श्रवण मुकारुङको एउटा कविता छ, ‘बिसे नगर्चीको बयान’ । ६२/६३ को दोस्रो जनआन्दोलनको पृष्ठभूमिमा जन्मिएको मुकारुङको यो कविता राज संस्था अन्त्यको आन्दोलनमा निकै चर्चामा रह्यो । कवितामा अढाई सय वर्षसम्म उत्पीडन भोगेका बिसे नगर्चीले उनका शासकलाई प्रश्न मात्र होइन, कुशासनको समेत प्रतिरोध गरेका छन् । यो कविता चर्चित भएको २० वर्षपछि त्यस्तै घटना घटेकाले त्यही कविताबाट प्रभवित भएर यो आलेख लेखिएको छ ।
अब कुरा गरौ, बिसे नगर्चीको । जनश्रुतिमा जीवित, बिसे, लामो समय नेपाली समाजबाट गुमनाम रहे । साहित्य र अनुसन्धानमार्फत पृथ्वी नारायण शाहको पक्षमा लेखिएका वीर गाथामा नअटाएका नगर्ची उत्पीडनका ब्लुजले भरिएको कवितामार्फत राज संस्था अन्त्यको एक कारण बने । पृथ्वी नारायण शाहसँगै गोर्खा राज्य विस्तारको सपना पुरा गर्न राज्यकोष बढाउँने, पन्चे बाजा सहित युद्धमा होमिएर जीतको नगरा फुकि गोर्खा राज्यको ध्वजा फहराएका बिसेले त्यहि संस्था विरुद्ध जनविद्रोह गराए । विद्वानहरूले बिसे नगर्चीको योगदानको चर्चा नगरी लेखिएको गोर्खा राज्य विस्तारको इतिहास त्यो समुदायप्रति अन्याय र विभेद भनि प्रस्तुत गर्ने गरेका छन् ।
अब पाठकहरुमा कौतुहलता हुनसक्छ, बिसे त थाहा पाइयो, यो राम नागर्जी को रहेछन ? उनको कस्तो बयान हो ? खासमा कुरा के हो ? प्रश्नहरु यस्तैयस्तै हुन सक्छन । सर्वप्रथम, आउनुहोस यी विगत र वर्तमान समयका दुई फरक व्यक्तिहरुको सम्बन्ध बारे बुझौँ । वास्तवमा बिसे र राम नगर्चीबीच कुनै सम्बन्ध छैन । दुवै जन्मेको समय र टेकेको धरातल फरक हो । तथापि, दुवैको मुख्य पेशा र राजनीतिक जीवनको भोगाईमा समानता छ । त्यो के छ भने बिसे जस्तै राम नगार्जी लुगा सिउने व्यवसायी हुन् । उनको टीकापुरको मुटुमै रहेको चन्दन मिष्टान भण्डार नजिकै ठुलो कपडा पसल छ । उनको अर्को परिचय उनी नेपाली कांग्रेसका तर्फबाट टीकापुर नगरपालिकाका कार्यवाहक मेयर हुन् । जुन पद गैरकानूनी रुपमा उनलाई अपमानित गरि खोसियो । उनको यहि राजनीतिक भोगाई ’बिसे नगर्चीको बयान’ कविता सम्झिने गरि घटेकाले उनको पनि उत्पीडन बयान बन्यो ।
अब बिसे नगर्ची वितेको २५५ साल पछिको गणतान्त्रिक मुलुकमा रामजी कसरी त्यस्तै प्रकारले उत्पीडनमा परे भन्ने प्रश्न आउन सक्छ । यसको उत्तर दिनु भन्दा पहिला राम नगार्जी बारे थोरै त बताउन पर्यो । रामजीको परिवार २०३९ साल तिर सानो अछाम भनेर चिनिने टीकापुरमा बसाई सरेर आएका हुन । पहिलो बसाई राजीपुरमा भयो । विस्तारै सिलाई र कपडाको व्यापार गर्दैँ टिकापुर बजारमा व्यवसाय सुरु गरे । उनका काका तिलक नागर्जी २०४७ सालको आन्दोलनमा नेपाली कांग्रेसका तर्फबाट होमिएका थिए । जवान काकालाई हेरेर भतिज पनि आफुलाई प्रजातान्त्रिक भन्ने पार्टीमा आवद्ध भए । उनी त्यति बेलाका स्थानीय नेता चन्द्र सिंह भट्टाराई र नर बहादुर ठकुल्ला आदिबाट प्रभावित भएका रहेछन । बीपीका सुधारवादी नीतिले विभेद र असमानताबाट मुक्ति पाइन्छ कि भनेर सक्रिय भई राजनीतिमा लागि रहे ।
