु साँझको ६ बजे चौथो क्याम्पसम्म आइपुगे ।

राति ज्ञानमालाको आँखा दुख्न थाल्यो । आँखाले हेर्नै मिलेन । उनका गाइड विजयलाई अघिपछि पनि गइरहेको भएर उनको समस्याबारे थाहा भयो । उनलाई २४ घण्टासम्म आंखा नदेख्ने समस्या भएछ । बरफ र हिँउले आँखामा गरेको असरले रनपाललाई हेर्न नमिल्ने भयो । उनले काठमाडौं गएर उपचार गरेपछि उनको आँखा विस्तारै ठीक हुँदै गयो ।

अविवाहित ज्ञानमालाले विवाह गर्ने मन भए पनि फुर्सद नभएको हसिलो जवाफ दिइन् । उनी भन्छिन्, ‘अब म ट्रेकिङ गर्ने सोचमा छु ।’ हिमाली क्षेत्रमा पर्यटकहरुको गाडस गर्ने मनस्थिति रहेको बताइन् ।  आँट र साहस लिएर हिमाल चढे अन्य नेपाली महिलाहरु पनि हिमाल चढन सक्छन । असम्भव भन्ने केही छैन । उनले सुनाइन् ।

नेपाली अन्य धेरै महिलाहरु पनि सगरमाथा चढेका छन् । राज्यले नेपाली महिलाहरुलाई हिमाल चढदा सहुलियत दिनुपर्ने रन्पालको भनाइ छ । उनलाई राज्यबाट कुनै छुट नभएको पनि गुनासो गरिन् । नेपालीहरुलाई आफ्नै देशको शिखरमा पुग्दा केही भए पनि छुट दिनुपर्छ । सगरमाथा चढेपछि उनलाई गाउँमा बधाई र सम्मान दिने बढेका छन् । छोरी भएर पनि ज्ञानमाला जस्तो हुनुपर्छ भन्ने पनि थपिएका छन् ।

(याे  सामाग्री लाेकान्तर डटकमबाट साभार गरिएकाे हाे । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank