ऋणमा डुब्दै मुक्त हलिया

भवानी भट्ट २३ फाल्गुन २०७५, बिहीबार ११:५४

भवानी भट्ट

कञ्चनपुर — मुक्त हलिया परिवारका रामी सार्की कञ्चनपुरको भीमदत्त नगरपालिका १ बारकुण्डामा घर बनाउँदै छन् । सरकारले पुनःस्थापना कार्यक्रम अन्तर्गत उपलब्ध गराएको आधा कट्ठा जमिनमा उनले मंसिरदेखि घर बनाऊन थालेका हुन् । हलिया मुक्तिसँगै ऋण मुत्त भएका उनी घर बनाउँदा फेरि ऋणमै डुब्ने भएका छन् ।

अहिले घरको पर्खालको काम सकेर जस्ता लगाउन बाँकी छ । पुनःस्थापना कार्यक्रमबाट घर बनाउन दिएको पहिलो किस्ता ९१ लाख ५७ हजार ५ सय० सकिएर डेढ लाख जति ऋण पनि निकालेका छन् । यसबाहेक निर्माण सामग्री र मिस्त्रीको ज्याला पनि तिर्न बाँकी छ । ‘दोस्रो किस्ताले घरको छानो हाल्न ठिक्क हुन्छ,’ रामी भन्छन्, ‘फेरि यो घरले ऋणमा डुबाउने भयो ।’ उनले गाउँका विभिन्न समूह र व्यक्तिहरूबाट ऋण लिएका छन् । उनले बरन्डासहितको ३ कोठे घर बनाउन लागेका छन् ।

बारकुण्डामै घर निर्माण गर्न लागेका डम्मर लुहारले पनि घर बनाउनकै लागि ६ लाख ऋण लिइसके । निर्माण कार्य भने अझै आधा हुन सकेको छैन । सरकारी मापदण्डअनुसार २ कोठे र बरन्डासहितको जस्ताको छाना भएको घर निर्माण गर्नुपर्ने भए पनि उनले पिलरसहितको तीनकोठे घर बनाउन थालेका छन् ।

‘घर निर्माणको काम आधा जति भएको छ, भूमिसुधार कार्यालयबाट दिएको एक किस्ता पनि सकिएर ६ लाख ऋण लिइसके,’ डम्मरले भने, ‘घर पूरा हुँदासम्म फेरि कति ऋण लाग्ने हो रु’ शुक्लाफांँटा नगरपालिका ५ झलारीमा २५ वर्ष हलियाको काम गरेका उनले मुक्तिपछि बारकुण्डामा घर बनाउन थालेका हुन् । बारकुण्डामा मुक्त हलिया पुनःस्थापना कार्यक्रम अन्तरगत (क) वर्गका ३० परिवारलाई जमिन खरिदसँगै घर निर्माणको काम भइरहेको छ । प्रत्येक परिवारलाई १० धुर जमिन वितरण गरे पनि फिल्डमा त्यो नभएको डम्मर बताउँछन् । ‘१० धुरमध्ये १ धुर बाटोका लागि भनेर काटिएको छ, तर वास्तविक जमिन त्यति छैन,’ उनले भने ।

‘सरकारले दिने २ लाख २५ हजारमा घर बनाउन असम्भव छ । कतिपयको ठूलो परिवार भएकाले सरकारी इस्टमेट अनुसार घर निर्माण गरे काम नलाग्ने अवस्था छ ।’

 

बारकुण्डामा ३ वर्षदेखि मुक्त हलिया परिवारले घर बनाउन सुरु गरेका हुन् । तर अहिले पनि रकम अभावका कारण निर्माण कार्य सकिएको छैन । सरकारले दिने २ लाख २५ हजारमा घर बनाउन नसकिने उनीहरू बताउँछन् । कतिपयले ठूलो परिवार भएकाले सरकारी इस्टमेटअनुसार घर निर्माण गरे काम नलाग्ने भन्दै ठूलो घर पनि बनाउन थालेका छन् । ‘मेरो ८ जनाको परिवार छ, २ कोठामा कसरी अटाउँछ रु’ डम्मरले भने, ‘जस्तापाताको छाना हालेर यस्तो गर्मीमा कसरी बस्नु, हावाहुरीले पनि उडाएर लैजान्छ ।’

हावाहुरीकै डरले बारकुण्डाका मुक्त हलिया परिवारले कर्जा लिएर भए पनि घरको छाना ढलान गरेका छन् । तर कतिपयले छानो हाल्न ठिक्क परेर पनि रकम अभावका कारण अधुरै छाडेका छन् । घर निर्माणका लागि पहिलो किस्ताबापत १ लाख ५७ हजार ५ सय पाएका छन् । दोस्रो किस्ता निर्माण सकिएपछि पाइने भएकाले पूरा नभएको उनीहरू बताउँछन् । निर्माण सामग्रीदेखि मिस्त्रीको ज्याला सबै उधारोमा काम भइरहेको उनीहरू बताउँछन् ।

बारकुण्डामा ३० परिवारलाई पुनःस्थापना गरिए पनि ७ परिवार फेरि विस्थापित भएका छन् । चुरेबाट आउने खहरे खोलामै जमिन दिएकाले उनीहरूले त्यहांँ घर नबनाएका हुन् । ‘बर्खामा ठूलै बाढी आउँछ, खहरे खोलाले धेरै जमिन कटान गरिसक्यो,’ खोला किनारमै घर भएका राजुराम दमाईले भने, ‘७ परिवार त यहांँ नआएर विस्थापित भए ।’ उनले पनि गाउँकै समूहबाट ३ लाख ऋण लिएर २ कोठा र बरान्डा सहितको घर बनाएका छन् । सिलाइ कटाइको काम गर्ने उनले हरेक महिना समूहमा १५ हजार किस्ता तिर्नुपरेको छ । परिवारको खर्च र किस्ता तिर्न निकै समस्या भएको उनले बताए ।

खोला किनार र जंगल छेउमा बसाइएका मुक्त हलियाले गाउँमा ज्याला मुजदुरीको काम नपाउँदा समेत समस्या भएको बताउँछन् । खेतीपातीका बेला काम पाइए पनि अन्य समय खाली बस्नुपरेको उनीहरू बताउँछन् । कतिपयले गाउँमै अधियांँ खेती गरेर पनि परिवारको गुजारा गरिरहेका छन् ।

कञ्चनपुरमा तिलकेनी, बारकुण्डा र बागफाँटा लगायत विभिन्न ठाउँमा मुक्त हलियाका लागि जमिन खरिदसँगै घर निर्माण गरिन लागेको हो । तर अधिकांश ठाउँमा खोला किनार र चुरे फेदीको बन्जड जमिनमा घर निर्माणका लागि जग्गा दिइएको छ । खोला किनारमा खरिद गरिएको जमिन कटान भएपछि कतिपय मुक्त हलिया फेरि विस्थापित हुन थालेका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका अनुसार प्रमाणीकरणमा परेका १ हजार ८ सय १० मुक्त कमैयामध्ये १ हजार ३ सय ९० लाई पुनःस्थापना गरिएको छ । कार्यालय प्रमुख धर्मानन्द भट्टका अनुसार हालसम्म २ सय ३९ परिवारलाई जग्गा खरिद र निर्माण तथा ४० परिवारलाई घर निर्माण र करिब १ हजार १ सयलाई घर मर्मतमा सहयोग गरिएको छ ।

घर र जग्गा दुवै नभएकालाई ‘क’, घर भएका तर जग्गा नभएकालाई ‘ख’, जग्गा भएका र घर नभएकालाई ‘ग’ र घर जग्गा दुवै भएकालाई ‘घ’ वर्गमा विभाजन गरी त्यहीअनुसार जमिन खरिद, घर निर्माण र मर्मतका लागि कार्यक्रम तय गरिएको छ ।

पुनःस्थापना कार्यक्रमअन्तर्गत २ लाख बराबरको जग्गा खरिद र २ लाख २५ हजार घर निर्माणका लागि उपलब्ध गराइएको उनले बताए । ‘तर यो बजेटबाट घर निर्माण तथा जग्गा खरिद गर्न सकिँदैन,’ भट्टले भने, ‘मुक्त हलियाहरू कर्जा लिएर घर बनाइरहेका छन् ।’ उनका अनुसार केही संघसंस्थाले पनि सहयोग गरेका छन् ।(यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank