दलित अनलाईन

यस वर्षकाे अन्तर्राष्ट्रिय दर्नाल अवार्ड सामाजिक अभियन्ता सरस्वती नेपालीलाई

दलित अनलाइन साउन २७, २०७५

सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गर्ने निर्णय भएको छ । दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदानको सम्मान र कदर गर्दै दर्नाल अवार्ड निर्णायक समितिले अभियन्ता सरस्वती नेपालीलाई यस अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । उहाँलाई आगामी २०७५ साउन ३० (तद्नुसार अगस्ट १५) मा एक अन्तर्राष्ट्रिय समारोहबीच नगद पाँच लाख रुपियाँ र कदरपत्रसहित सम्मान गरिने छ ।

दर्नाल अवार्ड निर्णायक समितिले अभियन्ता सरस्वती नेपालीसँगै अन्य अभियन्ताहरूमा डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा. रुपचन्द्र विश्वकर्मालाई समेत कदरपत्र प्रदान गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिमको दलित परिवारमा जन्मिनुभएका सरस्वती नेपालीले दलित तथा अन्य सीमान्तकृत समुदायको सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ । दलित समुदायमाथि हुने गरेका मानवअधिकार उल्लङ्घनका घटनामा प्रहरीले उजुरी समेत लिन नमान्ने क्रम जारी रहेको बेला उहाँले बलात्कारको मुद्दामा लामो संघर्ष लड्नुभएको थियो । बैतडी, दशरथ चन्द नगरपालिकाका ५४ वर्षीय शिक्षकद्वारा मानसिकरुपमा कमजोर स्थानीय १४ वर्षकी दलित बालिकामाथि विद्यालयमै पटक–पटक बलात्कार गर्दै आएको र गर्भसमेत तुहाएको घटनामा सरस्वती नेपालीकै अगुवाइमा भएको साहसिक कानुनी लडाइँको फलस्वरुप पीडकलाई ११ वर्षको जेल सजाय गरिएको थियो । सेप्टेम्बर २००७ मा डोटीको शैलेश्वरी मन्दिर प्रवेशका लागि भएको तेस्रो संगठित संघर्षका अगुवामध्येकी एक रहेकी सरस्वती नेपाली मन्दिर प्रवेश घटनामा घाइते हुनुभएको थियो ।

सरस्वती नेपालीले विशेषगरी शिक्षा र पत्रकारितामा योगदान दिने क्रमसँगै भूमि अधिकार र न्यायमा दलितको पहँुचका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँको संयोजकत्वमा रहेको भूमिअधिकार मञ्चले सन् २००८ देखि २०११ सम्म सुकुम्बासी दलित समुदायलाई जमिन दिलाउने गरी संघर्षको अगुवाइ गरेको थियो । मञ्चको नेतृत्वमा भएको सोही संघर्षका कारण ३७ घर–परिवारले दुई रोपनीका दरले जमिन र लालपुर्जा प्राप्त गरेका थिए ।

सरस्वती नेपालीकै पहलमा २१ मार्च २००७ मा बैतडी जिल्लालाई हलिया मुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसलगत्तै सन् २००८ मा नेपाल सरकारले पनि हलिया मुक्तिको घोषणा गरेको थियो । त्यसैगरी सन् २००७ मा बैतडीको उदयदेवमा भएको ‘सिनो बहिष्कार संघर्ष’को क्रममा उहाँले घटनालाई राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिलाउन संयोजनकारी भूमिका खेल्नुभएको थियो ।
सरस्वती नेपालीले स्थानीय शान्ति समितिको जिल्ला संयोजक भएर सन् २००९ देखि २०११ सम्म काम गर्नुभएको थियो । उहाँ नेपालमा बनेका स्थानीय शान्ति समितिको पहिलो महिला जिल्ला संयोजक हुनुहुन्थ्यो ।

‘दर्नाल अवार्ड’ आम मानिसले समाज परिवर्तनका लागि गरेका प्रेरणादायी र अनुकरणीय कार्यको सम्मान गर्ने उद्देश्यले सामाजिक न्यायका अभियन्ता सुभाष दर्नालको सम्झनामा स्थापित अन्तर्राष्ट्रिय स्तरको पुरस्कार हो । १५ अगस्ट २०११ मा अभियन्ता सुभाष दर्नालको दुःखद् देहान्त भएको थियो । सरिता परियार ट्रष्ट फण्डले जागरण मिडिया सेन्टरसँगको साझेदारीमा अगस्ट १५ को अवसरमा हरेक दुई वर्षमा ४० वर्षमुनिका दलित युवालाई यो अवार्ड प्रदान गर्दै आएको छ । त्यसैगरी, प्रत्येक वर्ष यसै सन्दर्भमा अगस्ट १४ मा ‘समता तथा आत्मसम्मानको राजनीति र दलित’ विषयमा अन्तर्राष्ट्रिय बहस शृङ्खला पनि सञ्चालन गर्दै आएको छ ।

‘दर्नाल अवार्ड पुरस्कार परिचालन समिति’ले गत वर्ष अगस्ट १५ को अवसरमा सुदूर र मध्य पश्चिम क्षेत्रका दलित समुदायका अनुभव, ज्ञान र क्षमतालाई जोड्ने उद्देश्यका साथ अछामको कालिकास्थानमा ‘जब प्रश्नहरुले इतिहास निर्माण गर्छन्’ भन्ने विषयमा दुईदिने अन्तर्राष्ट्रिय बहस शृङ्खलाको छैटौं शृङ्खला आयोजना गरेको थियो । र, यस शृङ्खलालाई यो वर्ष पनि निरन्तरता दिइने छ ।

वर्ण/जातको तहगत असमानता रहेको नेपाली समाजमा समावेशी लोकतन्त्र र सामाजिक न्यायका लागि गरिने सङ्घर्षको बाटो दीर्घकालीन र जटिल हुन्छ । यस्तो सङ्घर्षका लागि ज्ञानको उत्पादन गर्ने र त्यसलाई आदान–प्रदान गर्ने काम निकै महत्वपूर्ण हुन्छ । त्यसैले, यो अवार्ड आम उत्पीडितहरूमा अन्तरनिहित क्षमता, शक्ति र गौरवको सम्मान हो । यो अवार्डले सामाजिक न्यायका लागि नयाँ र प्रेरणादायी कार्य गरिरहेका व्यक्ति, संस्था र आन्दोलनबीच सहयोग एवं सहकार्यको पुल बनाउने अपेक्षा गरेका छौं ।

साभार : दर्नाल अवार्ड वेभसाइट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank