पूर्वलडाकु निर्मला विककाे ८ वर्ष पछि उद्धार

दलित अनलाईन २५ जेष्ठ २०७६, शनिबार २०:०७

दिनेश सुवेदी 

 

रोल्पा – आठ वर्ष अघिदेखि बिरामीले थलिएकी त्रिवेणी–५ जुगार जबरबोटकी ३२ वर्षीया पूर्वलडाकु निर्मला विक ‘साधना’ले उपचार पाउने भएकी छिन्। उपचार खर्चको अभावमा साधना धेरै वर्षदेखि जीवन–मरणको दोसाँधमा थिइन्।  महिला तथा बालबालिका मन्त्रालयका सहसचिव वीरबहादुर राईसमेतको समन्वयमा मानव सेवा आश्रमका स्वंसेवकले उद्धार गरी साधनालाई उपचार तथा अन्य सहयोगका लागि बुटवल लगेका छन्। 

‘हिजो देशका लागि लडेकी मान्छे आज मृत्युसँग लडिरहेको खबर सञ्चारमाध्यममा आएपछि उनको दर्दनाक कथा र अवस्थाले हामीलाई सोच्न बाध्य बनायो,’ महिला तथा बालबालिका मन्त्रालयका सहसचिव वीरबहादुर राईले भने, ‘हामीले रोल्पास्थित स्थानिय प्रशासन, स्थानीय तह र मानव सेवा आश्रमसँग समन्वय गरेर रेस्क्यु गरेका छौं। उहाँलाई थप उपचार र अन्य आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ।’

निर्मलाको घर त्रिवेणी–५ जुगार जबरबोट पुगेका मानव सेवा आश्रमका स्वयंसेवकले उनलाई थप उपचार र पुनस्र्थापनाका लागि बिहीबार बुटवल लगेका हुन्। बसेकै ठाउँमा दिसा–पिसाब गर्ने, मानसिक रूपले विक्षिप्त निर्मलाको जलेको खुट्टा गन्हाउन थालेपछि उनलाई तीन वर्षयता बाख्राको खोरमा राख्न थालिएको थियो। घरबाट बाख्राको खोरमा सारिएपछि निर्मलाको दिनचर्या नारकीय बनेको थियो। माओवादी क्यान्टोन्मेन्टमै रहँदा पुर्वान विक ‘प्रभाकर’सँग उनको विवाह भएको थियो। अयोग्य लडाकुको सूचीमा परेका ‘प्रभाकर’ले निर्मला बिरामी भएपछि दोस्रो बिहे गरेका छन् र उनी कामको सिलसिलामा भारतमा बस्छन्।

मानव सेवा आश्रमले निर्मलालाई उपचारपछि परिवारमै पुनर्मिलन गराउने बताएको छ। ‘हामीले सडकमा रहेका, समस्यामा परेका, मानसिक समस्याले पीडित असाहयहरूलाई सेवा दिइरहेका छौं,’ आश्रमका सुमन बड्तौलाले भने, ‘२०८२ सम्म देशलाई सडक मानवमुक्त बनाउने उद्देश्यले हाम्रो अभियान चलिरहेको छ।’

त्रिवेणी गाउँपालिका प्रमुख शान्तकुमार वलीले पूर्वलडाकु निर्मलाको उद्धार भएकोमा खुसी व्यक्त गरेका छन्। ‘हाम्रो गाउँकी असाहय चेलीलाई मानव सेवा आश्रमका स्वयंसेवकले उपचारका लागि लगेका छन्,’ वलीले भने, ‘आशा छ उनी चाँडै निको भएर घर आउने छिन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank