काठमाडौं — नेकपाकी सांसद पार्वती विकले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपाकी सांसद पार्वती विकले सरकारले बढाएको चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण नेपालीले अकालमै ज्यान गुमाउनुपरेको बताइन् ।
सांसद विकले गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाहको बाटो रोजेको उल्लेख गरिन् । ‘१० हजार जरिवानाले उनलाई कति तनाव दियो होला ? यो जरिवाना मात्र होइन, राज्यको संवेदनहीनताको उपज हो,’ उनले भनिन्, ‘नेपाल सरकारले हालै ट्राफिक जरिवाना हेरफेर गर्दा कसुरको प्रकृति र गम्भीरतालाई ख्याल नगरेकै कारण यो ज्यान गएको छ।’

सांसद विकले गणेश नेपालीको मृत्यु केवल एक व्यक्तिको मृत्यु नभएर राज्यको उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न भएको बताइन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र विक्षिप्त परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।


























Leave a Reply