किन बाध्य छन्, हिन्दुहरु जात व्यवस्था मान्न ?

कमला हेमचुरी ८ कार्तिक २०७७, शनिबार ०९:३१

मैले केही समय अगाडी कथित अछूतहरुको एउटा कार्यक्रममा डा. सुरेन्द्र केसी जसलाई अथिति वक्ताको रुपमा उक्त कार्यक्रममा बोलाईएको थियो सोधेकी थिए-“के तपाईले आफ्नो छोरा या छोरीको विवाह कथित अछूतसंग गरी दिन सक्नु हुन्छ ?” उनले इमान्दारितापूूर्वक जवाफ दिएका थिए -“सक्दिन ।”
डा. सुरेन्द्र केसी एक बौद्धिक व्यक्तित्व मात्र होइनन् । माक्र्सवादमा विद्यावारिधी गरेका व्यक्ति हुन् । उनले समाजको संरचना, उत्पीडनको हरेक पहलुुको अध्ययन अनुसन्धान गरेका छन् र हरेक उत्पीडनको मूूल श्रोत भनेको शोषणमा आधारित राजनैतिक सामाजिक व्यवस्था हो भन्ने सबै कुरा उनलाई थाहा छ । उनी कथित अछूत माथि भएको विभेदको पनि व्यापक रुपमा विरोध गर्छन् र कार्यक्रमहरुमा आएर आफ्ना भनाईहरु पनि राख्छन् । तर जब आफ्नो सिद्धान्त, दर्शन, बोली भाषणलाई व्यवहारमा कार्यान्वयन गर्ने समय आउछ त्यतिबेला उनले आफूले बोलेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न चुक्छन् । उनले मानव निर्मित काँडेतारको यो मानसिक पर्खाललाई अन्त्य गरेर समतामूलक समाज निमार्ण गर्ने अभियान म आफै आफ्नो परिवारबाट सुरु गर्छुु भन्ने अवस्थामा उनी छैनन् । र उनी आँट पनि गर्दैनन् । जातको सवाललाई लिएर सिद्धान्त, दर्शन अलाप्ने बौद्धिक पात्र मध्ये डा. सुुरेन्द्र केसी एउटा प्रतिनिधी पात्र मात्र हुन् । हिन्दु वर्णाश्रम संरचना भित्र जन्मिएको हरेक व्यक्ति जसले आफूलाई बौद्धिक वा विद्धान भन्छ उसको सोच, धारणा र व्यवहार डा.केसीको भन्दा फरक छैन् । हुन पनि सक्दैन । किनभने उनीहरु एउटै किसिमको विचार, दर्शन दृष्टिकोणबाट निर्देशित छन् । उनीहरुले चाहेर पनि आफूलाई बदल्न सक्दैनन् । किनभने उनीहरु केवल एउटा व्यक्तिमात्र होइनन् । उनीहरु त्यो समाजको एउटा सदस्य पनि हुन जसले जात व्यवस्थालाई धर्मसम्मत मान्छ र त्यसको उलंघनलाई सदाचारको रुपमा लिन्छ ।