४० वर्षे लामो राजनीतिक जीवनमा भएका हरेक आन्दोलनको अग्रपंक्तिमा रहे । आन्दोलन, धरपकड, जनसभा, चुनावी र्याली, विजयी जुलुसमा सधै अग्रिम मोर्चामा उपस्थित भए । साम्यवादीको प्रतिशोध र चुनावी हारले उनको राजनीति डगमगाएन । त्यस उप्रान्तः वितेका चार दशकमा झन्डै हजारौ रुख र चार तारा अंकित झण्डा आफ्नै हातले सिलाए होलान । सयौं नेताका दौरासुरुवाल टोपी सिलाए होलान । पार्टीको हरेक र्याली सभामा पन्चे बाजाले हजारौ जनता पार्टीमा जोडे होलान । उनले सिलाएको रुख र चार तारा अंकित झण्डा घरघरमा पार्टीको ब्राण्ड बनेर फहरियो । धेरै नेता त्यसकै भरमा मन्त्री भए । सात पुस्ता पुग्ने सम्पत्ति जोडे । आफन्त सबैलाई जागिर लगाए । तर राम नागर्जीका दिन कहिल्यै फर्केनन । उनी नगर मै सिमित भए ।
जेष्ठताका आधारमा कार्यपालिकाको बहुमत सदस्यले मेयर बनाउने, बजेट भाषण गर्न लगाउने, आफ्नो स्वार्थ पुरा नहुने देखे पछि षड्यन्त्र गरी विभेदपूर्ण तरिकाले अपमानित गरि मेयर पद “कु” गर्ने गराउने यस्तो कुन विधिको शासन र कानुनले दिन्छ ?
देशको राजनीतिक परिस्थिति परिवर्तन हुँदै आयो । २०७२ सालमा नयाँ संविधान जारी भयो । राज्यको चरित्र जनसंख्याको आधारमा समानुपातिक समावेशी हुनेछ भनेर संविधानमै व्यवस्था भयो । अब चाहि रामजीको राजनीतिक जीवनमा ४० वर्षपछि खोलो फर्कियो । झण्डा र दौरासुरुवाल सिलाउदा होस् वा पन्चे बाजा बजाउदा, ज्याला नलिएका रामजी २०७९ सालको स्थानीय निर्वाचनमा विजयी भई टीकापुर नगर कार्यपालिकाको सदस्य भए । रामजीले २०८१ र २०८२ को बजेट भाषण गरे । टीकापुरमा गुलाव सिटी, सडक पूर्वाधार, सरसफाई, विजुली वत्ती, प्लास्टिक फ्री सिटी, फोहोर व्यवस्थापन,मेयरसँग जनता आदि कार्यक्रमहरु चलिरहेकै थिएँ । भागबण्डाको राजनीति चलिरहेको अवस्थामा भदौँ २३ र २४ गते व्यवस्था परिवर्तनको लागि जेन्जी आन्दोलन भयो । काठमाण्डौको प्रदर्शनमा उत्रेका स्कुले युवाहरुलाई गोली हानि मारेको विरोधमा जनता टीकापुरको सडकमा उत्रिए । फेरी एकपल्ट व्यवस्था परिवर्तन भयो ।
जेन्जी आन्दोलनको जगमा बनेको सरकारले २०८२ साल फागुनको २७ गते चुनाव गर्ने घोषणा गर्यो । टिकापुर नगरपालिकाको उप–मेयर पहिल्यै निलम्बित थिए, पदबाट राजिनामा दिएर फागुन २७ को प्रतिनिधिसभाको चुनाव लडेका मेयरले जितेनन् । नगरपालिका एक महिनासम्म प्रमुखबिहिन हुँदा कामकाज ठप्प जस्तै भयो । तीनवटा पार्टीका वडाअध्यक्षले कार्यबाहक मेयरको पदमा आ–आफ्नो तर्फबाट दाबी पेश गरे । तर स्पष्ट बहुमतका लागि कसैले संख्या पुर्याउन सकेनन् । कार्यपालिका सदस्यहरुको आन्तरिक खिचातानीले रामजीको पार्टीका नेताहरुले जुक्ति निकाले । १७ जना कार्यपालिका सदस्य मध्ये कांग्रेस वडा अध्यक्ष र केहि दलित सदस्यहरु सहित ९ जनाको समर्थनमा नगरपालिकाको दैनिक क्रियाकलापमा सहयोग पुर्याउन रामजी मिति २०२८२ । ११ । ०९ मा कार्यबाहक मेयर बने । जसरी काठमाडौंकी कार्यबाहक मेयरले चुनावै नलडी मेयर बनिन् ठिक त्यसै गरि मेयर पदको चुनावै नलडी कानूनमा व्यवस्था भए बमोजिम रामजी कार्यवाहक मेयर भए ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११६ (१) स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै निलम्बन परेमा वा कुनै कारणले दुवै पद रिक्त भएमा कार्यपालिका सदस्यहरुले बहुमत पुर्याएर कार्यवाहक अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख भइ काम गर्न पाउने कानूनी व्यवस्था भित्रै रहेर नेता कर्मचारी मिलेर राम नगार्जीलाई सम्मान पुर्बक जेष्ठताका आधारमा कार्यवाहक मेयर बनाए । त्यसको ठिक तिन महिना पछी रामजीको अनुपस्थितीमा मिति २०८३।