म उही अछुत मुसहरनी नै भएँ

राजेश विद्रोही २ कार्तिक २०७६, शनिबार १०:५२

मुसहर समुदायकी मालती सदा नर्स हुन् । तर, उनी विगत दुई वर्षदेखि बेरोजगार छिन् । शिक्षाको सिँढी उक्लेपछि पनि जातिको सिँढीमा उनी पिँधमै धकेलिइन् । निकै संघर्षपूर्ण यात्रापछि नर्स बनेकी उनी अझै सरकारी जागिरे बन्ने प्रयासमा छिन् । मुसहर महिलाले भोग्न बाध्य विभेद र संघर्षबारे उनले आफ्ना अनुभूति साटेकी छिन् :

म ०४२ सालमा सिरहाको मिर्चैया रामनगरमा जन्मिएँ । मेरो बाल्यकाल आमाबुबाको संरक्षण र डाक्टर उमेशनारायण झाको रेखदेखमा सामान्य तरिकाले नै बित्यो । मेरी आमा ८ वर्षको उमेरदेखि डाक्टर झाको घरमा बसेर घरेलु कामकाजमा सघाउँदै आउनुभएको थियो । त्यहाँ काम गर्दा गाउँलेहरूले ‘मुसहरनीले काम गरी’ भनेर गिज्याउँथे ।

जातीय रूपमा हामीलाई छुवाछूत गर्थे । डाक्टर उमेशनारायण झा भारतको दरभंगावासी हुनुहुन्थ्यो । उहाँले दरभंगाको एउटी मुस्लिम केटीसँग प्रेमविवाह गर्नुभएको थियो । हिन्दू मुस्लिमबीचको प्रेमविवाह समाजले त्यतिवेला पचाउन सक्दैन थियो । उहाँहरू भागेर मिर्चैया आउनुभएको थियो र पछि क्लिनिक खोल्नुभयो । डाक्टर झाको जेठी श्रीमती पनि हुनुहुन्थ्यो । जेठी पट्टीको छोराछोरी थियो । डाक्टर झाले बन्ध्याकरण गरेकाले मुस्लिम महिलाबाट कुनै सन्तान भएन । ०५६ सालमा डाक्टर झाको र ०६४ सालमा मुस्लिम महिलाको निधन भयो । उहाँहरू हाम्रो साहरा हुनुहुन्थ्यो ।

परिवारको असल मार्गनिर्देशक गुमाएकोमा हामी निकै दुःखी भयौँ । त्यसवेला आफ्नै बुबाआमाको निधन भएजस्तो लाग्यो । केही समय हाम्रो परिवार अभिभावकविहीन भयो । उहाँहरूको अभाव अहिले पनि खड्केको महसुस हुन्छ । उहाँहरू भइदिएको भए मेरो सपना यसरी बाटोमा लर्खराउने थिएन । आज मैले र हाम्रो परिवारले जुन दिन देख्नुपरेको छ सायद यो दिन देख्नुपर्ने थिएन ।

डाक्टर झाले महिलाको वेदना राम्रोसँग बुझ्नुहुन्थ्यो । त्यसैले उहाँले मेरी आमालाई आफ्नो घरमा काम सघाउन राख्नुभएको थियो । हामी चार भाइ–बहिनी डाक्टरकै घरमा हुर्किंयौ । आमाबुबा पनि त्यहीँ हुर्किनुभयो । किनभने मेरी आमा ६ वर्षको हुँदा नै हजुरबुबा र हजुरआमा बित्नुभएको थियो । मामामाइजूहरूले नै आमाको रेखदेख गर्दै हुनुहुन्थ्यो । त्यहीबीचमा डाक्टर झासँग मामाको कुराकानी भयो । त्यसपछि मेरी आमा डाक्टरकहाँ बस्दै आउनुभयो । पछि मात्र डाक्टरले नै मेरी आमालाई सिरहाको चोहर्वामा बुबा झंगरा सदासँग विवाह गरिदिनुभयो ।