धर्मशास्त्र नै विभेदको मूल श्रोत
बुद्ध धर्म बाहेक संसार भरी अभ्यासमा रहेका सबै धर्मले यो ब्रम्हाण्डको श्रृष्टि एउटा अदृश्य शक्तिले गरेको हो भन्ने विश्वास गर्छन् । चाहे त्यो इसाई, हिन्दु वा इस्लाम होस् सबैले यो श्रृष्टिको सृजना त्यो अदृश्य शक्तिले गरेको हो भन्ने विश्वास गर्छन् । जसलाई उनीहरुले परमेश्वर, ईश्वर वा अल्लाहको नाम दिएका छन् । यी सबै धर्मालम्बीहरुको आ–आफ्नो धर्मशास्त्र छ । त्यही धर्मशास्त्रमा श्रृष्टिको परिकल्पना गरीएको छ । त्यतिमात्र होइन मानवले व्यवहारिक जीवनमा गर्ने जे जति आचरण र व्यवहार छन् ति कुराहरु समेत धर्मशास्त्रमा उल्लेख गरिएको छ । र मानिसले हर दैनिक गर्ने आचरण र व्यवहारलाई समेत ईश्वरको आदेशको रुपमा व्याख्या गरिएको छ । हिन्दु धर्म बाहेक अन्य धर्मशास्त्रमा मानिसमानिस बीच विभाजनको सिमा रेखा नकोरिएकोले उनीहरुमा यो मानसिक पर्खालको विजारोपरण भएन । तर हिन्दु धर्ममा जातको सिमारेखा कोरिएकोले यो मानसिक पर्खालको रुपमा विजारोपण भएर गयो । हरेक धर्मशास्त्रमा ईश्वरको आदेश नमान्नेलाई मनोवैज्ञानिकरुपमा विभिन्न सजायको व्यवस्था गरिएको छ । स्वर्गलोक र नर्कलोकको परिकल्पना यही मान्यताबाट बिकसित भएको हो । तर हिन्दु धर्ममा त्यो भन्दा माथि उठेर जात व्यवस्था नमान्ने विभेदलाई नमान्नेहरुलाई कठोर सजाए समेत दिने व्यवस्था गरियो र त्यसलाई दैवी संहिताको रुपमा मान्यता समेत दिइयो । मनुस्मृतिमा उल्लेख गरिएको छ– “जुन व्यक्तिले शुद्रलाई धर्मपोदेश अथवा व्रतानुष्ठानको निर्देशन दिन्छ त्यो व्यक्ति त्यो शुद्रको साथमा असंवृत्त नायक घोर अंधकारवाला नर्कमा जान्छ ।” त्यस्तै “कुनै ब्राह्मणले शुुद्रलाई वेदको ज्ञान दिन्छ भने उसले एक वर्षसम्म जौको आटो खाएर त्यसको पश्चाताप गर्नु पर्ने छ ।”
शास्त्रको संहितालाई यति कडाईका साथ लागु गरिएको छ कि एउटा हिन्दुलाई शास्त्रको विरुद्धमा कुनै तर्क र बहस गर्ने अधिकार छैन् । उनीहरुले वेद र स्मृतिलाई अनिवार्य रुपमा पालन गर्नु पर्दछ । वेद र स्मृतिहरुको व्याख्या गर्ने सिद्धान्तका ेरुपमा तर्कवादलाई पूर्णत निन्दनीय बनाईएको छ । यसलाई नास्तिकताको समान अनैतिक भनिएको छ । यसको मतलब हो जसले हिन्दुु धर्म मान्छ उसले जातलाई मान्नुको विकल्प छैन् । धर्मशास्त्र नै जातको प्रवर्तक भए पछि एउटा कथित हिन्दु उ जतिसुकै विद्धान होस्, शिक्षित, सचेत जागरुक होस् उसले आफ्नो धर्म भन्दा बाहिर गएर सोच्न सक्दैन । त्यसैले आज संसार भरी जहाँ जहाँँ हिन्दु गएका छन् त्यहाँ त्यहाँँ जात व्यवस्था मौलाउनुको कारण यही हो ।

वास्तविक रुपमा हिन्दु हुनको लागि र हिन्दु संस्कारको अभ्यास गर्नको लागि जैन धारणा गर्न जरुरी छ । ब्राह्मण, क्षेत्री र वैश्य तीनै वर्णका मानिसहरुलाई यज्ञोपवित संस्कार गरेर जनैधारणा गर्ने अधिकार हिन्दु धर्मशास्त्रले दिएको छ । तर यो संस्कार शुद्रहरुको लागि पूूर्णरुपमा निषेध गरिएको छ । यही संस्कार नै हिन्दु र अहिन्दुको बीचमा स्पष्ट पर्खाल निमार्ण गर्ने मुख्य आधार बनेको छ ।

 

