
काठमाडौं, असार १२ — गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन्।
बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरे।
मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरतापूर्वक र प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरे।
‘गृह मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरतापूर्वक र प्राथमिकतामा राखेको छ। हामी लागूऔषधलाई नियन्त्रण गर्नको लागि बेग्लै विभागको स्थापना गर्ने छौं,’ उनले भने, ‘म यो घोषणा गर्न चाहान्छु। आउने नयाँ आर्थिक वर्षमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने छ।’
गृहमन्त्री लेखकले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको भन्दै सबैभन्दा पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक रहेको बताए।
‘लागूऔषधको दुरुपयोगले समाजलाई भयावह ढंगले नकारात्मक रुपले प्रभावित पारेको छ। र यस्को विस्तार एकदमै धेरै बढिराखेको छ,’ उनले भने, ‘त्यसैले पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक छ । यस्तो चेतना विद्यालय–विद्यालयमा पुग्न जरुरी छ।’
देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठुलो संख्यामा लागुऔषधको दुव्र्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको पनि उनले बताए।
Leave a Reply