०२।१४ गते अपमानित ढंगले बिना जानकारी कार्यवाहक मेयरबाट हटाईए । उनलाई हटाएर कार्यवाहक भएका व्यक्ति पनि उनकै पार्टीका थिए । न विधिवत कार्यपालिका बैठकको कुनै सुचना जारी भयो । न कार्यवाहक मेएर रामजीले बैठक डाक्ने निर्देशन दिए । स्थानीय सरकार संचालन ऐन २०७४ को ८४ (छ) र बैठक बस्ने कार्यविधिको नेता कर्मचारीले धज्जी उडाए । त्यसमाथि विधिको शासनको त कुरै छोडौ ।
“राम नगार्जीको बयान” २०८३ जेठ १४ गते कार्यबाहक मेयर पदबाट हटाइनुका दुई रोचक प्रसंग वारिपरि जोडिन्छ । पहिलो प्रसंग, जेठ १३ गते आर्थिक वर्ष २०८३।८४ को नीति, कार्यक्रम तथा बजेट सम्बन्धि सरोकारवालाहरुसँग छलफल बैठक रहेछ । त्यस दिन रामजीको अध्यक्षतामा बसेको नीति कार्यक्रमको छलफल बैठकमा बजेटको प्रभवकारी बाडफाँड योजनाको आवश्यकता हेरी गर्ने छलफल भएछ । यो छलफल पछि उनलाई कार्यवाहक बनाउने ठालु नेता कर्मचारीहरुले यस वर्षको बजेट बाडफाँड आफ्नो पक्षमा हुँदैन कि भन्ने बुझे । जेठ १३ गते ठालु नेताहरुले अघि सारेका योजना आउने आर्थिक वर्षको बजेट र ठेक्कापट्टा आफ्नो भागमा केहि नआउने देखे पछि जेठ १४ मा रामजीलाई हटाएर बजेट र ठेक्का दिन सक्ने आफ्नो फेबरको मान्छेलाई कार्यवाहक बनाए । त्यसमाथि यस बर्ष स्थानीय तहले संघ सरकारबाटै बजेट कटौती र ठेक्कापट्टा खारेज जस्ता चुनौतीको समेत सामना गर्नु पर्यो । यस्तो अवस्थामा आफु अनुकुल परिणाम नआउने देखे पछि नगरपालिका प्रमुखको पदलाई म्युजिकल चेयर बनाए । भागबण्डा र सरकारी स्रोतको दुरुपयोगको चक्र फेरी सुरु भयो ।
अर्को सन्दर्भव राम नगार्जीको सामाजिक अवस्थिति पनि हो । उनी सीधासाधा, मिजासिलो स्वभावका, कानूनी र प्रक्रियागत दाउँपेच बुझ्दँैनन् । एकातिर सामान्य पढाईलेखाई र नगन्य सामाजिक पूँजी भएका कार्यवाहक मेयर अर्कातिर वर्चस्वशाली समुदायका नेता कर्मचारी, प्रशासकीय अधिकृत । तीनलाई हजुर हजुर भन्दै दर्जी समुदायका रामजीको आज्ञा मान्नु निकै घुटन भइरहेको थियो । आखिर ती नेता कर्मचारी पनि धनगढीका पुर्व मेयर नृप ओडलाई “नमस्ते गर्नु पर्छ चुनावको टिकट नदिनु” भनेर देउवा निवासमा डेलिगेशन जाने जातीबादी समाजकै उत्पादन त भए ।
यदि कसैले विभेद र उत्पीडनलाई निरन्तरता दिएर देश विकासको कल्पना गरेका छन् भने देशको मुहारको फेर्न कलिला शहिदहरुको आहुतिमा बनेको जेन्जी पुस्ताको सरकारले नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्छ भन्ने कुरालाई विश्वास गरिहाल्नु पर्ने देखिदैन ।
उता नगरका नेताहरूलाई रामजी गाडीमा हिडेको, जनता नजिक भएको, नमस्ते आफुले गर्नु परेको, ठेकापट्टा नमिलाइदिएको मन परिरहेको थिएन । रामजी पहिला भन्दा बढी जिम्मेवार र जेन्जी पुस्ताले आव्हान गरेको परिवर्तनलाई हाँक्ने अनुभवी नेताका रुपमा उदय हुन थालँे । जसले वर्चस्वशाली समुदायको सुपेरियोरिटी कम्प्लेक्समा धक्का पुग्यो । तीनको सामाजिक संरचना तासको घर झैँ भत्किन थाल्यो । सम्बुकको तपस्या चित्त नबुझे झैँ भयो । त्यस पछि सुरु गरे रामजीको कमजोर जातीय स्थितिका कारणले अपमानित गरि कार्यवाहक मेयरको पद गैरकानूनी रुपले जानकारी नै नगरी हटाउने षड्यन्त्र । बहुमत पुर्यायर प्राप्त गरेको कार्यवाहक पदबाट हटाउनको लागि उनी विरुद्ध वस्तुनिष्ट कारणको आधारमा अविश्वासको प्रश्ताव रामजीकै अध्यक्षतामा बसेको बैठकमा पेश गर्नु पर्ने थियो । तर स्वैछाचारी ढंगले थाहा नै नदिई कार्यपालिकाका १७ मध्ये ९ जना सदस्य भेला गरेर उनलाई हटाइयो । स्थानीय तहको कार्यपालिकाका जनप्रतिनिधि हटन सक्ने स्थानीय सरकार संचालन ऐन २०७४ मा स्पष्ट व्यवस्थाको उपहास गरियो ।
रामजीको गैर कानूनी बहिर्गमनका विषयमा सबै मौन रहे । रामजीका समर्थक विशेष गरी दलित समुदायले ताला बन्दी हड्ताल केहि गरेनन् । राम नगार्जीले मेरो पद गुम्नु ठुलो कुरा होइन, पालिकाको गरिमामा आँच आउनु भएन भन्ने अभिव्यक्ति प्रेस मार्फत दिए । टीकापुर नगरपालिकाको भवन त्यो अभिव्यक्तिको साक्षी छ ।
जेष्ठताका आधारमा कार्यपालिकाको बहुमत सदस्यले मेयर बनाउने, बजेट भाषण गर्न लगाउने, आफ्नो स्वार्थ पुरा नहुने देखे पछि षड्यन्त्र गरी विभेदपूर्ण तरिकाले अपमानित गरि मेयर पद “कु” गर्ने गराउने यस्तो कुन विधिको शासन र कानुनले दिन्छ ? कार्यबाहक मेयर यदि वर्चस्वशाली गैर–दलित समुदायको भएको भए त्यसलाई हटाउन नेता कर्मचारीको हिम्मत पक्कै हुने थिएन ।
जसले टीकापुरमा काँग्रेसको सपना बुने । रुख र चार तारा अंकित झण्डा सिलाए । तीनलाई उनकै पार्टीका साथीहरुले पालिकाबाट अपमानित गरे र निकालिदिए । तर उनले सजिलै हतियार विसाउन मानेका छैनन । टीकापुरका दलित तथा जनजाति समाजले राम नगार्जीलाई जातीय उत्पीडन र अन्याया पर्दा सबै एक जुट भई कानुनी उपचारको बाटो खोज्न सल्लाह दिएका छन् । यो विषय रिट मार्फत सर्बोच्च अदालतमा विचाराधीन छ ।
विभेदको संस्कृति नयाँ स्वरूपमा रावणको शिर जस्तै पलाउने क्रम जारी छ । सत्तासीन पार्टीका प्रमुखले दलित समुदायसँंग माफी मागे पनि सरकारका नेता कर्मचारीले दलितमाथि अन्याय गर्छन भने त्यो माफीको कुनै औचित्य छैन । बिसे नगर्चीको बयान कविता सम्झिने गरि जुन घटना घटेको छ यसले स्थानीय सरकार संचालन र सिमान्तकृत दलित समुदायको शासन व्यवस्थामा अर्थपूर्ण सहभागिता सुनिश्चित गराउने संवैधानिक व्यवस्था कार्यान्वयन हुन कति समय लाग्ने हो यकिन छैन । जात व्यवस्था र जालझेल जीवित रहुन्जेल सबै जनताको शासन व्यवस्थामा समान हैसियत र सहभागिता गर्ने गराउनेमा प्रशस्तै शंका छन । विभेदले विभाजित समाज देश विकासको एउटा ठुलो अवारोधक हो । यदि कसैले विभेद र उत्पीडनलाई निरन्तरता दिएर देश विकासको कल्पना गरेका छन् भने देशको मुहारको फेर्न कलिला शहिदहरुको आहुतिमा बनेको जेन्जी पुस्ताको सरकारले नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्छ भन्ने कुरालाई विश्वास गरिहाल्नु पर्ने देखिदैन ।


























Leave a Reply