सरकारसँग सहमतिपछि गरिमाको अन्त्येष्टि

दलित अनलाइन भदौ ७, २०८३

काठमाडौँ —    बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३  वर्षीया बालिका गरिमा चौधरी  हत्याको विरोधमा चार दिनदेखि जारी सडक संघर्ष सरकार र पीडित परिवारबीच शनिबार मध्यरातमा सहमति भएपछि परिवारले आइतबार बालिकाको शव बुझेका थिए।

गरिमाको शव गत मंगलबारदेखि बारा सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो। घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाही र न्यायको माग गर्दै परिवार तथा स्थानीयले बुधबारदेखि वीरगञ्ज–पथलैया सडकखण्डमा आन्दोलन गर्दै आएका थिए। आन्दोलनका कारण उक्त सडकखण्डमा पटक–पटक यातायात प्रभावित भएको थियो।

सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं पुगेका गरिमाका बाबु मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्यान्ह काठमाडौंमा भएको छलफलपछि बारा फर्किएका थिए। उनीहरू बारा फर्किएपछि प्रहरीले परिवारलाई कलैया प्रादेशिक अस्पताल लगेर शव बुझाएको थियो।

शव बुझेर परिवारजन तथा आफन्तहरू गरिमाको अन्तिम संस्कारका लागि कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा पुगेका थिए। हिन्दु परम्पराअनुसार गरिमाका बाबु मनोज चौधरीले छोरीको पार्थिव शरीरमा दागबत्ती दिए।

गरिमाको अन्त्येष्टिका क्रममा घटनालाई लिएर स्थानीयवासीमा शोक र आक्रोश देखिएको थियो। अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायत सुरक्षा अधिकारी तथा स्थानीयवासीको उपस्थिति थियो।

गरिमाको हत्या भएपछि दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै बारा तथा आसपासका क्षेत्रमा व्यापक विरोध प्रदर्शन भएको थियो। पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही तथा बालबालिकाको सुरक्षाको सुनिश्चितता लगायतका विषय उठाउँदै आन्दोलन गरेका थिए।

सरकार र पीडित परिवारबीच शनिबार राति भएको सहमतिपछि सडक आन्दोलन स्थगित गर्ने र शव बुझेर अन्त्येष्टि गर्ने वातावरण बनेको हो। सहमतिपछि पनि गरिमामाथि भएको जघन्य अपराधको निष्पक्ष अनुसन्धान र दोषीलाई कानुनअनुसार अधिकतम कारबाही हुने विषयमा परिवार तथा स्थानीयवासीले चासो राखेका छन्।

गरिमाको अन्त्येष्टिसँगै केही दिनदेखि सडकमा केन्द्रित आन्दोलन तत्कालका लागि रोकिएको भए पनि उनको न्यायको माग भने निरन्तर उठिरहेको छ। स्थानीयवासीले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank