काठमाडौँ — नेपाल स्काउटमा नयाँ अन्तरिम कार्यसमिति गठन भएसँगै संगठनभित्र सुशासन, पारदर्शिता र प्रशासनिक सुधारप्रति नयाँ आशा पलाएको छ।
प्रमुख आयुक्त सन्तोष कुमार थापा नेतृत्वको अन्तरिम कार्यसमितिले गठन भएलगत्तै संगठनलाई विधिसम्मत, उत्तरदायी र गतिशील बनाउने उद्देश्यका साथ महत्वपूर्ण निर्णयहरू अघि बढाउन थालेको भन्दै स्काउट समुदायमा सकारात्मक चर्चा सुरु भएको छ।
हालै अन्तरिम कार्यसमितिले प्रदेशमा कार्यरत प्रदेश अधिकृतहरूलाई तीन दिनभित्र राष्ट्रिय प्रधान कार्यालय, लैनचौरमा हाजिर हुन निर्देशन दिएको निर्णयलाई प्रशासनिक पुनर्संरचनाको प्रारम्भिक कदमका रूपमा हेरिएको छ। यस निर्णयसँगै संगठनभित्र वर्षौंदेखि जकडिएको कर्मचारी व्यवस्थापनमा पनि सुधार हुने अपेक्षा गरिएको छ।

स्काउट वृत्तमा लामो समयदेखि केही कर्मचारीहरू एउटै शाखा वा जिम्मेवारीमा करिब आठ वर्षदेखि निरन्तर कार्यरत रहेको, जसका कारण प्रशासनिक सन्तुलन र अवसरको समान वितरण प्रभावित भएको भन्ने गुनासो उठ्दै आएको छ। नेपाल सरकारको कर्मचारी व्यवस्थापनको मूल मर्मअनुसार एउटै जिम्मेवारी वा कार्यस्थलमा अनावश्यक रूपमा लामो समयसम्म कर्मचारीलाई राख्नु सुशासनको दृष्टिले उपयुक्त मानिँदैन। तर नेपाल स्काउटमा भने वर्षौंदेखि केही कर्मचारी एउटै विभागमा रहँदै आएको भन्दै संगठनभित्रै प्रश्न उठ्दै आएको छ।
यही सन्दर्भमा प्रदेशका कर्मचारीलाई राष्ट्रिय प्रधान कार्यालयमा बोलाउने निर्णयसँगै अब राष्ट्रिय प्रधान कार्यालयमा लामो समयदेखि एउटै विभागमा कार्यरत कर्मचारीहरूलाई पनि आवश्यकता र संगठनको हितअनुसार प्रदेशमा खटाइने हो कि भन्ने अपेक्षा र अनुमान स्काउट समुदायमा बढेको छ।

स्काउटकर्मीहरूको भनाइमा, यदि केन्द्रमा वर्षौंदेखि एउटै स्थानमा कार्यरत कर्मचारीहरूको पनि जिम्मेवारी परिवर्तन गरी प्रदेशमा परिचालन गर्ने निर्णय गरियो भने नेपाल स्काउटमा वास्तविक अर्थमा सुशासन, पारदर्शिता, उत्तरदायित्व र समान अवसरको सुरुआत भएको अनुभूति हुनेछ। यसले केन्द्र र प्रदेशबीच जनशक्तिको सन्तुलित व्यवस्थापन मात्र होइन, संगठनको कार्यसम्पादनलाई पनि थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
यसैबीच, अन्तरिम कार्यसमितिले नेपाल स्काउटको लामो समयदेखि रोकिएको लोकतान्त्रिक प्रक्रिया अघि बढाउने महत्वपूर्ण निर्णयसमेत गरिसकेको छ। कार्यसमितिले २०८३ साल माघ महिनाभित्र प्रदेश परिषद् तथा स्थानीय परिषद्हरूको निर्वाचन सम्पन्न गर्ने तथा राष्ट्रिय परिषद्को निर्वाचन २०८३ साल फागुन २१ गते सम्पन्न गर्ने** निर्णय सार्वजनिक गरिसकेको छ। लामो समयदेखि नेतृत्व चयन प्रक्रिया अन्योलमा रहेको अवस्थामा निर्वाचनको स्पष्ट कार्यतालिका सार्वजनिक हुनु संगठनलाई विधिसम्मत मार्गमा फर्काउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
स्काउट समुदायको अपेक्षा अब निर्णय घोषणा गर्ने मात्र नभई त्यसको निष्पक्ष र प्रभावकारी कार्यान्वयनमा रहेको छ। विशेषगरी कर्मचारी व्यवस्थापन, नियमित सरुवा, जिम्मेवारीको समान वितरण र विधिसम्मत निर्वाचन सम्पन्न गर्न अन्तरिम कार्यसमिति सफल भएमा नेपाल स्काउटमा वर्षौंदेखि अपेक्षा गरिएको संस्थागत सुधार र सुशासनको नयाँ अध्याय सुरु हुने विश्वास गरिएको छ।


























Leave a Reply