संसद बाहिरका चित्रबहादुर केसी : डेराको बास, ढिँडोको गास !

दलित अनलाईन ११ असार २०७५, सोमबार १२:३५

काठमाडौं – पेचिलो र ठट्यौली कुरा गर्न खप्पिस नेता हुनुहुन्छ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ।

उखान टुक्का मिसाएर मीठो भाषण गर्ने कला र गला उहाँमा छ । केसीलाई कसैले संघीयता विरोधी नेताका रुपमा चिन्छन् त कसैले उहाँलाई सादगी नेताका रुपमा बुझ्छन् । पहिले संसद बैठकमा व्यस्त हुने केसी अहिले संसद बैठकमा देखिनुहुन्न । प्रतिनिधिसभाको चुनावमा उहाँले उम्मेदवारी नै दिनुभएन ।

संसदबाट बाहिरिएका केसीको धेरैजसो समय अहिले घरमै बित्ने गर्छ । त्यसो त उमेरले चार बीस पुग्नै लागेका उहाँको शरीरलाई आराम पनि चाहिएको छ । पाका र फुर्सदिला केसीको दिनचर्या लोभलाग्दो छ । बिहान सबेरै उठ्नु, मर्निङवाक गर्नु, पत्रपत्रिका पढ्नु, रेडियो र टेलिभिजनबाट थप समाचारहरुबारे अपडेट हुनु उहाँको बिहानी काम हो । उच्च रक्तचापको औषधि सेवन गरिरहेका केसी आफू स्वस्थ रहेको बताउनुहुन्छ ।

पार्टी अध्यक्षको हैसियतले कार्यकर्तासँग भेटघाट, प्रशिक्षणलगायत कार्यक्रममा सहभागी हुनुपर्ने व्यस्तता पनि त्यतिकै छ । उहाँ भन्नुहुन्छ, ‘व्यस्तताका बाबुजुद पनि श्रमिक मजदुरको लागि आफ्नो उर्जा खर्च गर्दैछु ।’

डेराको बास, ढिँडोको गास

तीनपटक सांसद र एकपटक उप–प्रधानमन्त्री एवं गरिबी निवारण तथा सहकारी विकास मन्त्री बन्नुभएका केसीको काठमाडौंमा घर छैन । ६ दशक भन्दा बढी समय राजनीतिमा बिताएका केसी लामो समयदेखि मैतीदेवीमा भाडामा बस्दै आउनु भएको छ । उहाँ बसेको घर धेरैपटक किनबेच भइसकेको छ । तर उहाँले त्यस घरलाई छाड्नु भएको छैन ।

चियाका शौखिन केसी बिहान कहिल्यै खाजा खानुहुन्न । सम्भव भएसम्म उहाँ बिहान ढिँडो खान रुचाउनुहुन्छ । खानामा टिम्बुरको अचार चाहिने उहाँको सानैदेखिको आदत हो ।

सदन र सरकारभन्दा सडक नै प्यारो

ठूला दलका हठका कारण थ्रेसहोल्डको व्यवस्था लागू भएको केसीको भनाई छ । उहाँले संसदमा सबैका विचार तथा साना दलको प्रतिनिधित्व हुन आवश्यक रहेको बताउनुभयो । ठूला दलका नेताहरुको व्यक्तिगत स्वार्थ र सत्ताप्रतिको मोहले देश संक्रमण तथा अस्थिरतातर्फ मोडिएको उहाँको दाबी छ । ‘सदन र सरकारलाई नेताले व्यक्तिगत स्वार्थ पूर्ति गर्ने थलो बनाएकाले त्यसको खबरदारी गर्न अब सडक नै प्यारो छ’ उहाँले भन्नुभयो ।

आफ्नो विचारलाई नागरिकसामु पुर्‍याउने र बलियो जनमत तयार गर्ने काममा आफूले सदन बाहिरै बसेर काम गरिरहेको उहाँले बताउनुभयो । थ्रेसहोल्डमा गरिएको व्यवस्था अनुसार न्युनतम मत कटाउन नसक्दा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएकी एक मात्र सांसद दुर्गा पौडल स्वतन्त्र सांसदको हैसियतमा हुनुहुन्छ ।

वाम एकता सकारात्मक, तर आवरणमा मात्र कम्युनिष्ट

नेपालमा वाम एकता आवश्यक भए पनि कम्युनिष्टको नामको खोल ओढेर गरिने एकताको कुनै अर्थ नरहने उहाँले बताउनुभयो । एमाले र माओवादीले कम्युनिष्टको खोल ओढेर वाम एकता भनिएपनि त्यसो नभएको उहाँको बुझाई छ ।

उहाँले छरिएर रहेका पार्टीहरुबीच एकता हुनु सकारात्मक भएको बताउनुभयो । तर वर्तमान व्यवस्था अन्तर्गत रहेर समाजवाद, साम्यवाद र नयाँ जनवादी व्यवस्था लागू हुन्छ भन्नु चाहिँ दिवा सपना मात्रै भएको उहाँले दाबी गर्नुभयो ।

संघीयताबारेको अडान कायमै

राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै संघीयताको विरोध गर्दै आएको छ । देशको विकास तथा समृद्धिको लागि संघीयता कुनै पनि हालतमा उपयुक्त नभएको उहाँको दावी छ । संघीयतासहितको गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता जस्ता सुन्दर पक्ष भएकाले मात्र संविधानलाई स्वीकारेको उहाँले बताउनुभयो । तैपनि संघीयताकोे विपक्षमा आफूहरु रहिरहने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank