भूमिहीन र सुकुम्बासी व्यवस्थापनमा सरकारको तयारीमाथि कांग्रेस नेता आङ्देम्बेको प्रश्न

दलित अनलाइन साउन १९, २०८३

काठमाडौँ —  नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकारले विधि र मानवीय संवेदनशीलता नअपनाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै आङ्देम्बेले वास्तविक भूमिहीनको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरे।

उनले नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने भएपनि वास्तविक भूमिहीन र सुकुम्बासीलाई विकल्प नदिई जबर्जस्ती विस्थापित गर्नु गलत भएको बताए।

बैठकमा उनले सुनसरी, सिराहा, धनुषा र पर्सालगायत जिल्लामा भएका घटनामा सरकारले नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा जवाफ दिनुपर्ने माग गरे । घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्ने उनको माग थियो।

आङ्देम्बेले विपद् व्यवस्थापनमा समेत सरकारको तयारी कमजोर रहेको आरोप लगाए। उनले इलाम, पाँचथरलगायत क्षेत्रमा भएका पहिरो र बाढीका घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनको विषयमा बोल्दै उनले सरकारले बिना तयारी डोजर चलाएर नागरिकलाई विस्थापित गरेको दाबी गरे।

मनोहरा, बल्खु र थापाथली क्षेत्रबाट विस्थापित भएका नागरिकको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको उनको भनाइ थियो।

उनले विस्थापनका क्रममा मृत्यु भएका नागरिकका घटनालाई सामान्य रूपमा लिन नमिल्ने भन्दै डोजरको त्रास, योजनाविहीन स्थानान्तरण, मानसिक तनाव र कमजोर व्यवस्थापनका कारण समस्या सिर्जना भएको बताए ।

कांग्रेस नेता आङ्देम्बेले वास्तविक भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूलाई लालपुर्जा तथा सुरक्षित पुनस्र्थापनाको व्यवस्था गर्नुपर्ने बताए। साथै नदी किनार, वन क्षेत्र, निकुञ्ज र संवेदनशील क्षेत्रको संरक्षण गर्नुपर्नेमा पनि उनले जोड दिए।

उनले विगतमा भूमिसम्बन्धी कानुन संशोधनमार्फत दीर्घकालीन समाधान खोज्ने प्रयास भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उल्लेख गरे।

सरकारले भूमि आयोग खारेज गरेर समस्या समाधानको सट्टा राजनीतिक नियुक्तिमा ध्यान दिएको आरोप लगाउँदै उनले बिना तयारी गरिएको विस्थापनले समस्या समाधान नभई थप जटिल बनाएको बताए।

आङ्देम्बेले विस्थापित नागरिकलाई तत्काल आधारभूत सुविधा उपलब्ध गराउन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अपांगता भएका व्यक्तिको विशेष व्यवस्थापन गर्न सरकारसँग माग गरे।

उनले बालबालिकाको शिक्षा निरन्तरता, क्षतिपूर्ति व्यवस्था र स्थायी पुनस्र्थापनाका लागि स्पष्ट समयसीमा तोक्नुपर्ने बताए।

उनले सरकारसँग पाँच बुँदे मागसमेत राख्दै सम्पूर्ण प्रक्रियाको जिम्मेवारी स्पष्ट गर्न, स्थायी समाधान नभएसम्म मानवीय सुविधा उपलब्ध गराउन, बालबालिकाको शिक्षा सुनिश्चित गर्न, क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिन र वास्तविक भूमिहीनको पहिचान गरी लालपुर्जा वितरण गर्न माग गरे।

उनले सरकारले सात दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गर्नुपर्ने, संसदीय समितिले नियमित अनुगमन गर्नुपर्ने र प्रत्येक १५ दिनमा प्रगति विवरण सार्वजनिक गर्नुपर्ने माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank