बिपिनका आमा र बहिनीलाई प्रधानमन्त्रीको सन्देश ‘सरकार साथमा छ’

दलित अनलाइन भदौ २, २०८२

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले बिपिन जोशीको रिहाइका लागि सरकार ‘हर सम्भव’ पहलमा जुटिरहेको बताएका छन्। हाल इजरायल पुगेका बिपिनका आमा र बहिनीहरूले त्यहाँ गरेको उच्चस्तरीय भेटघाटलाई अपिललाई उल्लेख गर्दै ओलीले सामाजिक सञ्जालबाट त्यस्तो जानकारी दिएका हुन्।

उनले बिपिनको रिहाइको पहल सरकारको जिम्मेवारी भएको पनि बताएका छन्।

‘इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो। इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हेर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ’ ओलीले भनेका छन् ‘यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ। सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिंदै हर सम्भव पहलमा जुटिरहेको छ।’

उनले परराष्ट्र मन्त्रालयले पनि बिपिनको रिहाइको सुनिश्चित गर्न खाडी राष्ट्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको पनि बताएका छन्।

‘बिपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको छन्’ ओलीले भनेका छन् ‘इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवाद। बिपिनका परिवारको साथमा सरकार छ।’

हाल बिपिनका आमा र बहिनी पनि इजरायलमै छन्। इजरायल सरकारकै पहलमा त्यहाँ पुगेका उनीहरू बन्धक रिहाइका लागि भइरहेका प्रदर्शनमा पनि सहभागी भइरहेका छन्। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि धावा बोलेपछि त्यहाँ इजरालले गाजा क्षेत्रमाथि आक्रमण सुरु गरेको थियो। युद्ध सुरुभएकै दिन इजरायलमा पढ्दै र कमाउँदै गरेका १० जना नेपाली विद्यार्थी मारिएका थिए। त्यही बेला अरुसँगै हमासले बिपिनलाई पनि बन्धक बनाएको थियो। त्यसपछि उनको अवस्थाबारे यकीन जानकारी केही पनि छैन।

यो युद्ध अन्त्य र बन्धकहरूको रिहाइको माग गर्दै इजरायलमा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ। आइतबार राति पनि हजारौं नागरिकले इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले इजरायली सरकारसँग तुरुन्तै युद्ध अन्त्य गर्दै हमाससँग सम्झौता गरी बाँकी रहेका बन्धकहरूको सुरक्षाका लागि कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले गाजा सहरमा नियन्त्रण जमाउने सरकारी योजनाले कम्तीमा २० बन्धकको ज्यान जोखिममा पार्ने चेतावनी दिएका छन्।

प्रदर्शनकै क्रममा एकदिने राष्ट्रिय हड्तालसमेत आह्वान गरिएको थियो, जसका कारण केही क्षेत्रका सडक, कार्यालय तथा विश्वविद्यालयहरू बन्द रहे। दिनभर चलेको विरोध प्रदर्शनमा करिब ४० जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्।

यता प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने प्रदर्शनको आलोचना गरेका छन्। उनले यस्ता विरोधहरूबाट ‘हमास अझ कठोर बन्न सक्छ’ भन्दै बन्धकको रिहाइमा ढिलाइ हुने चेतावनी दिएका छन्।

गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथिको आक्रमणपछि सुरु भएको थियो । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणबाट अहिलेसम्म ६१,००० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank