काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले जनयुद्धका क्रममा बन्दुक खोस्ने आँट गरेकै कारण प्रतिक्रान्तिकारीमाथि विजय प्राप्त गरेको बताएका छन् ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती ’ विषयक विचार गोष्ठीमा प्रचण्डले प्रशिक्षणात्मक सम्बोधन गदै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले जनयुद्धका क्रममा दलित समुदायले सबैभन्दा पहिले बन्दुक खोस्ने आँट गरेको स्मरण गरे । प्रचण्डले भने, ‘आफैँ लडेर विरोधीहरु माथि, प्रतिक्रान्तिकारीमाथि विजय प्राप्त भयो । दलित समुदायले बन्दुक खोस्ने आँट गर्यो । लामो लडाइँ लडेर स्थानीय सरकारमा दलित समुदायको प्रतिनिधित्व सम्भव भएको हो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धको समयमा जनतालाई आफ्नो लडाइँ आफै लड्न सिकाएका कारण उत्पीडित वर्ग, क्षेत्र र जातिले अधिकार प्राप्त गरेको बताए । प्रचण्डले भने, ‘ उत्पीडित वर्गले आफ्नो लडाइँ आफै लड्नुपर्छ भनेर हामीले भनेका हौ । आफ्नो मुक्ति आफैँले लडेर ल्याउनुपर्छ । माओवादी पार्टीको विचार हो । वर्गले गर्नुपर्यो । उत्पीडित वर्गले गर्नु पर्यो ।’

मोर्चाले आयोजना गरेको ’नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले शक्ति नभएमा संविधान र कानूनले पनि काम नगर्ने बताए । प्रचण्डले भने, ‘जबसम्म शक्ति हुँदैन नि आफ्नो हातमा । तबसम्म संविधानले पनि काम गर्दैन, कानूनले पनि काम गर्दैन ।’

जनयुद्ध विस्तृत शान्ति सम्झौतामा टुंगिएको स्मरण गर्दै प्रचण्डले क्रान्ति अधुरो रहेकोमा जोड दिए । प्रचण्डले भने, ‘हामीले क्रान्त्ति पुरै जितेर आउन सकेनौँ । यो कुरा हामी सबैले मनन् गर्नुपर्ने छ । क्रान्ति पुरै जितेर आउन पाएको भए माथि परेकालाई तल पारिने थियो, तल परेकाहरु माथि आउने थियो, पारिने थियो ।’


























Leave a Reply