सामाजिक बहिस्करणको डर
हिन्दुहरु जातको सवालमा यति कट्टर छन् कि उनीहरु आफ्नो जात भन्दा बाहिरको समाजको परिकल्पना पनि गर्न सक्दैनन् । जन्म देखि लिएर मृत्युुवरण गर्दा समेत उनीहरु आफ्नो जात भन्दा बाहिर गएर कुुनै पनि सामाजिक संस्कारको अभ्यास गर्न सक्दैनन् । यो धारणा कथित छूतमा मात्र होइन कथित अछूतहरुमा पनि त्यतिकै प्रबल रहेको छ । किनभने उनीहरु सबै जातको दास भएर बाँचेका छन् । हरेक जातले आ–आफ्नो एउटा–एउटा टापु बनाएर बसेका छन् । र जातको नियमलाई तोडेर अगाडि बढ्न खोज्नु भनेको बहिस्करणमा पर्नु हो । जातबाट निस्कासित हुनु हो । कुनै पनि व्यक्तिलाई आफ्नो जातबाट बहिस्करण गर्ने अधिकार त्यो जाति वा समुदायलाई धर्मले दिएको छ । जातबाट बहिस्कृति हुनुको अर्थ हो उसलाई समाजले कुनै पनि कार्यमा भाग लिन नदिनु हो । र समाजबाट बहिस्करणमा पर्नु भनेको एउटा व्यक्तिको लागि मृत्यु भन्दा पनि कठोर सजाए हो । त्यसैले एउटा हिन्दुमा यो साहस छैन कि उसले जातको सिमालाई तोडेर आफ्नो स्वतन्त्र अभिव्यक्ति दिन सकोस् । व्यक्तिले आफ्नो स्वतन्त्र अभिव्यक्ति दिन सक्ला तर उ आफ्नो समाज भन्दा बाहिर गएर जिउन पनि सक्दैन । त्यसैले आफ्नो स्वतन्त्र अभिव्यक्ति अनुुसारको आचरण गर्न सक्दैन । हिन्दुहरुको लागि जात नै उसको समाज हो ।
हामी अन्तरजातीय विवाह अन्तरघुलनको परिकल्पना गर्छौ । तर बहुसंख्यक हिन्दुहरु यसको खिलाफमा छन् । किनभने यो शास्त्रसम्मत जातीय संरचनाको विरुद्धको व्यवहार हो । केही समय अगाडि नेपालका चर्चित पत्रकार अनिल परियार उनकी ब्राम्हण पत्नी आरती लम्सालको अन्तरवार्ता सुनेको थिए । उक्त अन्तरवार्तामा आरतीले आफ्नो अन्तरताजीय विवाहलाई परिवारले स्वीकारे वापत उनको आमाबाबुले समाजबाट भोगको अदृश्य बहिस्करणको पीडा अभिव्यक्त गरेकी थिइन । यसलाई हामीले स्वभाविक रुपमा लिनुपर्दछ । जुन समाजले आफ्नो जात भन्दा बाहिरको सम्बन्धलाई धर्म सम्मत मान्दैन त यसलाई पापको रुपमा ग्रहण गरेको छ भने उसले अन्तरजातीय विवाह र अन्तरघुलनलाई सहज तरिकाले स्वीकार्नै सक्दैन । यो सम्बन्धमा अम्बेडकर लेख्छन्–“अन्तरजातीय खानपान एंव अन्तरजातीय विवाहको लागि आन्दोलन गर्नु भनेको हिन्दुहरुलाई जबरजस्ती विष पिलाउनु सरह हो । प्रत्येक स्त्री र पुरुषलाई शास्त्रको गुुलामीबाट मुक्त गराउनु होस्, शास्त्रद्धारा प्रतिष्ठापित हानिकार धारणाबाट उनीहरुको मस्तिष्कलाई शुद्ध गर्नु होस्, तब हेर्नु होस् उनीहरुले तपाईहरुले नभनिकनै आफैले अन्तरजातीय खानपान तथा अन्तरजातीय विवाहको आयोजना गर्ने छन् ।”

कथित अछूतहरुलाई हिन्दु नमान्नु
हिन्दु धर्मशास्त्र अनुुसार कथित अछूतहरु हिन्दु होइनन् । र कथित अछूूत माथि उनीहरुको घृणा यति धेरै छ कि उनीहरुलाई मन्दिर प्रवेश गर्न दिइदैन । छोएको खाइदैन । उनीहरुको संस्कार कर्मकाण्ड हिन्दुु ब्राह्मणले गर्दैनन् । वास्तविक रुपमा हिन्दु हुनको लागि र हिन्दु संस्कारको अभ्यास गर्नको लागि जैन धारणा गर्न जरुरी छ । ब्राह्मण, क्षेत्री र वैश्य तीनै वर्णका मानिसहरुलाई यज्ञोपवित संस्कार गरेर जनैधारणा गर्ने अधिकार हिन्दु धर्मशास्त्रले दिएको छ । तर यो संस्कार शुद्रहरुको लागि पूूर्णरुपमा निषेध गरिएको छ । यही संस्कार नै हिन्दु र अहिन्दुको बीचमा स्पष्ट पर्खाल निमार्ण गर्ने मुख्य आधार बनेको छ । कथित अछूत मात्र होइन पानी चल्ने शुद्रहरु समेत हिन्दुु होइनन् भने एउटा मुख्य आधार यही हो । यसको पुष्टि भारतको जनगणनाको तथ्याङ्कबाट गर्न सकिन्छ । भारतमा जनगणना ब्रिटिशहरुको शासनकालमा सन १८७० बाट सुरु भएको हो । प्रत्येक दस वर्षमा गरिने जनगणना प्रतिवेदनमा भारतका मान्छेहरुको सामाजिक एंव धार्मिक जीवनको बारेमा धेरै महत्वपूण जानकारीहरु प्राप्त गर्न सकिन्छ । जनगणना आयुक्तले सन् १९१० को जनगणनामा एउटा स्तम्भ धर्म माथि आधारित जनगणना राखेको थियो । यही शिर्षक अन्तरगत जनगणनालाई १. मुुस्लिम २.हिन्दु ३. इशाई आदि समूह विभाजन गरी देखाइएको छ । सन् १९१०को जनगणनाले प्रचलित प्रथालाई छोडेर एउटा नया कुरा अपनायो । पहिलो पटक हिन्दुहरुलाई तीनवटा अलग श्रेणीमा विभाजन ग¥यो– १.हिन्दु २.प्राकृतिक पूूजक तथा जनजाति ३. अछूत र यसको आधार पनि छुट्याई दियो । जनजाति वा प्राकृतिक पूजक र अछूतहरुलाई हिन्दुहरुबाट छुट्याउने दसवटा आधारहरु दिइयो । ती हुन्
१.जसले ब्राह्मणको श्रेष्ठतालाई अस्वीकार गर्दछन् ।
२.जसले ब्राह्मण या मान्य हिन्दुु गुरुबाट मन्त्र ग्रहण गर्दैनन् ।
३.जसले वेदलाई प्रमाण मान्दैनन् ।
४.जसले हिन्दु देवताको पूजा गर्दैनन् ।
५.उच्च ब्राह्मणहरुले उनीहरुको परिवारको पुरेत्याही गर्दैनन् ।
६.जसको कुनै पनि ब्राह्मण पुरेत छैनन् ।
७.जसलाई मन्दिरभित्र प्रवेश गर्न दिइदैन ।
८.जो स्पर्श वा केही दूरीको सीमासम्म अपवित्रताको कारण हुन्छन् ।
९.जसले आफ्नो मृतकलाई गाड्छन् ।
१०.जसले गाईको मासु खान्छन् र गाईको पूजा गर्दैनन् ।
यो प्रावधान अनुसार जसले कथित अछूतहरुलाई हिन्दुहरुबाट अलग गराउछ त्यो हो–२,५,६,७ र १०  यी प्रावधानहरुले के स्पष्ट गर्छ भने केवल जनजाति वा आदिवासीहरु मात्र हिन्दुु होइनन् कि कथित अछूतहरु पनि हिन्दु होइनन् ।  विगतमा कहिल्ये पनि कथित अछूतहरुको पुुरेत ब्राह्मण थिएनन् । र उनीहरुले इतिहासको एउटा कालखण्ड देखि गाईको मासु खादै आएका छन् । नेपाल हिन्दुकरण भएर गाईको मासु खान प्रतिबन्ध लागे पछि मात्र कथित अछूतहरुले गाईको मासु खान छोडेर भैसीको मासुु खाने प्रचलन सुरु भएको हो । केही जाति समुदायले धेरै पछिसम्म पनि मरेको गाईको मासु खाने गर्थे । कथित अछूतहरुको घृणा र हिन्दु धर्मको सिमा भन्दा बाहिर राख्नुको मूल कारण नै यिनै हुन । किनभने उनीहरु यो क्षेत्रका मूलबासी र बहुसंख्यक कथित अनार्य र उनीहरुसंग दुष्मनीपूर्ण सम्बन्ध भएको र त्यो सम्बन्धलाई धर्मशास्त्रले अनुमोदन गरेकोले नै हिन्दुहरु कथित अछूतपन र जात व्यवस्थालाई मान्न बाध्य छन् ।
यदि कुनै कथित अछूत हिन्दु भएर बस्न चाहन्छ र जात व्यवस्थाको अन्त्य पनि चाहन्छ भने त्यो विरोधाभाषपूर्ण सोच हो । धर्मशास्त्रहरुलाई ईश्वरीय आदेशको रुपमा स्थापित गरिएकोले त्यसको उलंघन गर्नु भनेको धर्मको विपरित दिशा तर्फ हिँड्नु हो । जुुन कुनै पनि धर्ममा आस्था राख्ने व्यक्तिलाई स्वीकार्य हुदैन । अहिले जातको प्रश्न भन्ने टेलिभिजन शो गर्दा समेत विरोध भै रहेको छ । हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधका घटना केवल जात र धर्मको नाममा भै रहेको छ । के यी घटनाहरु कथित अछूतहरु माथि जात र धर्मका नाममा भै रहेको विभेदलाई पुष्टि गर्न काफी छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank