दलित समुदायका पत्रकारहरूको क्षमतामा विकास कार्यक्रम ल्याउन माग

दलित अनलाईन ६ मंसिर २०७८, सोमबार २३:५८

काठमाडौं — दलित समुदायका पत्रकारहरूले आफूहरूको क्षमता विकासका लागि विविध कार्यक्रम ल्याउन माग गरेका छन् ।

नेपाल पत्रकार महासंघले काठमाडौंमा गरेको ‘दलित समुदायका पत्रकारको अवस्था र महासंघको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायका प्रमुख र पत्रकारहरूले अब आमसञ्चार माध्यमहरूले चार हजार वर्षदेखि उत्पीडनमा रहेको दलित समुदायका कथा व्यथा बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको औंल्याए । उनीहरूले दलित समुदायकै पत्रकारको क्षमता विकास गराउन नसके त्यो समुदायका कथा व्यथा सञ्चारमाध्यमसम्म पुर्‍याउनै नसकिने भन्दै त्यस्तो माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै त्यसको मुक्तिका लागि अक्षरमार्फत अघि बढ्न पत्रकारहरुलाई आग्रह गरे । ‘दलित समुदाय चार हजार वर्षदेखि उत्पीडनमा छ, यसको मुक्ति यति सहजै सम्भव छैन,’ उनले भने, ‘यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । हरेक दलितसँग अलग–अलग कथा छन्, त्यस्ता कथाव्यथाहरू बाहिर ल्याइनुपर्छ । तपाईहरूको कलमले दलितका त्यस्ता कथा व्यथालाई सार्वजनिक गर्नुपर्छ ।’

अध्यक्ष विश्वकर्माले नेपालमा संविधान र कानूनले जातीय विभेद र छुवाछुतलाई निषेध गरेपनि समाजमा अझै त्यस्तो विभेद व्याप्त भएकोमा दुःख व्यक्त गरे । ‘समाजका बुज्रुकहरू नै यो एकैपटक परिवर्तन हुदैन, क्रमश हुन्छ भन्ने गर्छन् । तर, त्यो विस्तार भनेको कहिले हो ? यो मानसिकतालाई हामीले कसरी फेर्ने ? यसबारे आमसञ्चार माध्यमले धारणा बनाउनुपर्छ,’ अध्यक्ष विश्वकर्माले भने । उनले पछिल्ला वर्षहरूमा दलित समुदायले विभिन्न अधिकारहरू पाएपनि दलितहरूमाथि हुने हिंसा भने बढ्दै गएकोप्रति ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रकी नेतृ अञ्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकारहरु एकजुट भएर अघि बढ्न आग्रह गरिन् । उनले पछिल्लो समय राजनीतिक दल, संसद, सरकार र अन्य विभिन्न निकायमा दलित सहभागिता वृद्धि भएपनि दलित समुदायको मुक्तिको मुद्धा भने त्यसरी उठ्न नसकेको बताइन् ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले दलित समुदायका पत्रकारको क्षमता विकास र उन्नयनका लागि महासंघ प्रतिवद्ध भएको बताए । उनले महासंघले पत्रकार र सञ्चार माध्यममा समावेशिता र सहभागिताको कुरा मात्रै नउठाउने भन्दै समाजमा जकडिएर रहेको जातीय विभेद र छुवाछुतको अन्त्यकै लागि विशेष पहल गर्न सक्ने बताए  । उनले महासंघले आफ्नो संगठनमा दलित सहभागितालाई ध्यान दिएको भन्दै पत्रकारहरूको क्षमता विकासका लागि काम गर्ने प्रतिबद्धता पनि जनाए ।

महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले दलित पत्रकारको समस्या पहिचान गरी समस्या समाधान गर्न सम्बन्धित संघ संस्थासँगको अन्तरक्रियाखमार्फत अघि बढ्ने बताए ।

महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अझैपनि सञ्चारगृहमा दलित पत्रकारको समानुपातिक सहभागिता हुन नसकेको बताए । ‘पत्रकारको नाम सुन्ने बित्तिकै ऊमाथि गर्ने व्यवहार फरक पर्छ, पत्रकारले पनि विभेद खेपिरहेका छन्,’ उनले भने, ‘मुलधारका सञ्चार माध्यमले नै दलित समुदायका पत्रकारलाई स्थान दिएका छैनन् । त्यो समुदायको मुद्धालाई कति लेख्छन् ? हामीले देखेकै छौँ ।’

कार्यक्रममा बोल्दै पत्रकार बाबुराम विश्वकर्माले पत्रकारितामा पनि राज्यसत्ताको धङ्धङ्गी रहेको बताए । उनले दलितमाथि हुने गरेको विभेद र हिंसाका घटनालाई राज्यले गम्भीर मुद्दाका रुपमा नलिने गरेको भन्दै सञ्चार माध्यमको चरित्र पनि त्यस्तै रहेको बताए । ‘अहिले पनि हामी जातीय हिंसा सहिरहेका छौँ । त्यो पत्रकारले होस्, वा नेताले होस् । आमरुपमा हाम्रो भोगाई उही छ,’ उनले भने, ‘मिडिया पनि त्यो समाजभन्दा अलग छैनन् । मिडियामा त्यस्तै हालत छ ।’

यस्तै लेखक तथा अध्येता जेबी विश्वकर्माले दलित समुदायकाले सञ्चार माध्यमभित्रै विभेद खेपिरहेका बताए । ‘मिडियामा दलितमाथिको संरचनागत विभेदको कायम छ । दलितमाथिको अत्याचारका घटनामा मिडियाको भूमिका कमजोर छ,’ उनले भने ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank