काठमाडौं — रास्वपाका प्रकाशचन्द्र परियारले राज्य सञ्चालन भावनाले नभई विवेक, नीति, तथ्य र तर्कले निर्देशित हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै विपद्पछिको उद्धारमा देखाएको तदारुकता जस्तै पूर्वतयारी र नीतिगत कार्यान्वयनमा पनि उत्तिकै दृढता देखाउनुपर्ने बताए । उनले भने, ‘विपद्को घडीमा भावुक हुनु मानवीय स्वभाव हो, मेरो हार्दिक सहानुभूति छ। तर राज्य सञ्चालन भावनाले होइन, विवेक, नीति, तथ्य र तर्कले निर्देशित हुनुपर्छ।’

बेपत्ता नागरिकहरूको खोजबिन गरी स्थिति सार्वजनिक गर्न जटिल कार्य भएकाले वैज्ञानिक ढङ्गले अगाडि बढ्न सरकारलाई आग्रह गरे।
उनले भने, ‘महाविपत्तिको सामना र नागरिकको जीउधनको रक्षाका लागि सरकारले देखाएको सक्रियता र तदारुकताको म फेरि पनि मुक्तकण्ठले प्रशंसा गर्दछु। यसको प्रत्यक्ष मार हाम्रा हिमाली क्षेत्रमा परेको छ। हिउँ पग्लिएर हिमताल फुट्ने, पहिरो जाने र भोटेकोशी जस्ता नदीहरूमा आकस्मिक महाबाढी आउने जोखिम गुणात्मक रूपमा बढेको छ।’
विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान शून्यप्राय भएपनि ठूलो क्षति व्यहोर्नुपरेको बताए।
उनले भने, ‘यसको असन्तुलित र घातक मूल्य हाम्रा निर्दोष नागरिकहरूले ज्यान र सर्वस्व गुमाएर तिरिरहेका छन्। हामीले नगरेको अपराधको सजाय किन हाम्रा नागरिकले भोग्ने? त्यसैले अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा दया वा राहत माग्ने होइन, जलवायु न्याय र अधिकार माग्नैपर्छ। जसले धेरै कार्बन उत्सर्जनका रूपमा प्रदूषण फैलाए, उनीहरूले संयुक्त राष्ट्रसङ्घमार्फत क्षतिपूर्ति, अनुकूलन र हानि तथा क्षति कोषबाट उपलब्ध गराउनैपर्छ। यसका लागि सरकारले तत्काल ठोस र बलियो कूटनीतिक पहल गरोस्।’


























Leave a Reply