म बालेनको मान्छे मात्र होइन, क्षमतावान् छु: राजु पाण्डे

दलित अनलाइन फाल्गुन १०, २०८२

काठमाडौँ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं क्षेत्र नं-३ का उम्मेदवार राजु पाण्डेले आफू बालेन शाहको निकटताका कारण मात्र टिकट पाएको भन्ने आरोपको खण्डन गरेका छन्।

चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले आफू ‘बालेनको मान्छे’ मात्र नभई शैक्षिक र व्यवस्थापकीय रूपमा समेत नेतृत्व गर्न क्षमतावान् रहेको दाबी गरे।

विपक्षी तथा आलोचकहरूले बालेन शाहको नजिकको मान्छे भएकैले टिकट पाएको र अन्य क्षमता नभएको भनी लगाएको आरोपलाई उनले निराधार बताए।

Nic asia bank

पाण्डेले भने, ‘यहाँ जसले जे आरोप लगाए पनि हुन्छ। तर म काठमाडौं महानगरको नगर प्रहरी प्रमुख मात्र थिइनँ। मैले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेको छु। सुशासन, पारदर्शिता र जवाफदेहिताको विषयमा मेरो प्राज्ञिक अध्ययन र अनुभव छ।’

आफूसँग सहरी व्यवस्थापनको विशेष दखल रहेको जिकिर गर्दै पाण्डेले गोकर्णेश्वर र कागेश्वरी मनोहरा क्षेत्रको भूगोल र समस्याको समाधान गर्न आफू सक्षम रहेको बताए। ‘मेरो पढाइ र लामो समयको कार्य अनुभवले नै मेरो क्षमता पुष्टि गर्छ,’ उनले थपे।

सोही क्रममा आफ्ना प्रतिस्पर्धी एवं उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले दिएको अभिव्यक्तितर्फ इङ्गित गर्दै पाण्डेले भने, ‘उहाँले के भन्नुभयो मलाई सरोकार छैन। म उहाँको कुरा काट्दिनँ, तर राष्ट्रिय स्वतन्त्र पार्टी र मेरा एजेन्डाप्रति देखिएको जनलहर नै मेरो जवाफ हो।’

काठमाडौं क्षेत्र नं-३ मा यसपटक रास्वपाका पाण्डे र उज्यालो पार्टीका घिसिङबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank