किरण कोली मृत्यु प्रकरणः मन्त्री सुरेन्द्र पालविरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न नमानेको राजमतिको गुनासो

दलित अनलाइन भदौ १७, २०८२

काठमाडौं — बैतडीको डिलाशैनी गाउँपालिका–३ मा १४ वर्षीय बालक किरण कोलीको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिन नमानेको पाइएको छ ।

पीडितकी आमा राजमती कोलीले आफ्नो छोराको मृत्यु हुनुमा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, उनका छोरा मुकेश पाल र सोही वडाका वडाअध्यक्ष रघुवीर बोहोराको हात रहेको बताईन् ।

भौतिक पूर्वाधार विकासमन्त्री पालले पेट्रोलपम्प बनाउनका लागि गिरीबगडस्थित चमेलिया खोलाबाट अवैध रुपमा निकालेका बालुवाको थुप्रोमा चढ्दा करेन्ट लागेर गत साउन १७ गते किरणको मृत्यु भएको थियो । घटनापछि मृतक किरणकी आमा राजमतीले मन्त्री पालका बाबुछोरा र वडाअध्यक्ष बोहोराविरुद्ध किटानी जाहेरी दिएकी थिईन् । ‘पालकै कारण हो । उसले बालुवा नथुपारेको भए मेरो छोराको मृत्यु कसरी हुन्थ्यो ?’ उनले भनिन् ।

इलाका प्रहरी कार्यालय बैतडी पाटनका प्रहरी निरीक्षक राजेन्द्र सिंह साउदले किटानी जाहेरी दर्ता गर्न नमानेको र हुलाकमार्फत जाहेरी पठाउँदा पनि सनाखत गर्न बोलाएर मृतक किरणकी आमाको राजमतीमा मोबाइल कब्जा गरी विभिन्न प्रमाणहरु डिलिट गरिएको बताइएको छ । घटनालाई गुपचुप बनाउन मन्त्री पालकै निर्देशनमा वडा अध्यक्ष बोहोराले राजमतीको खातामा ५ लाख रुपैयाँ जम्मा गरिदिएको समेत पाइएको छ ।

वक्ता लोकेन्द्र बहादुर रानाले गाउँपालिकाले सूचना निकालेर असार मसान्तदेखि भदौ मसान्तसम्म बालुवा, ढुङ्गा, गिटी संकलन नगर्न भनेकोमा अवैध रुपमा थुपारिएको बालुवाको थुप्रोमा बच्चा खेल्न जाँदा करेन्ट लागेर मृत्यु भएको बताए । मृत्यु भइसकेपछि उचित न्याय दिनको सट्टा पैसामा मिलाउने कोशिस भएको उनले बताए ।

‘पीडित पक्ष मैले न्याय पाउनुपर्छ भनेर जान्छन्, जाहेरी दर्ता हुँदैन । बैतडी जिल्लाले पाटन इलाका प्रहरी कार्यालयमा पठाउँछ र इलाका कार्यालयले पनि जाहेरी दर्ता गरिदिँदैन,’– उनले भने, ‘पीडितले न्याय पाउनुपर्छ । घटनाको सत्यतथ्य के हो ? छानविन हुनुपर्छ । कसैप्रति कुनै पनि प्रकारको रिस, राग, प्रतिशोध हामी राख्न चाहँदैनौं ।’

सामाजिक अभियन्ता प्रकाश प्रतिकारले सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पाल र उसको छोराको कुकर्मले गर्दै किरणको ज्यान गएको बताए । ‘मेरो भाइको ज्यान लिने, अनि वडा अध्यक्षसँग मिलेर उसको आमाको खातामा ५ लाख रुपैयाँ हालिदिने । मेरो भाइको जीवनको मूल्यलाई ५ लाख बनाउने ? तिमीहरुको मूल्य ५ करोड दिन तयार छौं । तिमीहरु मर्न तयार छौं ?’ प्रश्न गर्दै उनले भने ।

मन्त्री पालका बाबुछोरा र वडाअध्यक्ष बोहोराविरुद्ध किटानी जाहेरी दर्ता भई घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्ने पीडित परिवारको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank