मेयर उम्मेदवार पासवानको घोषणापत्र : समृद्ध कञ्चनरुपको ६ सूत्र

दलित अनलाईन १७ बैशाख २०७९, शनिबार १८:२८

राजविराज —सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर पदका उम्मेदवार भोलाकुमार पासवानले घोषणापत्र सार्वजनिक गरेका छन् ।

शनिवार कञ्चनपुरमा पत्रकार सम्मेलन आयोजना गरि जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उम्मेदवार बनेका उनले चुनावी घोषणा–पत्र सार्वजनिक गरेका हुन् । घोषणा–पत्रमा व्यवहारिक शिक्षा, निःशुल्क स्वास्थ्य, व्यवसायिक कृषि, सामाजिक न्याय, व्यापार र स्वरोजगार जस्ता आधारहरुलाई समृद्ध कञ्चनरूपको ६ आधार भन्दै उल्लेख गरेका छन् ।

शिक्षातर्फ विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, सिप तथा रोजगारमूलक शिक्षा, सचेतना तथा जनचेतामूलक शिक्षा, उच्च शिक्षामा समन्वय गर्ने घोषणापत्रमा छ । फेलोसिपतर्फ नगरमा शिक्षा, स्वास्थ्य सुधार तथा अन्य समाज सुधारका लागि २ सय जनालाई २ वर्षे फेलोसिप प्रदान गरिने, सिर्जनात्मक सोच र कार्यान्वयन गर्न सकिने रचनात्मक योजना भएका बढीमा ११ जनाका लागि दुईदेखि दश लाख रुपियाँसम्म अनुदान उपलब्ध गराइने, अध्ययन र अनुसन्धान गर्ने अध्येता वा विद्यार्थीलाई एक लाख रुपैयाँसम्मको शोध अनुदान उपलब्ध गराइने, उच्च शिक्षाका लागि शहरका उत्कृष्ट कलेजहरूसँग सहकार्य गर्दै वार्षिक ५० जनालाई छात्रवृत्तिको व्यवस्था गर्ने र पाँच जनालाई मेडिकल वा इन्जिनियरिङ्ग क्षेत्रमा विद्यावारिधि (पिएचडी) गर्न छात्रवृत्तिको व्यवस्था गरिने उल्लेख गरेका छन् ।

स्वास्थ्यतर्फ पोषणमा पहुँच, निःशुल्क स्वास्थ्य बिमा, स्वास्थ्य साक्षरता, चेकजाँच, औषधी उपचार, जटिल रोग निवारण गर्न स्वास्थ्य सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ बेडको अस्पताल बनाइने, सबै जनताको स्वास्थ्य बिमा निःशुल्क गरिने, प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा ५ जना विशेषज्ञ डाक्टरको सेवा उपलब्ध गराइने, प्रत्येक तीन महिनामा गाउँघर क्लिनिकमै गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स–रेको व्यवस्था मिलाइने, वर्थिङ्ग सेन्टर नभएका सबै वडाका स्वास्थ्य चौकीमा वर्थिक सेन्टर सञ्चालन गरिने, प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क शल्यक्रिया सेवा सुचारु गरिने, विपन्न नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनका साथै क्यान्सर, ब्रेन र मुटु अपरेसनका लागि पालिकाबाट एक लाख रुपैयाँ दिइने, गर्भवती पोषण भत्ता १० हजार र एकल महिलालाई वार्षिक ५ हजार भत्ता उपलब्ध गराइने घोषणापत्रमा उल्लेख गरिएको छ ।

व्यवसायिक कृषि प्रणालीको विकासतर्फ बाँझो जमिनमा उत्पादन बढाउन सहयोग गर्ने, कृषिका लागि आवश्यक पर्ने मल, बिउ, सिँचाइ आदिमा सहयोग, संकलन केन्द्र र बजारसम्मको पहुँच विस्तारमा जोड दिने घोषणापत्रमा जनाईएको छ ।

त्यस्तै, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासतर्फ भौतिक र डिजिटल पूर्वाधार निर्माण तथा सञ्चालन, उद्यम र उद्योग, गरिखाने कार्यक्रम, सामाजिक विकासतर्फ समाजलाई सभ्य, उन्नत र आधुनिक तथा सक्रिय तुल्याउन अत्यावश्यकीय काम गर्ने, आवासको व्यवस्थातर्फ घरबास नभएकालाई आवासको व्यवस्था गर्ने, डिटिजल कञ्चनरूपतर्फ सार्वजनिक ठाउँ, विद्यालय आदिमा इन्टरनेटको व्यवस्था गर्ने, नगरपालिका अन्तर्गतका कामलाई अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउने उल्लेख गरेका छन् ।

त्यस्तै, कञ्चनरूप पर्यटन गेटवेतर्फ नगरका पर्यटकीय ठाउँहरू पहिचान गरी प्रचारप्रसार गर्ने र पर्यटक भित्र्याउन सम्भाव्य सबै उपाय अपनाउने, वातावरणीय विकासतर्फ नगरलाई वातावरणमैत्री बनाउन आवश्यक नीतिहरू बनाइ कार्यान्वयनमा ल्याउने, व्यापारतर्फ नगरको व्यापार/व्यवसाय/उद्योग विस्तारका लागि व्यापारी तथा उद्योग वाणिज्य महासङ्घसँग मिलेर कार्यक्रम बनाई कार्यान्वयन गरिने, महिला हिंसारहित कञ्चनरूप नगरपालिका र जातीय विभेदरहित सामाजिक न्यायसहितको कञ्चनरूप नगरपालिका बनाउने योजनाहरु घोषणापत्रमा समेटिएको छ ।

विगत डेढ दशकदेखि उनी पत्रकारिता, अनुसन्धान एवम् सामाजिक क्षेत्रमा सक्रिय रहँदैआएका छन् । पत्रकार सम्मेलनमा पासवानले नगर प्रमुखका रूपमा सबै प्रतिबद्धता पूरा गर्ने क्षमता, सामथ्र्य र अठोटसहित लाग्ने प्रण समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank