काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई घरभित्रै बन्धक बनाउन नखोजिएको स्पष्ट पारेका छन्।
भण्डारीलाई राजनीतिमा आउनबाट रोक्न एमाले नेतृत्व नै लागिरहेका बेलामा महासचिव पोखरेलले यस्तो बताएका हुन्। दाङमा प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उनलाई राजनीतिमा भन्दा सामाजिक काममा सक्रिय हुन सुझाव पनि दिए।

‘पूर्व राष्ट्रपतिजस्तो मान्छे सक्रिय राजनीतिमा आउनु उचित होइन भनेका हौं। यो सबैका भनेका छन्’ उनले भने ‘यसको अर्थ घरभित्रै बन्धक हुनुपर्छ भनेको होइन। सामाजिक काममा सक्रिय हुनुपर्छ। बन्धक नै बस्नुपर्छ भन्ने होइन। सामाजिक रुपमा सक्रिय हुन कुनै रोकतोक छैन।
यसअघि भण्डारीका गतिविधिलाई लिएर शुक्रबारमात्रै पार्टी कार्यालय च्यासलमा आयोजित एउटा कार्यक्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भण्डारीमाथि बेस्सरी खनिएका थिए।
एमालेको राजनीतिमा अब सक्रियरुपमा फर्किएको घोषणा गर्दै यसअघि भण्डारीले सरकारी सेवा सुविधा पनि फिर्ता गरेकी थिइन्। त्यसपछिका दिनमा पार्टीका कार्यक्रमहरूमा पनि सहभागी भइरहेकी भण्डारीले बिहीबारमात्रै वानेश्वरको थापागाउँमा आफ्नो एउटा भव्य कार्यालय उद्घाटन गरेकी थिइन्। ओलीले त्यसको पनि आलोचना गरेका छन्।


























Leave a Reply