सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको चाहना : राष्ट्रपति

दलित अनलाइन असार १, २०८३

काठमाडौं —   राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सङ्घर्ष  र बलिदान गरेका नेपाली जनताको चाहना भनेको नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएको बताएका छन्।

लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जनताको यो अभीष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकूल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको बताए।

राष्ट्रपति पौडेलले भने, ‘स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान्, जिम्मेवार तथा राष्ट्रपति समर्पित कर्मचारीले यो भूमिकालाई परिणाममुखी बनाउन सक्दछन्। प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्दछ। यसले नै लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्दछ।’

राष्ट्रपति पौडेलले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो अझै रहेको स्पष्ट पारे।

उनले भने, ‘आयोगप्रतिको भरोसा र विश्वास एवम् यसले अवलम्बन गरेको सिद्धान्त र प्रणालीका कारण मेहनती युवाहरूले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले बिर्सन हुँदैन। विगतमा हासिल गरेको अनुभव, ज्ञानसँगै विश्वव्यापी रुपमा विकसित यससम्बन्धी सिद्धान्त र प्रणालीसमेतको अध्ययनको आधारमा आफ्नो कामलाई भविष्यमा थप परिष्कृत गर्न आयोगले विशेष योगदान दिने नै छ भन्ने म ठान्दछु।’

Global IME bank

उनले लोकसेवा आयोग सरकारी सेवामा कर्मचारी छनौट र भर्ना गर्ने एउटा महत्त्वपूर्ण निकाय भएको उल्लेख गर्दै यसले सदैव असल र उम्दा कर्मचारी छनौट गर्न सक्ने गरी आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउँदै कर्मचारी छनौटमा समयसापेक्ष परीक्षण विधि/प्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताए।

राष्ट्रपति पौडेलले भने, ‘कर्मचारी छनौट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले आजसम्म गरेको योगदान प्रशंसनीय छ। यो विश्वास, भरोसा एवम् प्रतिष्ठालाई आगामी दिनमा अझ प्रभावकारी तवरले पूरा गर्न तपाईँहरूले विशेष मेहनत गर्नु नै हुनेछ भन्ने मैले विश्वास लिएको छु।’

राष्ट्रपति पौडेलले लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तर कायमै राखी भावी योजना तय गर्नुपर्ने चुनौती रहेको भन्दै वार्षिकोत्सवको क्षणमा विगतको कामको समीक्षा र भावी चुनौतीलाई सामना गर्ने गरी योजना तय गर्न सुझाव दिए।

उनले राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशक लामो अवधिमा ‘योग्यता, निष्पक्षता र स्वच्छता’ जस्तो मूल सिद्धान्तको जगमा रहेर प्रभावकारी तवरले कार्य सम्पादन गर्नु खुसीको विषय भएको बताए।

राष्ट्रपति पौडेलले भने, ‘विशेषतः निष्पक्षता र योग्यता कर्मचारी छनौटको उच्चतम कसी हो। मूल्याङ्कनको यही अन्तर्यलाई अवलम्बन गरेकै कारण आयोगप्रतिको भरोसा आजसम्म अटुट छ। यो भरोसा र विश्वास नै आयोगको ठुलो सम्पत्ति हो। यसलाई अझ थप सुदृढ गर्दै आयोगलाई अझ सबल बनाउन तपाईँहरूको सत प्रयास निरन्तर रहने मैले विश्वास लिएको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank