अमेरिका–इरानबीच दुई साताका लागि युद्धविराम

दलित अनलाइन चैत्र २५, २०८२

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन्।

इरानले पठाएको १० बुँदे प्रस्ताव व्यवहारिक भएको बताउँदै उनले दुई हप्ताको द्विपक्षीय युद्धविरामको घोषणा गरेका हुन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले उक्त १० बुँदे प्रस्तावले स्थायी सम्झौताका लागि वार्ताको आधार तय गर्ने बताएका छन्। साथै, अमेरिकाले आफ्ना अधिकांश सैन्य उद्देश्यहरू पूरा गरिसकेको दाबी समेत उनले गरेका छन्।

ट्रम्पले लेखेका छन,‘पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरसँगको कुराकानीको आधारमा, र उनीहरूले आज राति इरानमा पठाउन लागिएको विनाशकारी सैन्य शक्तिलाई रोक्न गरेको अनुरोध बमोजिम, म इरानमाथिको बमबारी र आक्रमण दुई हप्ताका लागि स्थगित गर्न सहमत भएको छु। यो दुईपक्षीय युद्धविराम हुनेछ।’

उनले अगाडि थपेका छन, ‘यो निर्णय गर्नुको कारण के हो भने हामीले हाम्रा सबै सैन्य लक्ष्यहरू प्राप्त गरिसकेका छौँ र हामी इरानसँग दीर्घकालीन शान्ति र मध्यपूर्वमा शान्तिका लागि एक निश्चित सम्झौताको निकै नजिक पुगेका छौँ। हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ र यो वार्ताका लागि उपयुक्त आधार हो भन्ने हाम्रो विश्वास छ।’

राष्ट्रपति ट्रम्पका अनुसार इरान विगतका विवादित लगभग सबै बुँदाहरूमा सहमत भएको छ र यो दुई हप्ताको समयले स्थायी सम्झौतालाई अन्तिम रूप दिन मद्दत गर्नेछ।

‘अमेरिका र इरानबीच विगतका लगभग सबै असहमतिहरू सुल्झिएका छन्। यो दुई हप्ताको अवधिले सम्झौतालाई पूर्णता दिन र लागू गर्न समय दिनेछ। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको हैसियतमा र मध्यपूर्वका देशहरूको प्रतिनिधित्व गर्दै, यो दीर्घकालीन समस्या समाधानको नजिक पुग्नु मेरो लागि सम्मानको कुरा हो,’ उनले भने।

यसअघि ट्रम्पले ट्रुथ सोसलमै निकै आक्रामक अभिव्यक्ति दिँदै इरानमा अभूतपूर्व विनाश हुने चेतावनी दिएका थिए। उनले लेखेका थिए,‘आज राति एउटा पूरै सभ्यता मर्नेछ, जुन कहिल्यै फिर्ता आउने छैन। म त्यस्तो होस् भन्ने चाहन्न, तर सायद यो हुनेछ।’

अमेरिकी राष्ट्रपतिले घोषणा गरेको यो नयाँ युद्धविरामले मार्च २८ देखि सुरु भएको द्वन्द्व अब अन्त्य हुने र दुवै पक्ष शान्तिको दिशामा अघि बढ्ने आशा जगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank