पाति–राजा

प्रकाश तिवारी ९ आश्विन २०७८, शनिबार १४:२९

तिनताका रञ्जित र सुनैना सँगै हिँड्थे, खान्थे, खेल्थे । उनीहरूको सामिप्यता देखेर अन्य सहपाठीहरू ईष्र्या गर्थे । कुरा रञ्जितको घरसम्म पुग्यो । सुनैनासँगको बढ्दो हिमचिम रञ्जितका बाबुआमालाई मन परेको थिएन ।
‘धेरै सम्झाएँ, छोराको बुद्धि फि¥यो भनेको फेरि उस्तै ! हामी बाहुन, सुनैना ‘पानी नचल्ने जातकी’ केटी ! जातभात, रितिरिवाज क्यै मिल्दैन । सबैले तिमेरका कुरा गर्चन् । तँ ऊसित लठारिएर हिन्चस् रे !’ आमा सीताको गुनासो हुन्थ्यो ।
‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन !’ महाकवि देवकोटा त्यसै भन्थे । सुनैना जुनसुकै जातकी होस्, मेरी जीवनसाथी हुन योग्य छे । ढिलो चाँडो म उसैसित बिहा गर्चु आमा !’ रञ्जितले जबाफ दिएको थियोे ।
‘कविहरू लहडी हुन्चन् । लहडमा जे पनि लेख्चन् ! समाज कविताले हैन परम्परा र रितिरिवाजले चल्च । कलेजका कक्षा कोठा र नेताका भाषणमा समानता र स्वतन्त्रताका जति ठुलो गुड्डी हाँके पनि जातीयता समाजको यथार्थ हो । त्यसैले सुनैनालाई बिर्सिदे ।’ बाबु उत्तमले पनि सम्झाउँथ्यो ।
तर रञ्जित र सुनैना पछाडि फर्किनै नसक्ने बिन्दुमा पुगेका थिए । पछाडि फर्कनु भनेको पानीबाट माछा अलग गर्नु जस्तै हुन्थ्यो ।
सुनैना सपनामा दुलही बनेर आउँथी । रञ्जितसँग साथै जिउने साथै मरने बाचा–कसम खान्थी । ‘तिम्रो अभावमा म तत्क्षण मृत्यु वरण गर्नेछु !’ ऊ भन्थी ।
एकातिर जन्म दिने मातापिताको आनाकानी अर्कोतिर प्रेममा जातीय अहम निषेध गरी देखाउन चाहने भावुक जवानी ! एक रात रञ्जित किंकर्तव्यविमूढ हुँदै ओछ्यानमा पल्टिएको थियो । घरि ओल्लोे घरि पल्लोे कोल्टो गर्दागर्दै स्वप्निल संसारमा विचरण गर्न थाल्यो ।
…………….
झुल्के घामको लालिमा किरणहरूले वातावरणमा नयाँ उच्छ्वास छरिरहेका थिए । रञ्जित प्रिय सुनैनाको साथ बोटानिकल गार्डेनमा घुमिरहेको थियो ।
‘हेर त जाताततै संभ्रान्त फूलहरू मुस्कुराइरहेका ! संभ्रान्त फूल अर्थात् सयपत्री, मखमली, गुलाफ अनि कमल ! खै त यहाँ हामीले द्यौरालीमा चढाउँदै आएको पाति ? मालीको नजरमा के गुलाफ, के पाति ? ए माली ! तँ किन यति विभेदकारी ? किन लगाइनस् तैले बगैँचामा हरियो पाति ?’ सुनैनालेले दुखेसो गरी ।
सुनैनालाई बगैँचामा हरियो पातिको बोट हेर्ने रहर थियो । उनीहरू बगैँचाका चारै कुना चहारे तर कहीँ कतै ‘पाति’ भेटिएन ।
‘विविधतायुक्त प्रकृतिको आँगनमा पनि किन यति विभेदकारी माली !’ सुनैना भुट्भुटिई ।
‘हो सुनैना ! प्रकृति जगतको सर्वश्रेष्ठ पाठशाला हो । भेदभावरहित उसको आँगनमा हजारौँ प्रजातिका फूलहरू एकसाथ फुल्छन् । के सयपत्री, के मखमली, के बुकी, के उनिउँ । प्रकृतिले कहिल्यै कुनै फूललाई फुल्नबाट निषेध गरेन । तर मानिसले भने सयपत्रीलाई गमलामा रोप्यो, पातिलाई जरैदेखि उखेलेर फाल्यो ! मानिसमा जस्तै बगैँचाका फूलहरूमा पनि वर्गीय र जातीय विभेद कति चर्को ? मानिसमा ‘शूद्र दमै–कामी !’ जनावरमा शूद्र सुँगुर ! फूलमा शूद्र पाति ! एक्काइसौँ शताब्दीमा पाइला टेकेको मानिसले निकाल्ने निष्कर्ष यस्तै तूच्छ हुन्छ ? किन मानिस प्रकृतिको काखमा जातीयताको कृत्रिम बीज रोप्न खोज्छ !’ रञ्जितले सुनैनाका कुरामा सही थाप्योे ।
रञ्जित बोल्दै थियो । अज्ञातस्थलबाट अनौठो आवाज आयो । आवाज मानिसको जस्तै थियो ।
‘सुन त रञ्जित ! मानिस बोलेजस्तो आवाज आइरहेछ ।’ सुनैनाले भनी ।
दुबैले चौतर्फी नजर दौडाए तर कोही देखिएन ।
फेरि अर्को आवाज आयो ।

मानिसमा जस्तै बगैँचाका फूलहरूमा पनि वर्गीय र जातीय विभेद कति चर्को ? मानिसमा ‘शूद्र दमै–कामी !’ जनावरमा शूद्र सुँगुर ! फूलमा शूद्र पाति ! एक्काइसौँ शताब्दीमा पाइला टेकेको मानिसले निकाल्ने निष्कर्ष यस्तै तूच्छ हुन्छ ? किन मानिस प्रकृतिको काखमा जातीयताको कृत्रिम बीज रोप्न खोज्छ !’

‘सुन मनुवा ! तँ अबुझ होस् । शठ होस् । नादान होस् ! आज म तँलाई फूलको जातीयताबारे तैँले आजसम्म नसुनेको कुरा बताउँछु । छोउँछोउँ, टिपुँटिपुँ लाग्ने सुन्दर फूल गुलाफ फूलहरूको माथिल्लो जाति हो ! मानिसमा उपल्लो जाति ब्राह्मण भएजस्तै ! अनि सयपत्री क्षेत्री, कमल वैश्य, पाति शूद्र !’ सन्देश विचित्रको थियो ।
शीत ऋतुको समय थियो । बोटबिरुवा र झारपातहरू आफ्ना अङ्गबाट रात्रिकालीन शीत टक्टक्याउने तरखरमा थिए । उनीहरू बगैँचाबाट बाहिर निक्लिए । गेटको ठिक अगाडि पातिको बुट्यान आँखाबाट अश्रुधारा बगाउँदै रोइरहझैँ लाग्थ्यो । रञ्जितका आँखा शूद्र ठानिएको फूल ‘पाति’माथि परे । रञ्जित र सुनैनाले उसको आँखाबाट बगिरहेकोे आँसु पुछिदिए । मायालु हातले सुम्सुम्याए । पहिलोपटक कसैको हातको प्रगाढ मायाँ पाएकोमा पाति खुसी हुँदै आफ्नै भाषा र लयमा बोल्न थाल्यो–
‘मानिसको परिभाषामा म पनि यौटा फूल ! तर मेरो दुर्भाग्य ! मैले कहिल्यै लाल रङ्गमा फूल्ने सौभाग्य पाइनँ । बगैँचाका संभ्रान्त फूलहरूसँग कुममा कुम जोडी भलाकुसारी गर्न पाइनँ ! पुजारीहरूको पहिलो रोजाइमा कहिल्यै पर्न सकिनँ । म एक तितेपाति । फूलहरूको समाजमा बाँच्ने सीमान्तकृत प्रजाति ! म पुग्छु बिरलै भगवानको शिरमाथि ! बगैँचा मेरो लागि विरानो मुलुक !’
पातिको मर्मस्पर्शी बयानले रञ्जितको मन छोयो । फूलहरूमाझको जातीय विभेद देखेर उसको मन उद्वेलित भयोे । अनायास उसका आँखा रसाउन थाले । उसले पातिको बोटलाई प्रेमसाथ सुमसुम्यायोे । रञ्जितलाई पातिको त्यो बिरुवा घरमा लगेर हुर्काउन मन लाग्यो । तब उसले त्यसलाई घरको गमलामा लगेर सा¥यो ।
बोटानिकल गार्डेनको मूल गेट अगाडि पालेझैँ ठिङ्ग उभिएर पनि मानिसको नजरमा बिरलै पर्नेे त्यस ‘शूद्र फूल’ घरको गमलामा सजिने सौभाग्य पाएकोमा दङ्ग थियोे । रञ्जितले पातिलाई मलजल, गोडमेल गरी हुर्कायो । असीम मायाँ र स्याहारसुसार पाएर अपहेलित पाति मौलाउँदै गयो । हाँगाबिँगाहरू फैलिँदै गए । प्रेमील स्पर्शले द्रविभूत उसका ओठहरू चलमलाउन थाले । पाति भावुक भयो ।
‘पानीझैँ समय युगौँदेखि अविरल प्रवाहित छ । पहराको कठोर छातीलाई छेदन गरी मैदान पुगेको नदीजस्तै हिजो र आजको मेरो जीवनका पानाहरूमा कति धेरै भिन्नता ? मेरो परिभाषामा वर्तमान भन्नु मायाको सागर ! विगत उपहासको ढुङ्गे बगर !’ आफ्नो विगतलाई वर्तमानसँग तुलना गर्दै पाति बोल्न थाल्यो । उता
‘रञ्जितको घरको गमलामा अति सुन्दर पाती छ रे !’ चर्चा सर्वत्र सुरुभयो ।
‘पाति पनि यति सुन्दर हुँदोरहेछ !’ देख्नेहरू भन्ने गर्थेे । पाति बिस्तारै–बिस्तारै ब्यापक चासोको विषय बन्यो । उसको बीजहरूबाट छेउछाउमा थुप्रै सन्ततीहरू पैदा भए ।
‘तँ त्याज्यबाट पूज्य भइस् । तेरो यात्रा अझै टुङ्गिएको छैन । तँ अब रैतीबाट राजा बन्नुछ । एक दिन तँ भारत वर्षको राजा हुनेछस् । नसोध, के यो सम्भव छ ? याद गर् महामानवका वचनहरू– संसारमा असम्भव केही छैन !’ यो अभियानमा म तेरो सारथी बन्नेछु । तेरो शिरमा मुकुट परेको दिन गिनिज बुकमा नयाँ दस्ताबेज लेखाउनेछु !’ रञ्जितले उद्घोष ग¥यो ।
रञ्जितमा विचित्रको रहर जागेको थियो । उसले पातिको राज्याभिषेक गर्ने विचार ग¥योे । राज्याभिषेक कार्यक्रममा उपस्थित हुन निम्ता बाँडियोे । पातिको राज्याभिषेकका लागि घर नजिकैको चौरमा भव्य मञ्च बनाइयो । मञ्चको बिच भागमा कलात्मक सिंहासन तयार गरियोे ।
राज्याभिषेकको दिन कार्यक्रमस्थलमा आमन्त्रितहरू खचाखच भरिएका थिए । वातावरण उल्लासमय थियो ।
कार्यक्रम सुरुभयो । मङ्गल धुन बज्यो । पातिको गमला सिंहासनमा लगेर राखियोे । रञ्जितले पातिको शिरमा श्रीपेच पहि¥याइदियो ।

पातिको राज्याभिषेकको घटनालाई हेर्ने दृष्टिकोण सबैको एउटै थिएन । ‘शूद्र फूललाई मुकुट पहि¥याउने मूर्ख !’ भन्दै गाली दिने दिने र ‘वेल डन !’ भन्नेहरू सराबरी थिए ।
‘पातिको शिरमा मुकुट यौटा बिम्ब हो । समाजका तिरस्कृत, बहिस्कृत र सीमान्तकृतप्रतिको सम्मानको प्रतीक हो योे ! युग परिवर्तनको आँधीले शूद्र सम्झी किनारामा फ्याँकिएकाहरु पनि कुनै दिन शासन सत्ताको सर्वोच्च स्थानमा पुग्न सक्छन् भन्ने कुराको द्योतक हो यो ! आउनुस् आज जातीयताको अन्तिम सतगती गरौँ अनि भनौ– संसारका सम्पूर्ण मानव एक हौँ !’ रञ्जितले थप उद्घोष ग¥यो । सुनैनाले रञ्जितको स्वरमा स्वर मिलाई ।
‘पातिको पनि राज्याभिषेक ! कहीँ नभएको जात्रा हाँडिगाउँमा… !’ असहमत हुनेले हँसीमजाक उँडाए ।

कार्यक्रमको समापन हुँदै थियो । मञ्चको बीचभागमा भयानक विष्फोट भयो । विष्फोटमा परी पातिको गमलाको नामोनिसान हरायो । रञ्जित बेजोडले चिच्यायो । भयानक षड्यन्त्रको आभाससंगै ऊ निद्राबाट बिउँझियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank