काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपालको कुरा स्पष्ट ढङ्गले राखिएको बताउनुभएको छ । बिहिबार संयुक्त राष्ट्र संघको ७३ औं महासभामा सहभागिता जनाएर बिहिबार स्वदेश फर्केपछि पत्रकारहरूको जिज्ञासाको उत्तर दिने क्रममा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
प्रधानमन्त्रीको कार्यशैलीबारे नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसदमा दिएको अभिव्यक्तिबारे पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्रीले कवि मनले कवितात्मक ढङ्गले केही भनिहाले पनि त्यसैलाई सबै कुरा मानेर पछि पछि दौडिहाल्नु पर्ने केही नभएको बताउनुभएको छ
साथै प्रधानमन्त्रीले पार्टी एकता पार्टीभित्र कुनै पनि समस्या नरहेको बताउँदै यो सरकार पाँच वर्ष टिक्ने र निर्वाचन गराएर अझ शक्तिशाली भएर आउने समेत दाबी गर्नुभयो ।
प्रधानमन्त्री अपरान्ह पौने ४ बजे कतार एयरलायन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो । प्रधानमन्त्रीको स्वागतका लागि सभामुख कृष्णबहादुर महरा,राष्ट्रसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना,रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेता सुवास नेम्बाङ लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन गत असोज ६ गते अमेरिकाको न्यूयोर्क जानुभएको थियो । त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभएको थियो ।
प्रधानमन्त्रीसँग उहाँकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत अमेरिका गएका थिए ।
Leave a Reply