हाम्रोे जग्गाजमिन थिएन । पूरै मुसहर बस्ती नै ऐलानी जग्गामा थियो । अहिले पनि ती बस्ती ऐलानीमै छन् । बुबाआमाले दिनभर अरूको खेतमा काम गरेपछि मात्र बिहान–बेलुकाको छाक टथ्र्यो । सधैँ गाउँमा रोजगार भेटिँदैनथ्यो । पछि आमाबुबा दुवैजना फेरि मिर्चैया डाक्टर झाको घरमा बस्न थाल्नुभयो । पारिवारिक संगत र डाक्टर साहेवको प्रेरणाका कारण मलाई नर्स बन्ने ठूलो रहर थियो । तर, एउटा अछुत भनिएको मुसहर दलित जातिमा जन्मेपछि यति ठूलो सपना कसरी पूरा गर्ने भने कुरा मनमा निकै खेल्थ्यो । जे होस् आँट र साहस गर्न कहिले छाडिनँ ।

कक्षा ६ मा पढ्दै गर्दा डाक्टर साहेवकै घरबाट २०५५ साल वैशाख ४ गते सिरहा खिरौनाको वीरेन्द्र सदासँग मेरो बिहे भयो । म सानै उमेरको थिएँ । सानै उमेरमा बच्चाको आमा पनि बनेँ । यता सँगसँगै पढाइ पनि निरन्तर जारी थियो । बडो दुःख झेलँे । मैले मिर्चैयाको मोहम माविबाट २०५९ सालमा प्रथम डिभिजनबाट एसएलसी पास गरे । त्यसपछि त्यहीँ कक्षा ११ मा भर्ना भएँ । विविध समस्याबीच कक्षा १२ पास गरेँ । आफ्ना बच्चाबच्चीलाई पनि हुर्काउँदै गएँ ।

कान्छो छोरा अंशु ९ महिना मात्रै टेकेको थियो । सरकारी कोटामा नर्स पढ्ने सौभाग्य मिल्यो । मेराअगाडि दुई प्रश्न ठडियो । पहिलो आफ्नो सन्तानको उचित रेखदेख पु-याएर असल आमाको कर्तव्य पूरा गरौँ कि सरकारले दिएको आरक्षण कोटामा नर्स पढ्ने ? ९ महिने अंशुलाई आमाको काखमा छाडेर स्टाफ नर्स पढ्न जनकपुर नर्सिङ क्याम्पसमा भर्ना भएँ ।

पढाइको सबै खर्च सरकारले नै व्यहो-यो । मासिक ३५०० सयको दरले मेरो खातामा खाजा खर्चको लागि छुट्टै पैसा पनि आउँथ्यो । यसरी सरकारले लेखपढमा मलाई सहयोग गरेको देखेर मेरा सहपाठीहरू ईष्र्या गर्थे । यता होस्टेलमा खाना खाने वेला ममाथि विभेद हुन्थ्यो । आरक्षण कोटामा परेका ४० जनाका लागि छुट्टै क्लासको व्यवस्था थियो । सरहरूले मनलाग्दी पढाउनुहुन्थ्यो ।

आरक्षणमा पढ्ने दलित विद्यार्थीलाई हेर्ने र पढाउने नजर नै फरक थियो । पटकपटक क्याम्पस प्रशासनमा कुरा राखे पनि सुनवाइ हुँदैनथ्यो । प्रशासनमा गुनासो राख्ने विद्यार्थीलाई क्याम्पसले दिने ५० प्रतिशत आन्तरिक मार्क काट्ने उल्टै धम्की दिइन्थ्यो । जसले गर्दा हामी प्रशासनमा गुनासो गर्न पनि डराउँथ्यौँ ।

मेरो सपना थियो जसरी पनि नर्स बन्ने । तर, कसरी ? म आत्तिन्थेँ वेलावेला । मेरो सपना पूरा हुन्छ कि हुन्न भनेर डराउँथेँ । तर, आँट कहिल्यै छाडिनँ । क्याम्पसमा जस्तै समस्या परे पनि पढ्न छाडिनँ । छोरीको सम्झनाले एकदमै सताउँथ्यो । बच्चालाई दूध चुसाउन नपाएर एकदमै छटपटी हुन्थ्यो । तर, जब मेरो बुबा मजदुरीको क्रममा २०६९ सालमा ट्याक्टर दुर्घटनामा बित्नुभयो ।

हामीले त्यसबापत कुनै क्षतिपूर्ति पाएनौँ । हाम्रा लागि बोलिदिने कोही पनि भएन । त्यसपछिका दिनहरू झन् दुखद हुन थाल्यो । यता पढाइको तनाव, उता सानी छोरी आमासँग । बुबा बित्नुभयो । निकै तनावका बीच दिनहरू बित्न थाल्यो । त्यसपछि २०७३ सालमा आमा पनि बित्नुभयो । त्यसपछिका दिनहरू झनै दुखद रह्यो ।

२०७० सालमा स्टाफ नर्स पास गरेँ । नर्स बन्ने सपना त पूरा भयो, तर मेरो सफलता कसलाई देखाउने ? आमाबुबा संसारबाट बिदा भइसक्नुभएको थियो । मिर्चैयाको एसकेजे पोलिक्लिनिकमा महिनाको ७ हजारमा काम गर्न थालेँ । त्यो क्लिनिकमा ९ महिना काम गरेँ । त्यहाँ काम गर्दै सरकारी जागिरे बन्न लोकसेवामा फारम भर्न कहिले दिक्तेल कहिले धनकुटा पुगेँ । तर, कतै नाम निकाल्न सकिनँ ।

सुरुमा हाकिम उत्साही नै थिए । जब म मुसहर समुदायको हुँ भन्ने थाहा भयो त्यसपछि हाकिमको अनुहार एकाएक बदलियो । उनको आँखामा मप्रति घृणा देखेँ । उनले मेरा लागि भनेर दाहिने खुट्टाले कुर्सी धकेलेर पर पु-याइदिए ।

२०७१ सालमा राष्ट्रिय योजना आयोगअन्तर्गत स्वास्थ्य स्वयम्सेवकका रूपमा काम गर्नेमा नाम निस्कियो । किनै खुसी भएँ । सानो जागिर भए पनि सरकारी जागिर पायौँ भनेर । नियुक्तिपत्र लिएर सप्तरीको राजविराज जिल्ला स्वास्थ्य कार्यालयमा पुगेँ । त्यहाँबाट अर्काे चिठी लिएर कल्याणपुर स्वास्थ चौकीमा पुगेँ ।

त्यहाँ आफ्नो परिचय दिएँ । सुरुमा नयाँ कर्मचारी आएकोमा हाकिम उत्साहित नै थिए । जब म मुसहर समुदायको हुँ भने थाहा भयो त्यसपछि हाकिमको अनुहार एकाएक बदलियो । उनको आँखामा मप्रति घृणा देखेँ । उनले मेरा लागि भनेर दाहिने खुट्टाले कुर्सी धकेलेर पर पु-याइदिए । जीवनमा यति मिहिनेत र संघर्ष गरेपछि समानता पाउँछु भने लागेको थियो । तर, अपमान भोगेँ । हामी निर्धन र पिछडिएको वर्गप्रति हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन आएन । हाकिमको छुवाछुत र हुकमी व्यवहारलाई सहेर काम गर्न थालेँ ।

त्यहाँ दुई वर्ष काम गरेँ । धेरै समस्या भोगेँ । बस्ने कोठासमेत सजिलै पाइनँ । परिवारबाट अलग भएर बस्दा नानीहरूको रेखदेखमा कमी हुने भयो । घरबाट कार्यालय पुग्न दैनिक २ सय यातायात खर्च लाग्थ्यो । महिनाको ६ हजार त यातायात खर्चमै जान्थ्यो । बाँकी ६ हजारबाट परिवार धान्न गा-यो भयो । स्थायी कर्मचारीको कामसमेत आफैँले गर्नुपथ्र्यो ।

निकै गाह्रो भएपछि मैले जागिर छाडिदिएँ । त्यसपछि निजी क्लिनिक र अस्पतालहरूमा रोजगारीका लागि धेरै धाएँ, तर आजसम्म कतै रोजगार मिलेको छैन । अहिले गृहिणी भएर आफ्नै बालबच्चाको पढाइलेखाइ र हेरविचारमा समय दिइरहेकी छु । कुनै दिन सरकारी जागिर खाएरै छाड्ने संकल्प पनि गरेकी छु ।

दलित जातिमा जन्मेपछि संघर्ष गर्नै पर्दोरहेछ । त्यसमाथि मुसहर दलित महिलाका लागि संघर्ष झनै गाह्रो छ । सोचेकी थिएँ, नर्स भएपछि ममाथि समाजले हेर्न दृष्टिकोण फेरिनेछ, तर जति नै पढे पनि म उही अछुत मुसहरनी नै भएँ । मेरो पनि सपना थियो सरकारी जागिरे भएर देश र जनताको सेवा गर्ने । तर, समाज मैले सोचेकोभन्दा फरक रहेछ ।

(यो सामाग्री नयाँ पत्रिकाको झन नयाँबाट साभार गरिएको हो)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank