
काठमाडौँ — सिरहाको विष्णुपुर गाउँपालिका–४ स्थित थलहामा दलित समुदायले प्रयोग गदै आएको बाटो गैरदलितहरुले पर्खाल लगाएर बन्द गरिदिएपछि आउजाउका लागि बस्तीमा समस्या भएको छ ।
सिरहाको विष्णुपुर गाउँपालिका–४ स्थित थलहामा आधा दर्जनभन्दा बढी (चमार) परिवारले प्रयोग गरिरहेको बाटो नै छेकेर दुर्गा मन्दिरका लागि पर्खाल लगाएपछि आउजाउका लागि समस्या भएको हो ।
दलित बस्ती र मन्दिरको बीचमा फराकिलो बाटो थियो । यही बाटो भएर यस बस्तीका बासिन्दा आउजाउ गर्दै आएका थिए । तर, यो बाटोको बीच भागबाटै निकै साँघुरो हुने गरी ६ फिट जग्गा मात्रै छाडेर मन्दिरको पर्खाल निर्माण गरिँदैछ ।
मन्दिरबाट आफूहरूको घरसम्म आउने सडक नम्बरी जग्गा रहे पनि पर्खाल उठाउँदा बाटो बन्द भएको स्थानीय रामएकबाल महराले बताए । ‘मन्दिरपछाडि रहेको मेरो घरसम्म पुग्ने बाटो नम्बरी जग्गामा छ । मन्दिरलाई घेरेर पर्खाल लगाएपछि मसहित दक्षिणपट्टिका ६ घर छिमेकीलाई पनि समस्या भएको छ । पर्खाल नहुँदासम्म मन्दिरको चौर हुँदै सिधै मूल सडकसम्म निस्किन सकिन्थ्यो । अहिले बन्द भएको छ,’ उनले भने ।
मन्दिरदेखि पश्चिमतर्फ रहेका १० घर दलित बस्तीसँगै जोडिएका पूर्वपट्टिको बाटो पनि ऐलानी भनेर बलजफ्ती पर्खाल बनाइएको पीडित सजनदेवी महराले बताइन् । ‘उत्तरतर्फ घर रहेका छिमेकीले मेरो नम्बरी जग्गा हो भनिरहेका छन्, उनले त्यो जग्गा छेके भने हाम्रो आवतजावत नै बन्द हुन्छ,’ उनले भनिन् ।
Leave a Reply